काठमाडौं। नेपाल राष्ट्र बैंकको गभर्नरकारुपमा डा. युवराज खतिवडाले आफ्नो पहिलो मौद्रिक नीति २०६७ साउनमा ल्याए।
२०६६ चैतमा गभर्नर नियुक्त भएका खतिवडाले आफ्नो पहिलो मौद्रिक नीतिमा सेयर बजारमा तत्काल प्रभाव पर्ने गरी सेयर धितो कर्जामा लचिलो नीति लिए। उनले बजार बढ्ने गरी मौद्रिक नीति तर्जुमा मात्रै गरेनन्, बैंक तथा वित्तीय संस्थाहरुलाई व्यवसायमा बढावा पुग्ने गरी सुधारको सन्देश दिन खोजे।
खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुलाई म्युचुअल फण्डको कारोबारमा प्रोत्साहन गर्ने नीति लिए।
२०७१ चैतमा राष्ट्र बैंकको गभर्नर नियुक्ति भएपछि डा. चिरञ्जीवी नेपालले २०७२ साउन पहिलो साता वित्तीय क्षेत्रमा तरंग ल्याउने गरी कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गरे।
उनले बैंकहरुको पुँजी वृद्धि, मर्जर तथा प्राप्तिको नीति लिएर बैंकको व्यवसाय मात्रै नभएर सेयर बजारमै प्रभाव पर्ने गरी मौद्रिक नीतिको कार्यान्वयन सुरु गरे।
२०७६ चैतमा गभर्नर नियुक्त भएका महाप्रसाद अधिकारीले पनि खुकुलो मौद्रिक नीतिबाट कार्यकाल सुरु गरे। अधिकारीले कोभिडको शिथिलतालाई चिर्ने गरी वितरणमुखी नीतिगत व्यवस्था गरेर बजारमा उच्च तरलता प्रवाहका लागि सहज बनाइदिए।
उनले लिएको खुकुलो नीतिकै कारण कोभिडको मन्दीमा समेत घरजग्गा र सेयर बजारको उकालो ग्राफमा ब्रेक लागेन।
सरकारले ल्याएका पुनर्कर्जा, सहुलियतपूर्ण कर्जा लगायत सुविधाले त्यसपछिको दुई वर्ष बजार गुल्जार भएर ‘पिक’मा पुग्यो।
२०७८ भदौमा आइपुग्दा सेयर बजारले ३१९९ अंकको कीर्तिमान बनायो। सेयर बजारमा बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी खुकुलो नीतिकै कारण उच्चरुपमा बढ्यो।
डा. खतिवडा र नेपाल जस्तै पहिलो मौद्रिक नीति खुकुलो ल्याएका अधिकारी पाँच वर्षे कार्यकाल सकेर गत चैत अन्तिम साता बाहिरिए। कार्यकालको पहिलो र दोस्रो मौद्रिक नीतिमा सेयर बजारप्रति नरम देखिएका अधिकारी त्यसपछि कसिलो नीति लिएका कारण आलोचित बने।
राष्ट्र बैंकको नेतृत्वमा अहिले अर्थशास्त्री डा. विश्वनाथ पौडेल आइपुगेका छन्। सरकारले जेठ ६ गते नियुक्त गरेका पौडेलले भोलिपल्ट जिम्मेवारी सम्हाले।
उनले पनि बजारका लागि लचिलो नीति लिने संकेत दिइसकेका छन्।
नयाँ गभर्नरले तत्काल बजारमा प्रभाव देखिने गरी कार्यकालको पहिलो मौद्रिक नीति ल्याउने गरेको दृष्टान्तका आधारमा नयाँ गभर्नर पौडेलले पनि ‘देखाउनकै लागि’ भए पनि बजारप्रति नरम नीति लिने बुझाइ लगानीकर्तामा छ।
