काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) नेपाल प्रिमियर लिग (एनपीएल)को तयारीमा जुटेको छ। यसका लागि क्यानले फ्रेन्चाइजका मालिकहरुसँग संवादलाई तीब्र बनाएको छ।
क्यानले पहिलो संस्करणलाई ‘रोलरकोस्टर’ भन्दै दोस्रो संस्करण अझ भव्य बनाउने दाबी गरेको छ। पहिलो संस्करणमै एनपीएलको ब्राण्ड भ्यालु १०० करोड भन्दा माथि पुगेको चर्चा क्रिकेट वृत्तमा थियो।
अघिल्लो संस्करणमा शिखर धवन, मार्टिन गप्टिल, शोहिल तन्वीर, जिम्मी निशम, रवि बोपाराजस्ता चर्चित खेलाडी नेपाल आए। एनपीएलमा यो भन्दा धेरै टेस्ट टोलीका खेलाडी त्यसबेला आउन नसक्नुको कारण थियो, नेपाल टी-२० लिगले छाडेको दाग।
२०७९ सालमा नेपाल टी-२० लिग आयोजना भएको थियो। नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय कम्पनी सेभेनथ्री स्पोर्ट्सलाई ल्याएर यो प्रतियोगिता आयोजना गरेको थियो। यसमा स्पट फिक्सिङलगायतका विवाद त आए नै साझेदार कम्पनी पनि बीचबाटै भागेपछि क्यान अफ्ठेरोमा परेको थियो।
यसपछि क्यानले यो लिगलाई रद्द गरेर एनपीएल सुरु गर्यो। यसको पहिलो संस्करणमा भने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टेस्ट राष्ट्रबाट सक्रिय खेलिरहेका खेलाडी अनुबन्धित गर्न सीमित संख्या तोक्यो। तर, यी राष्ट्रमा केही वर्षयता नखेलेका खेलाडीमा भने यो रोक थिएन्।
क्यान गभर्निङ काउन्सिलका सदस्य सुदिप शर्मा पहिलो संस्करणको सफलताले आईसीसी सकारात्मक भएको बताए। यसका कारण विदेशी खेलाडी ल्याउन यसपटक खुला हुने उनको मत छ।
‘दोस्रो संस्करणबाट धेरै कुरा फरक हुन्छ। स्टेडियम बनिसकेपछि फ्यान एक्सपिरियन्स स्टेडियम भित्रै हेर्ने त्यो नै फरक हुने भइहाल्यो,’ उनले भने, ‘अनि खेलाडी पनि हामीले पहिलो संस्करणमा देखेका थियौं, त्यो भन्दा अझ राम्रो अझ माथिल्लो लेभलका खेलाडी सायद देख्न पाउछौँ।
त्यस्तै, क्यानका सचिव पारस खड्का पनि दोस्रो संस्करणलाई थप भव्य बनाउन लागेको बताउँछन्।
‘दोस्रो संस्करणको घोषणा हामी चाँडै गर्ने नै छौं। पहिलो वर्षको रिक्यापहरु लियौँ। फिडब्याकहरु लियौँ। अर्को संस्करणको लागि ६ महिना अघिबाटै तयारी गरेर अझ भव्य प्रतियोगिता गर्न हामी जुटेका छौँ,’ खड्काले भने।
पहिलो संस्करणको भुक्तानी विवाद के हो?
पहिलो संस्करणको एनपीएल सकिएको आधा वर्ष भइसकेको छ। तर, क्यानले भुक्तानी पूरा गरिनसकेको चर्चा क्रिकेट वृत्तमा छ। पारस खड्का भने यो विषय आन्तरिक रुपमा मिलिसकेको दाबी गर्छन्।
‘पहिलो संस्करणको ‘इन्टरल सेटलमेन्ट’ सबै भइसकेको छ। हाम्रो संघ र फ्रेन्चाइजबीचको दश वर्षको सम्झौता छ,’ उनले भने, ‘क्यानले विनिङ अमाउन्ट दिएन भन्ने छ। जुन फ्रेन्चाइजले हाम्रो फूल पेमेन्ट गरेको छ, हामीले उहाँहरुको भुक्तानी गरिसकेका छौँ। यो कुराको सहमति सबै टोलीसँग भइसकेको छ।’
खड्काले पैसा लिएर गरेर पारदर्शिता कायम गरेर दिनुपर्ने पैसा त दिन केही समस्या नभएको बताए। यसमा क्यानको बदनामीमा केही व्यक्तिहरु लागेको उनी बताउँछन्।
‘बाहिरचाहिँ क्रिकेटमा अस्थिरता ल्याउनु पर्यो भनेर फ्रेन्चाइजले पैसै पाएका छैनन्, खेलाडीले पैसा पाएका छैनन् भनेर भन्ने खालको भ्रमहरु फैलाइएका छन्,’ खड्काले भने, ‘क्रिकेटको ८ वटा फ्रेन्चाइज र क्यान हामी एक ठाउँमा छौँ। हामीले हाम्रो नीति अनुसार सबै कम्प्लायन्स प्रोसेस पुरा गरिसकेका छौँ। दोस्रो संस्करण सुरु गर्न पहिलो संस्करणलाई त क्लियर गर्नै पर्ने हुन्छ।’