BIZMANDU
www.bizmandu.com

सोल्टी सञ्जाल फैलाउँदै, तीन अर्ब लगानीमा ‘द सोल्टी पोखरा’ सञ्चालनमा ल्याउने

२०८२ जेठ १२

सोल्टी सञ्जाल फैलाउँदै, तीन अर्ब लगानीमा ‘द सोल्टी पोखरा’ सञ्चालनमा ल्याउने
सोल्टी सञ्जाल फैलाउँदै, तीन अर्ब लगानीमा ‘द सोल्टी पोखरा’ सञ्चालनमा ल्याउने


काठमाडौं। सोल्टी होटल सञ्जाल विस्तारमा लागेको छ। सोल्टीले पोखरामा ३ अर्ब रुपैयाँ लगानीमा दोस्रो प्रिमियम होटल ‘द सोल्टी पोखरा’ सञ्चालनमा ल्याउने भएको छ।

Tata
GBIME

काठमाडौंको सोल्टी सरहको सेवा दिने गरी पोखरामा होटल बनाउने योजना अगाडि बढाइसकेको सोल्टीका उपाध्यक्ष सुदर्शन चापागाइँले जानकारी दिए।

‘हामीले काठमाडौं र नेपालगञ्जपछि पोखरामा आफ्नै प्रोपर्टीमा सेवा दिने व्यावसायिक योजना अगाडि बढाएका छौं। लक्जरियस प्रोडक्टसहितको प्रोपर्टी सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाइसकेका छौं,’ उपाध्यक्ष चापागाइँले भने।

सोल्टीले पोखराको लेकसाइडनजिकै २२ रोपनी क्षेत्रफलमा होटल बनाउने भएको हो। होटल १३० कोठा क्षमताको हुनेछ।

सुदर्शन चापागाइँ

‘पामेमा हाम्रो आफ्नै जग्गा थियो। लेकसाइड क्षेत्रमा सोल्टी सरहको होटल चल्ने देखेपछि हामीले आवश्यक प्रक्रिया अगाडि बढाएका हौं,’ चापागाइँले भने।

होटलमा स्विमिङ पुल, कन्फ्रेन्स हल, फिटनेस क्लब, रेस्टुरेन्ट लगायत सबै सेवा सुविधा उपलब्ध हुनेछन्। चापागाइँका अनुसार ‘द सोल्टी पोखरा’ तीन वर्षभित्र सञ्चालनमा ल्याउने तयारी छ।

‘हामी अहिले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को चरणमा छौं। ईआईए पूरा भएलगत्तै निर्माण कार्य सुरु गर्छौं,’ उनले भने, ‘हाम्रो टार्गेट भनेको ३० महिनाभित्र होटल निर्माण गरिसक्ने हो।’

पोखरामा अहिले बाराही समूहको सराङकोट माउन्टेन, व्यवसायी पुष्प अधिकारीको रुपाकोट रिसोर्ट, स्विस चेनको व्यवस्थापनमा सरोवर, माउन्ट ग्लोरी लगायत ठूला होटल सञ्चालनमा छन्। बाराही समूहले सेदी होटल निर्माण गरिरहेको छ।

सोल्टीले हाल आफ्नै प्रोपोर्टीमा सेवा दिनुका साथै मुलुकका विभिन्न स्थानमा सञ्चालित होटलको व्यवस्थापन पनि हेर्दै आएको छ।

लेकसाइडमा तीन तारे होटलको व्यवस्थापन

सोल्टीले लेकसाइडस्थित एउटा तीन तारे होटलको व्यवस्थापन सम्हाल्ने भएको छ। होटललाई ‘स्ट्रिम बाइ सोल्टी’ नाममा सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढाएको चापागाइँले जानकारी दिए।

‘हामीले लेकसाइडमा एउटा तीन तारे स्तरको प्रोपर्टीको पनि व्यवस्थापन हेर्न लागेका छौं। त्यो होटल आउँदो अक्टोबरबाट हाम्रो व्यवस्थापनमा सञ्चालन हुनेछ,’ उनले भने, ‘अहिले त्यो होटलमा हाम्रो अवधारणा अनुसार डिजाइन फेर्ने लगायत काम भइरहेको छ।’

उनका अनुसार होटल ६५ कोठा क्षमताको हो।  

६ वर्षअघिसम्म आफ्नो व्यवस्थापन भारतको ओभरोय र बेलायतको आईएचजीले हेर्दै आएकामा सोल्टीले अहिले स्वदेश र विदेशका होटलको व्यवस्थापन गर्ने क्षमता विकास गरेको छ।

सोल्टीले भगिनी कम्पनी स्ट्रिम पिक इन्टरनेसनलमार्फत जर्मनीको फ्र्यांकफर्टमा दुईवटा होटलको व्यवस्थापन सम्हालिरहेको छ।  

अन्तर्राष्ट्रिय बजारमा आफ्नो ब्राण्ड विस्तार गरिसकेको सोल्टीले हाल मुलुकभित्रका १२ वटा होटलको व्यवस्थापनका लागि सम्झौता गरिसकेको छ। तीमध्ये आठवटा होटल सोल्टीको व्यवस्थापनमा सञ्चालनमा छन्।

अबको पाँच वर्षमा देशभित्र २० र विदेशमा ३० वटा होटलको व्यवस्थापन गर्ने कम्पनीको लक्ष्य छ।