BIZMANDU
www.bizmandu.com

डोल्पामा रहेको जगदुल्ला हाइड्रोको ठेक्काका लागि मन्त्री खड्काले गरेको जालझेल, भारत ‘सक्ड’

२०८२ जेठ ९

डोल्पामा रहेको जगदुल्ला हाइड्रोको ठेक्काका लागि मन्त्री खड्काले गरेको जालझेल, भारत ‘सक्ड’
डोल्पामा रहेको जगदुल्ला हाइड्रोको ठेक्काका लागि मन्त्री खड्काले गरेको जालझेल, भारत ‘सक्ड’


काठमाडौं। वैशाख ९ गते भारतका ऊर्जा, सहरी आवास तथा संसदीय मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आउने मिति तय थियो।

Tata
GBIME

ऊर्जामन्त्री दीपक खड्काको निम्तोमा दुई दिन अरुण तेस्रो जलविद्युत आयोजना र मुक्तिनाथ भ्रमणमा जाने कार्यक्रम थियो। खट्टरको स्वागत लगायत कार्यक्रमका लागि ऊर्जा मन्त्रालयदेखि नेपाल विद्युत प्राधिकरण सक्रिय भए।

यही समय आसपास मन्त्री खड्का भने डोल्पामा रहेको जगदुल्ला जलविद्युत परियोजनाको ठेक्का ‘मिलाउन’ दिनरात खटिए।

स्रोतका अनुसार ठेक्का मिलाउनका लागि मन्त्री खड्काले चिनियाँ दूतावासका उच्च अधिकृतलाई घरमै डिनर मिटिङ बोलाएका थिए। चिनियाँ कम्पनी जियाङसी कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन जेसीई/एएनकेलाई ठेक्का दिने वातावरण बनाउनका लागि मन्त्री खड्काले चिनियाँ अधिकृतसँग छलफल गरेको स्रोतले बतायो।

चिनियाँ कम्पनी जेसीईसँग जलविद्युत आयोजना बनाएको अनुभव छैन। अनुभव नभएको कम्पनीलाई ठेक्का दिँदा मुद्दा मामिला हुने भएकाले सहयोग गरिदिनका लागि मन्त्री खड्काले चिनियाँ अधिकृतलाई बोलाएका थिए।

त्यो कम्पनीका लागि आवश्यक कागजातको व्यवस्था गर्ने टुंगो लागेपछि मन्त्री खड्काले जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीइओ) संजय सापकोटालाई समेत टेलिफोन गरेर जानकारी गराएको स्रोतले जानकारी दियो।

खड्का आफैं पनि जलविद्युत प्रवर्धक हुन्। रसुवामा निर्माणाधीन लाङटाङ-भोटेकोशी जलविद्युत आयोजनाको १० प्रतिशत स्वेट सेयर उनले पाएका छन्। यो आयोजना चीनको स्वीफा ग्रुपको लगानीमा निर्माण हुँदैछ।

सेटिङमै ठेक्का प्रक्रिया अगाडि बढेको जानकारी पाएसँगै चीनकै राम्रो कम्पनी सिनो हाइड्रोले प्रधानमन्त्री कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी दियो।

स्रोतका अनुसार सिनोले जलविद्युत आयोजना बनाएको अनुभव नभएको कम्पनीले फर्जी कागजात पेस गरेको उजुरी गर्‍यो। त्यस्तै नेपाली हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सनले समेत आयोजना नबनाएको भन्दै उच्च अदालत पाटनमा रिट र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)मा उजुरी दियो। उच्च अदालत पाटनले दुवै पक्षलाई बोलाउनुअघि नै कम्पनीले टेन्डर खोल्यो। पछि अदालतले प्रक्रिया अगाडि बढाउन बाटो खोलिदियो।

स्रोतका अनुसार बोलपत्र प्रक्रियामा सिनो हाइड्रोले १५ अर्ब ७ करोडको प्रस्ताव गरेको छ। जेसीई/एएनकेले १३ अर्ब ७३ करोड रुपैयाँमा आयोजना बनाउन कबुल गरेको छ।

सार्वजनिक खरिद ऐन अनुसार कम मूल्यमा बिड गर्ने कम्पनी छनोट हुन्छ। जगदुल्लाको टेण्डरमा भएको सेटिङका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने सीआइबीले फर्जी कागजका बारेमा अनुसन्धान गरिरहेको छ।

