काठमाडौं। नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले डा. गुणाकर भट्टलाई गभर्नरको कार्यालयमा तानेका छन्। पौडेलले १२ गतेबाटै लागू हुने गरी सरुवा गरेका हुन्।
भट्टलाई सत्ता साझेदार नेपाली काग्रेसले सुरुमा गभर्नर प्रस्ताव गरेको थयो। प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुमा भट्टको नाममा ‘हुन्छ’ भनेर पछि मानेका थिएनन्। त्यसपछि गभर्नर सिफारिस समिति सदस्यबाट राजीनामा गराएर पौडेललाई गभर्नर नियुक्त गरिएको थियो।
यद्यपि, गभर्नरमा नाम प्रस्ताव भएपछि भट्टले राजीनामा गरेका थिए। त्यो राजीनामा कामु गभर्नर डा. निलम ढुङ्गानाले अस्वीकार गरिन्। अहिले भट्टको सरुवा आफ्नो सचिवालयमा गरेपछि पौडेलले पनि अस्वीकृत गरेको प्रस्ट भएको छ।
गभर्नर कार्यालयमा डा. प्रकाश कुमार श्रेष्ठ थिए। उनी केही समयदेखि राष्ट्रिय योजना आयोगमा सदस्य छन्। उनी शनिबारबाट राष्ट्र बैंकबाट अवकाश समेत भइसकेका छन्।
आर्थिक अनुसन्धान विभागमा डा. रामशरण खरेललाई लगिएको छ। अघिल्लो महिना मात्र उनी निर्देशकबाट बढुवा भएर कार्यकारी निर्देशक भएका थिए। मौद्रिक अर्थशास्त्री खरेल मानव संशासन विभागमा थिए। मौद्रिक नीतिको समीक्षा पूर्व उनलाई आर्थिक अनुसन्धान विभाग लगिएको हो।
मानव संशाधन विभागमा विश्रुत थापालाई लगिएको छ। उनी बैंकिङ विभागमा थिए। संभवत बैंकिङमा डा. डिल्लीराम पोखरेललाई लगिने छ। प्रकाशकुमार श्रेष्ठ अवकाश भएपछि उनी कार्यकारी निर्देशकमा बढुवा हुँदैछन्।