स्टक ब्रोकर एसोसियसन अफ नेपालका पूर्वअध्यक्ष धर्मराज सापकाेटा गभर्नरको आगमन र बिदाईमा लगानीकर्तामा उत्साह देखिने गरेकाले त्यसको प्रभाव मौद्रिक नीतिमा पर्ने बताउँछन्।
‘सबै आधार तयार भएर पनि बजारले सुरूदेखि नै कन्फिडेन्स लिन सकेको थिएन। नियामक निकायको नीति र राजनीतिक घटनाक्रमले बजारमा लामो समय उतारचढाव देखियो। यसअघिका गभर्नरप्रति बजारको बुझाइ ठिक भएन,’ उनले भने, ‘नयाँ गभर्नरको आगमनपछि बजारमा सकारात्मक उत्साह देखिन्छ कि भन्ने छ। गभर्नरले नरम नीति लिने लगानीकर्ताको बुझाइ छ।’
साढे तीन वर्षअघि अर्थतन्त्रको बाह्य क्षेत्रमा दबाब सुरु भएपछि राष्ट्र बैंकले कर्जा प्रवाहमा कडाइ गरेको थियो। बजारका लागि नीतिगत अंकुश लगाएको राष्ट्र बैंकले नीतिगत कडाइ खुकुलो बनाए पनि कर्जा प्रवाहको सीमा कायमै छ।
राष्ट्र बैंकले व्यक्तिगत सेयर धितो कर्जामा २० करोड रुपैयाँको क्याप लगाएको छ। कर्जाको जोखिमभार र बैंकले खरिद बिक्री गर्न पाउने सेयरको सीमामा समेत पुनरवलोकन हुनुपर्ने लबिङ लगानीकर्ताले गर्दै आएका छन्।
अधिकारीको बहिर्गमन नजिकिंदा गत फागुनमा बजारमा हरियाली छाएको थियो। फागुन लागेपछि २०० अंकले बढेर २८९० अंकमा पुगेको नेप्से अहिले २६८८ विन्दुमा छ। सेयर बजारका लागि अनुकूल मानिने सूचकहरु ब्याजदर र तरलता सहज अवस्थामा छन्।
गत असारमा सत्ता समीकरण फेरिएपछि नेप्से ३००० विन्दुमा पुगेको थियो। डेढ महिनामा नेप्से ४६ प्रतिशतले उकालो लाग्दा साउन मसान्तमा २९ अर्ब ९५ करोड रुपैयाँको कीर्तिमान कारोबार भएको थियो।
बजारमा हल्ला र राजनीतिक उचारचढावले प्रभाव पार्छ। ‘बजारमा विभिन्न इन्फ्लुयन्सले ड्राइभ गरिरहेको देखिन्छ। यसले बजारलाई ट्रिगर गरिरहेको छ। यो कुरा इन्भेष्टरको कन्फिडेन्ससँग जोडिएको छ,’ एनएमबि क्यापिटलका सीइओ दिपेशकुमार वैद्यले भने, ‘त्यसैले नयाँ गभर्नरको आगमनले कस्तो असर पार्छ भन्ने हेर्न उहाँले लिने नीति कुर्नुपर्छ।’
लामो अवधिदेखि शिथिल रहेको अर्थतन्त्रलाई बजेटले कसरी सम्बोधन गर्छ भन्नेमा पनि लगानीकर्ताको चासो र कन्फिडेन्स जोडिएको विश्लेषकहरुको भनाइ छ।
‘अर्थतन्त्र दुई/तीन वर्षदेखि निरन्तर ओरालो बाटोमा छ। त्यही भएर लगानीकर्ताले नयाँ लगानी गर्ने आँट गरेका छैनन्। यो कुरा बैंकहरुको ऋण लगानी र असुलीले नै देखाउँछ,’ एक विश्लेषकले भने, ‘त्यसैले आगामी बजेटले यसलाई कसरी लिएर जान्छ भन्नेमा लगानीकर्ताको ध्यान छ। उनीहरुको कन्फिडेन्ससँग जोडिएको विषय भएकाले सेयर बजारमा पनि त्यसको प्रभाव देखिनेछ।’