BIZMANDU
www.bizmandu.com

चाडपर्वको तयारीमा कपडा व्यवसायी, नयाँ सामान अर्डर गर्न चीन जान थाले

२०८२ जेठ १०

चाडपर्वको तयारीमा कपडा व्यवसायी, नयाँ सामान अर्डर गर्न चीन जान थाले
चाडपर्वको तयारीमा कपडा व्यवसायी, नयाँ सामान अर्डर गर्न चीन जान थाले


काठमाडौं। गत वर्ष चाडपर्व ढिला सुरु भएकाले असार/साउनको अन्तिमतिर मात्रै व्यवसायीहरू सामान लिन चीन गएका थिए। यो वर्ष असोजको पहिलो सातामै दसैं सुरु हुने भएकाले व्यवसायीहरूले अहिलेदेखि नै योजनामा छन्।

Tata
GBIME

यस पटक व्यवसायीहरूमा सामान अर्डरका लागि चीन आउजाउको क्रम सुरु भइसकेको छ। अर्डर गरेको सामानका गुणस्तर र परिमाणअनुसार आइपुग्न एक महिना जति समय लाग्ने भएकाले पनि हतारो सुरु भएको हो। चिनियाँ बजार र उद्योग पुगेर व्यवसायले फेन्सी सामान ल्याउने गरेका छन्।

स्वदेशी गार्मेन्ट उद्योगीदेखि चिनियाँ सामान आयात गर्ने व्यवसायीहरूमा केहीको चीन आउजाउ सुरु भइसकेको छ, धेरै जना जाने तर्खरमा छन्। चीनको ग्वाङझाउमा धेरै नेपाली व्यवसायी पुगेर थोकका पसल चहारिरहेका छन्। लुगा, जुत्ताचप्पल लगायतका फेन्सी सामान अर्डर गरिरहेका छन्।

वर्षायाम सुरु भएपछि बाटो बन्द हुँदा समयमा सामान आइपुग्दैन। दसैं सुरु हुनुभन्दा करिब एक महिनाअघि थोक व्यवसायीले सामान आयात गरी बजारमा पठाउने गर्छन्।

चाडपर्वमा सामान्य समयभन्दा धेरै कारोबार हुने भएकोले थोकदेखि रिटेलसम्मका व्यवसायीले केही अघिदेखि नै तयारी गर्छन्। चाडपर्वमा बजारमा नयाँ डिजाइन र ट्रेण्ड अनुसारका सामान खोजी हुने भएकाले पनि चीनबाट व्यवसायीले आयात गर्दै आएका छन्।

चीनमा सस्तो भाउमा पाउने भएपछि कतिपय व्यवसायीले डिजाइन दिएर सामान बनाउन लगाउने गर्छन्। केहीले भने रेडिमेड नै आयात गर्छन्।

चाडपर्वको समयमा व्यवसायीपिच्छे करिब १० लाखदेखि १ करोड रुपैयाँभन्दा बढीको सामान आयात गर्ने गरेका थिए।

आरबी कम्प्लेक्समा रहेको मेट्रो कलेक्सनका संचालक शम्भु भण्डारीले दसैंका लागि सामान अर्डर गर्न आगामी साता चाइना जाने तयारी गरेको बताए।

‘केही समययता बजारमा कपडाको व्यापार घट्दै गएको छ। चाडपर्वको समयमा माग बढ्ने भएकोले नयाँ सामान हाल्नुपर्ने  हुन्छ,’ उनले भने, ‘थोक बजारमा नियमित ग्राहक हुने भएकाले सामान आयात गर्नैपर्छ। बिक्री कस्तो हुन्छ भनेर सामान नहाल्ने कुरा आउदैन्।’

त्यस्तै, फाइभ एम भिन्टेज डेनिमका संचालक विकास धिमाल दसैंलक्षित प्लानिङ बनिरहेको बताउछन्। अब विस्तारै तयारी हुने उनले बताए।

‘हामीले एक महिनाको समय छुट्टाउने भएकोले असार अन्तिमदेखि साउनको दोस्रो सातासम्म सामान अर्डर गर्न सकिन्छ। अर्डर गरेको १५ देखि २० दिनमा सामान आइपुग्ने हुनाले हतार छैन,’ उनले भने, ‘यतिबेला आफै डिजाइन दिएर ब्राण्डका कपडा बनाउनेहरूमात्र चीन जान थालेका हुन्। रेडिमेड कपडा आयात गर्ने व्यवसायी अलि ढिला जान्छन्।’

यसपालिको चाडपर्वका लागि व्यवसायीहरू पहिलेभन्दा अन्योलमा परिरहेको व्यवसायी रामबाबु गजुरेल बताउँछन्। गर्मीको  कपडा बिक्री नभएको हुँदा दसैंलाई कति आयात गर्ने भन्ने अन्योल रहेको उनले बताए।

उनले भने, ‘पहिले सिजनअनुसारको माग र खपतलाई मध्यनजर गर्दै कपडाहरू आयात हुन्थे। पछिल्लो समय कपडाको खपत निकै कम छ भने आगामी बजेटमा तय हुने सामानको भन्सारको आधारमा चिनियाँ सामान आयात गर्ने हो। कपडाको मूल्यबारे अहिले नै भन्न सकिन्न।’

नेपाल स्थानीय तयारी पोसाक उत्पादक संघका अध्यक्ष किशोर नेपालले चाडपर्वलाई लक्षित गरेर गार्मेन्ट उद्योगी चीन जान थालिसकेको बताए।

‘गार्मेन्टमा चाडपर्व र जाडोका लागि कपडाहरू उत्पादन गर्ने बेला भएको छ,’ उनले भने, ‘यसका लागि कपडा बनाउन आवश्यक कच्चा पदार्थ उद्योगीले आफैँ गएर आयात गर्छन्।’

व्यवसायीको माग र बजारको माग अनुसार कपडाहरू उत्पादन गरी केही समयअघिनै बजारमा पठाउने गरेको उनले जानकारी दिए।

पछिल्लो समय व्यवसायीले स्वदेशमै उत्पादन भएका र आयात गरिएका तयारी कपडाहरू बिक्री गर्ने गरेका छन्। गार्मेन्ट उद्योगहरूले माग अनुसारको बजार भाउमा कपडा उत्पादन गरी बिक्री गर्दै आएका छन्।