BIZMANDU
www.bizmandu.com

ऋण लगानी हुनुपर्ने रकम राष्ट्र बैंकमा ‘पार्क’, बजारमा माग नभएपछि ४० दिनमै थपियो दुई खर्ब

२०८२ जेठ १२

ऋण लगानी हुनुपर्ने रकम राष्ट्र बैंकमा ‘पार्क’, बजारमा माग नभएपछि ४० दिनमै थपियो दुई खर्ब
ऋण लगानी हुनुपर्ने रकम राष्ट्र बैंकमा ‘पार्क’, बजारमा माग नभएपछि ४० दिनमै थपियो दुई खर्ब

काठमाडौं। रोजगारी सिर्जना र उत्पादन बढाउनका लागि ऋण लगानी हुनुपर्ने बैंकिङ प्रणालीको पैसा बजारमा माग नभएपछि राष्ट्र बैैंकमा थन्किन पुगेको छ। बजारमा ऋणको माग नभएपछि ४० दिनमै बैंकिङ प्रणालीको करिब २ खर्ब रुपैयाँ राष्ट्र बैंकमा थन्किन पुगेको हो।

Tata
GBIME

ऋण लगानी बढाउन नसकेपछि बैंक तथा वित्तीय संस्थाहरुले लगानीयोग्य रकम (तरलता) राष्ट्र बैंकमा ‘पार्क’ गर्ने क्रम बढाएका छन्। आर्थिक गतिविधि सुस्त भइ कर्जाको माग बढ्न नसक्दा बैंकहरुले तरलता राष्ट्र बैंकमा थुपार्ने क्रम बढाएका हुन्।

बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकमा ‘पार्क’ गरेको तरलता गत चैतमा साढे २ खर्ब रुपैयाँमा झरेकामा अहिले ३ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ।

आयात र सेयरमा बाहेक अन्य क्षेत्रमा कर्जाको माग नरहेका कारण बाध्य भएर सस्तो दरमा राष्ट्र बैंकमा पैसा राख्नुपरेको बैंकरहरु बताउँछन्।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) देवेन्द्ररमण खनालले कर्जाको माग अपेक्षाजनक नरहेको बाध्य भएर राष्ट्र बैंकमा पैसा राखेको बताए। उनका अनुसार कर्जा एक बैंकबाट अर्को बैंकमा सार्ने प्रवृत्ति बढेपनि नयाँ कर्जाको माग बण्न सकेको छैन।

‘रेमिटेन्सको वृद्धिदर राम्रो छ। तर, कर्जाको माग छैन। आयात बढे पनि अन्य क्षेत्रमा कर्जाको माग नहुँदा तरलता थपिंदै गएको हो,’ उनले भने, ‘नयाँ ऋण लगानी नबढेपछि हामीले सस्तो ब्याजदरमा राष्ट्र बैंकमा राख्नुको विकल्प छैन।’

पछिल्लो ४० दिनमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४ अर्बले खुम्चिएको छ। चैत मसान्तसम्म कूल ४९ खर्ब १५ अर्ब कर्जा प्रवाह भएकामा जेठ ११ गतेसम्म आइपुग्दा ४९ खर्ब ११ अर्ब रुपैयाँमा खुम्चिएको छ।

यो अवधिमा वाणिज्य बैंकहरुमा निक्षेप संकलन भने ४५ अर्ब थपिएको छ। लगानी खुम्चिने र तरलता थुप्रिने स्थितिका कारण बैंकहरुले सस्तो ब्याजदरमा राष्ट्र बैंकमा पैसा ‘पार्क’ गर्ने क्रम बढाएका हुन्।

कर्जा प्रवाह सुस्त भएकाले प्रणालीमा थुप्रिएको पैसा व्यवस्थापन गर्न तरलता खिच्ने क्रम बढाएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्।

‘गत कात्तिक मंसिरमा ४ खर्ब हाराहारीमा खिचेको तरलता चैतमा ‍२ खर्ब हाराहारीमा झरेको थियो। त्यो बेलामा बैंकहरुले कर्जा बढाउन थालेपछि तरलता खिच्ने क्रम कम गरेका थियौं,’ राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले भने, ‘अहिले पुन: बैंकहरुको कर्जा लगानी खुम्चिन थालेकाले तरलता खिच्ने क्रम बढाएका हौं। कर्जा लगानी सुस्त हुँदा व्यवस्थापन गर्न हामीलाई सकसपूर्ण भइरहेको छ।’

बैंकहरुले हाल निक्षेप संकलन उपकरणमार्फत २ खर्ब र स्थायी निक्षेप सुविधामार्फत १ खर्ब ८० अर्ब रुपैयाँ राष्ट्र बैंकमा राखेका छन्। यसमा बैंकहरुले ३ प्रतिशत ब्याज पाउँछन्।

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला बैंकिङ प्रणालीमा भएको पुँजी कर्जाका रुपमा लगानी हुनुपर्नेमा राष्ट्र बैंकमा थुप्रिनु अर्थतन्त्रका लागि राम्रो संकेत नभएको बताउँछन्।

‘चालु आर्थिक वर्ष राष्ट्र बैंकले जुन लक्ष्य लिएको थियो, त्यस अनुसार ऋण लगानी हुन सकेन। १० महिनामा साढे ३ खर्ब रुपैयाँ हाराहारी मात्र कर्जा प्रवाह भएको देखिन्छ। जसले गर्दा बैंकहरुले बाध्य भएर राष्ट्र बैंकमा राख्नु परिरहेको छ,’ उनले भने, ‘रोजगारी सिर्जना र उत्पादन वृद्धि हुने क्षेत्रमा लगानी हुनुपर्ने राष्ट्र बैंकमा थुप्रिन इकोनोमीका लागि राम्रो संकेत होइन।’