वीरगंज (पर्सा)। सिर्सियास्थित वीरगंज सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत वर्षका तुलनामा राजस्व संकलन बढाएको छ। चालु आर्थिक वर्षको १० महिनामा उक्त भन्सारले ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
कार्यालयले उक्त अवधिमा वार्षिक लक्ष्यको ६८.५८ प्रतिशत राजस्व संकलन गरेको छ। कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा १ अर्ब १४ करोड २८ लाख रुपैयाँ बढी राजस्व संकलन भएको जानकारी दिए।
‘गत आवको १० महिनामा ४० अर्ब ३ करोड ८३ लाख ३८ हजार राजस्व संकलन भएको थियो’, उनले भने, ‘गत आवको तुलनामा चालु आवको सोही अवधिमा समग्रमा २.८५ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको छ।’
कार्यालयले साउनमा ३ अर्ब ७५ करोड, भदौमा ४ अर्ब ६४ करोड, असोजमा ४ अर्ब ३६ करोड, कात्तिकमा ३ अर्ब ७९ करोड, मंसिरमा ३ अर्ब २२ करोड, पुसमा ३ अर्ब ५६ करोड, माघमा ४ अर्ब २९ करोड, फागुनमा ४ अर्ब ६८ करोड, चैतमा ४ अर्ब ५० करोड र वैशाखमा ४ अर्ब ३४ करोड ५२ लाख ८९ हजार राजस्व संकलन गरेको छ।
भन्सार विभागले उक्त कार्यालयलाई वर्षभरिमा ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। रासस