BIZMANDU
www.bizmandu.com

‘इप्पान डेभ्लपर्स मिट २०२५’ सम्पन्न, ऊर्जा विकासमा सरकार र निजी क्षेत्रबीच सहकार्यमा जोड

२०८२ जेठ १३

‘इप्पान डेभ्लपर्स मिट २०२५’ सम्पन्न, ऊर्जा विकासमा सरकार र निजी क्षेत्रबीच सहकार्यमा जोड
‘इप्पान डेभ्लपर्स मिट २०२५’ सम्पन्न, ऊर्जा विकासमा सरकार र निजी क्षेत्रबीच सहकार्यमा जोड


काठमाण्डौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को आयोजनामा इप्पान डेभ्लपर्स मिट सम्पन्न भएको छ। एमए डब्लू समूहको सहयोगमा आयोजित मिटमा सरकारी निकायसँगै निजी क्षेत्रका प्रतिनिधिहरुको पनि उपस्थिति थियो।

Tata
GBIME

ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री दीपक खड्का, ऊर्जा सचिव शुरेस आचार्य, विद्युत विकास विभागका महानिर्देशक नवीन सिंह र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको उपस्थितीमा भएको मिटमा निजी क्षेत्रका जलविद्युत प्रर्वद्धकहरुले खुलेर प्रश्न समेत राखेका थिए ।

कार्यक्रममा निजी क्षेत्रका प्रवर्धकहरुले सरकारले अघि सारेको २८ हजार ५०० मेगावाटको ऊर्जा विकास मार्गचित्र कार्यान्वयनका लागि छुट्टै ऐन र शक्तिशाली आयोग बनाउन, विद्युत व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रलाई सहभागी गराउन तथा प्रसारण लाइनको ह्वीलिङ चार्ज तोक्न माग गरेका थिए।

साथै, उनीहरुले विद्युत खरिद सम्झौता (पीपीए) बिना सर्त खुला गर्न, प्रसारण लाइनको अभावमा बिजुली खेर गएका आयोजनाहरुमा सहजीकरण गर्न, विद्युत प्राधिकरणको कन्टीजेन्सीको कारण समस्या परेका आयोजनाहरुलाई यसबाट हटाएर राहत दिन, विविध कारणले आयोजनाको अन्तिम व्यापार मिति (आरसीओडी) र अनुमतिपत्रको म्याद थप गर्न, विद्युत प्राधिकरणको एकाधिकार अन्त्य गर्न, सेवा प्रवाहलाई सहज बनाउन ऊर्जा क्षेत्रका निकायमा अनलाइनको व्यवस्था गर्न, बाह्य कारणले निर्माण भएका आयोजनाहरुलाई राहत दिन पनि माग गरेका थिए।

कार्यक्रममा सरकारी निकायहरुको तर्फबाट बोल्नेहरुले भने सरकार र निजी क्षेत्रको सहकार्यमार्फत देशमा आर्थिक समृद्धि हासिल गर्न सक्ने बताउँदै जलविद्युत प्रवद्र्धकहरुले उठाएका समस्या समाधान गर्न तथा आगामी १० वर्ष थप २५ हजार मेगावाट उत्पादनको लक्ष्य पूरा गर्न निजी क्षेत्र सक्रिय हुनुपर्ने धारणा राखेका थिए।

उनीहरुले निजी क्षेत्रले अघि सारेका समस्याहरुलाई सरकारले गम्भीरताका साथ लिएको बताउँदै समस्याहरुको समाधान गरी लक्ष्य प्राप्तिका लागि उचित वातावरण निर्माण गर्ने बताएका थिए।