१०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको सिभिल र हाइड्रो-मेकानिकलतर्फको कामका लागि गत माघ ६ गते ग्लोबल टेन्डर आह्वान गरिएको थियो। सिनो हाइड्रो, जेसीइ/ एएनके जेभी, सिल/एचचएच जेभी र टु एमजी/फेवा जेभीले आवेदन दिएका थिए।

प्रक्रियामै गम्भीर त्रुटि

जगदुल्लाको मुचुल्का रेकर्डअनुसार बोलपत्र पेस समयमा हेरफेर गरिएको छ। रेकर्डअनुसार २०८१ चैत १ गते ४ कम्पनीले आवेदन दिएका छन्।

बिजमाण्डूले प्राप्त गरेको प्रमाणअनुसार सबैभन्दा पहिले सिनो हाइड्रोपावरले ११:०४ मा बोलपत्र पेस गरेको छ। त्यसपछि जेसीई-एएनके जेभीले ११:०९ तथा त्यसपछि एसआइएल-ट्रिपल एचसी जेभी र टुएमजी-फेवा जेभीले ११:३३ मा बिड पेस गरेका छन्।

४ मध्ये २ कम्पनीले बोलपत्र फिर्ता लिएर पुन: पेस गरे। पुन: पेस गर्नेमा टुएमजी-फेवा जेभी र जेसिइ-एएनके जेभी छन्।

टुएमजी/फेवा जेभीले प्रारम्भिक बोलपत्र बिहान ११:३३ मा पेस गरेकामा ११:४२ मा मोडिफाइड सब्मिसन गरेको छ। जसमा पेस गरिएको समय ११:४७ उल्लेख छ।

यस्तै जेसीई/ एएनके जेभीले प्रारम्भिक बोलपत्र बिहान ११:०९ मा पेस गरेकोमा ११:१७ मा मोडिफाइड बिड बुझायो। जसमा समय बिहान ९:२९ उल्लेख गरिएको छ। जेसीई-एएनके कम्पनीले पुन: पेस गर्दा प्रारम्भिक बोलपत्र पेस गरेको समय नै परिवर्तन गरिएको छ।

विद्युतीय टेण्डर प्रक्रियामा कम्पनीसँगको सेटिङ बिना यो सम्भव नहुने स्रोतले बतायो। ‘जेसीई/ एएनके जेभीले प्रारम्भिक बोलपत्र बिहान ११:०९ मा पेस गरेकामा ११:१७ मोडिफाइड बिड बुझाएको छ। जसमा समय बिहान ९:२९ उल्लेख गरिएको छ। जेसीई/एएनके कम्पनीले रि-सब्मिसन गर्दा प्रारम्भिक बोलपत्र पेस गरेको समय नै परिवर्तन गरिएको छ,’ स्रोतले भन्यो, ‘त्यही कम्पनी नै सर्ट लिस्टमा परेको छ। यसले उसको आयोजना कम्पनीसँग पहुँच राम्रो भएको र त्यहाँबाट सूचना लिएर पुनः बिड पेस गरेको स्पष्ट हुन्छ।’

जेसीई/एएनके जेभीलाई ठेक्का दिने सेटिङ अनुसार नै यो गरिएको स्रोतले बतायो। ‘जबकि जेसीई र एएनके जेभीमध्ये दुवै कम्पनीले हाइड्रो बनाएको कतै देखिँदैन। अर्कोतर्फ योग्यता नै पुग्दैन,’ स्रोतले भन्यो, ‘मुचुल्का उठाएपछि पनि थप विवरण माग गरेर सर्टलिस्टमा पार्नुको अर्थ नै जेसीई/एएनकेलाई ठेक्का दिन खोजेको स्पष्ट हुन्छ।’

भारतीय ‘सक्ड’

खट्टर आउनु केही दिनअघि ऊर्जामन्त्री खड्काले सेटिङ गरेर जगदुल्लाको ठेक्का चिनियाँलाई दिन खोजिएको जानकारी पाएपछि भारतीयहरु ‘सक्ड’ भएका छन्।

अनुभव नै नभएको चिनियाँ कम्पनीलाई ठेक्का दिन मन्त्री खड्का लागेको जानकारी खट्टर स्वदेश फर्किनुअघि नै भारतीय दूतावासले पाएको थियो। यो ठेक्का प्रक्रियामा भारतीय कम्पनी सीउ इन्फ्रास्ट्रक्चर लिमिटेड (एसआइएल) र नेपाली कम्पनी हाइ हिमालयन हाइड्रो (थ्रीएचसी)ले संयुक्तरुपमा प्रस्ताव गरेका थिए।