काठमाडौं। जेठ १५ गते राजावादीले काठमाडौंमा गर्न लागेको प्रदर्शनमा कुनै पनि क्षति नहुने किसिमको सुरक्षा व्यवस्था मिलाउने प्रहरीले तयारी गरेको छ।
शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले प्रदर्शनका क्रममा कुनै पनि क्षति हुन नदिने किसिमको सुरक्षा व्यवस्था मिलाएको बताएका हुन्।
प्रहरीले सो दिन काठमाडौं उपत्यका लगायत अन्य प्रहरी कार्यालयबाट पनि थप जनशक्ति माग गरेर सुरक्षा रणनीति तयार पार्ने उनले जानकारी दिए।
‘१५ गतेको कार्यक्रमलाई लक्षित गरेर सुरक्षा रणनीतिकको काम भइरहेको छ,’ उनले भने।
गत चैतमा तीनकुनेमा राजावादीकै नाममा भएको प्रदर्शनका क्रममा दुईजनाको मृत्यु भएको थियो भने करौडौंको क्षति भएको थियो। त्यसबेला प्रहरीको सुरक्षा रणनीति कमजोर हुँदा ठूलो घटना भएको भन्दै प्रहरी आलोचित पनि बनेको थियो। प्रहरीले सो घटनामा १०० जना भन्दा धेरैलाई नियन्त्रणमा लिएर दुई महिनासम्म अनुसन्धान पनि गरेको छ। केही हाजिरी जमानीमा छुटेका छन् भने केही अझै हिरासतमै छन्।
शुक्रबार मात्रै प्रहरीले सो घटनाको अनुसन्धान फाइल जिल्ला सरकारी वकिलमा बुझाएको छ। आन्दोलनका कमान्डर दुर्गा प्रसाईँ हिरासतमा नै छन्।