काठमाडौं। कृषि प्रधान देशमा आलु, प्याज र लसुनको आयात अकासिएको छ। सरकारले कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गरेको गफ दिइरहँदा चालु आर्थिक वर्ष यी तीन कृषि उपजका लागि साढे १७ अर्ब रुपैयाँभन्दा धेरै विदेश पुगेको छ।
भन्सार विभागका अनुसार यो वर्ष १० महिनामा १७ अर्ब ५३ करोड रुपैयाँको आलु, प्याज र लसुन आयात गरिएको छ।
प्याजको आयात झण्डै सतप्रतिशत बढेको छ। चालु आर्थिक वर्ष १० महिनामा ८ करोड ५३ लाख ८४ हजार १३० केजी प्याज आयात भएको छ। यो प्याज ३ अर्ब ६२ करोड ८ हजार रुपैयाँको हो।
गत आर्थिक वर्ष सोही अवधिमा १ अर्ब ७५ करोड ९ हजार रुपैयाँको ४ करोड ७५ लाख ३० हजार केजी प्याज आयात भएको थियो।
भन्सार विभागको तथ्यांक अनुसार लसुनको आयात अकासिएको छ। १० महिनामा ६ अर्ब ५५ करोड ६३ लाख रुपैयाँको ५ करोड केजी लसुन आयात भएको छ। परिमाणका आधारमा यो आयात पोहोरको सोही अवधिको तुलनामा चार गुणा हो।
गत वर्ष १० महिनामा १ अर्ब ७५ करोड ९० हजार रुपैयाँको एक करोड २५ लाख ११ हजार केजी लसुन आयात भएको थियो।
आलुको आयात पनि उकालो लागेको छ। चालु आव वैशाखसम्म ६ अर्ब ३५ करोड ५४ लाख रुपैयाँको २५ करोड ५७ लाख केजी आलु आयात भएको छ। गत वर्ष २२ करोड ५४ लाख केजी आयात भएको थियो।
गोलभेडाको आयात भने केही घटेको छ। चालु आवमा भारतबाट ४८ करोड २१ लाख रुपैयाँको गोलभेडा भित्रिएको छ। पोहोर १० महिनामा ६२ करोड ५८ लाख रुपैयाँको गोलभेडा आयात भएको थियो।