काठमाडौं । हिंसात्मक प्रदर्शन गर्ने राजावादी समूहका कमान्डर दुर्गा प्रसाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा नचल्ने भएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले अनुसन्धान गर्दा सम्पत्ति शुद्धीकरणमा कुनै पनि प्रमाण नभेटेपछि मुद्दा नचलाउने निर्णय गरेको हो। सीइआबीले प्रसाईंविरुद्ध अदालतबाट पक्राउ पुर्जी नै लिएर सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरेको थियो।
प्रसाईंका सबै कारोबार हेर्दा शंकास्पद भेटिएन तर बैंकिङ कसुरमा भने मुद्दा चल्ने भएको छ। प्रसाईं र निजको परिवार सम्बद्ध फर्म र कम्पनीहरुले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा रकमहरु जुन प्रयोजनको लागि लिइएको त्यो सोही प्रयोजनमा प्रयोग नगरी अन्यत्र उपयोग गरेको अनुसन्धानमा खुलेको छ।
प्रसाईं मेडिकल व्यवसायी समेत हुन्। उनको झापामा बीएण्डसी अस्पताल संचालनमा छ।
‘हामीले बैंकिङ कसुरमा मात्र मुद्दा चलाउने गरि रायपत्र सरकारी वकिल कार्यालयमा बुझाएका छौं। हाललाई सम्पत्ति शुद्धीकरण छैन,’ ब्युरोका एसपी युवराज खड्काले भने।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले विभिन्न बैंक वित्तीय संस्थामा रहेको कर्जा चुक्ता गर्न अर्को कर्जाको रकम उपयोग गरेको समेत देखिएको हो। त्यस्तै, उनी आबद्ध भएको कम्पनीहरुले बैंक वित्तीय संस्थाबाट कर्जा लिँदा उल्लेख गरेको प्रयोजनभन्दा अन्यत्र कर्जाको रकम उपयोग गरि कर्जा दुरुपयोग गरेको पाइएको छ।
विगत चार वर्षदेखि बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रालिलाई प्रवाह भएको कर्जाको भुक्तानी गर्ने भाखा नाघि कर्जाको बक्यौता साँवा ब्याज भुक्तानी नियमित नभएको पनि खुलेको हो।
प्रसाईले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ८ मा रहेको कर्जाको दुरुपयोग गर्न नहुने भन्ने व्यवस्थाको उल्लंघन गरेको, परिवार र निजहरु सम्बद्ध फर्म र कम्पनीका विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खाताहरुमा ‘राउन्ड ट्रिपिङ’, ‘रिलेटेड पार्टी ट्रान्जेक्सन’ लगायतका शंकास्पद कारोबारहरु भएको पनि देखिएको छ।
प्रसाईं विवादस्पद मेडिकल व्यवसायी समेत हुन्। करौडौं ऋण लिएर उनले व्यवसाय संचालन गरेका छन्। बैंकको ऋण र ब्याज समेत समयमा नबुझाएपछि उनी बेलाबखतमा विवादमा आउने गरेका छन्। ऋण लिएर व्यवसाय गरेका उनले बैंकको ऋण तिर्न नपर्ने भन्दै मानिसहरुलाई उक्साएर प्रदर्शन पनि गरेका थिए।
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शन उग्र बनाउन उनको प्रमुख नेतृत्व रहेको भन्दै पक्राउ गरिएका उनीमाथि हाल अनुसन्धान भइरहेको छ। उनीविरुद्ध आइतबार जिल्ला अदालत काठमाडौंमा विभिन्न ५ वटा कसुरमा मुद्दा लगिएको छ।