BIZMANDU
www.bizmandu.com

संयोगलाई षड्यन्त्रले हराएपछि गभर्नर बन्न रोकिएका ‘गोल्ड मेडलिस्ट’ गुणाकर भट्ट

२०८२ जेठ ८

संयोगलाई षड्यन्त्रले हराएपछि गभर्नर बन्न रोकिएका ‘गोल्ड मेडलिस्ट’ गुणाकर भट्ट
संयोगलाई षड्यन्त्रले हराएपछि गभर्नर बन्न रोकिएका ‘गोल्ड मेडलिस्ट’ गुणाकर भट्ट


काठमाडौं। सिलगढी बजारको झलमल्ल बिजुलीले डोटीका गाउँहरुलाई जिस्क्याइरहँदा टुकीको टिमटिम उज्यालोमा किताब पल्टाउँदै गरेको सात कक्षाको एउटा फुच्चेको मन भने अशान्त थियो।

Tata
GBIME

छटपटी भयो, निक्कैबेर निन्द्रा परेन। ‘अहँ, यसरी हुँदैन, बिजुलीको उज्यालोमा बस्ने अधिकार त हाम्रो पनि छ,’ मनमा कुरा खेलिरहे। 

बिहान उठेर उसले राजालाई बिन्तीपत्र लेख्यो- सरकार पारी बिजुलीले झलमल्ल हुँदा, हामी भने अँध्यारोमा बस्नु परेको छ। हामीलाई पनि बत्ति चाहियो।

केही महिनापछि विद्युत प्राधिकरणका इन्जिनियर त्यो फुच्चेलाई खोज्दै स्कुल पुगे। राजा वीरेन्द्रको सवारीअघि गाउँमा बिजुलीको किरण छिर्‍यो।

त्यो फुच्चे अर्थात डा. गुणाकर भट्ट। लामो संघर्ष, मेहेनत र अनुभव बटुल्दै अहिले खारिएका छन्। राजनीतिक जालझेल र सहकर्मीको षड्यन्त्रले नेपाल राष्ट्र बैंकको गभर्नरको कुर्सीमा बस्नबाट रोकिएका भट्ट जतिन्जेल राष्ट्र बैंकमा रहे- जहिले पनि प्रणालीले उनको आवश्यकता महसुस गर्दा महत्त्वपूर्ण पदमा पुगे।

वित्तीय क्षेत्रको खराब ऋण चुलिएको छ, राजस्व संकुचित भएको छ, उद्योग-धन्दा सुस्त छन्, ऋण लिने जाँगर कसैसँग छैन, मूल्यवृद्धि बढ्न थालेको छ, रोजगारी नपाएर पलायन दर उच्च छ, वित्तीय अराजकता बढेर गएको छ र कमजोर व्यावसायिक मनोबलले अर्थतन्त्रलाई ढलपल पारिरहेको छ।

यी तमाम समस्यालाई पार लगाउँदै अर्थतन्त्र सुधार गर्ने क्षमताको व्यक्ति खोजी हुँदा उनलाई नेपाली कांग्रेसले प्राथमिकतासाथ गभर्नरमा प्रस्ताव गरेको थियो।

हिजो विकासका लागि बिन्तीपत्र लेखेका भट्ट केही अघिसम्म ‘फुटनोट’ मा चिनिएका व्यक्ति थिए, आज गभर्नरको उम्मेदवार बन्दै गर्दा षड्यन्त्र र जालझेलले त्यसबाट वञ्चित हुँदा थप परिपक्व भएका छन्। गभर्नरको रेसमा हुँदा उनका विरोधीहरुले समेत आचरण र क्षमतामा प्रश्न गर्न सकेनन्, प्रक्रियालाई लिएर मात्र विरोध गरे। 

स्थायित्वको खोजीमा बैंकर

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापन विभागको प्रमुख थिए- अनन्तलाल कर्ण। उनले भट्टलाई असाध्यै माया गर्थे।कर्णलाई कीर्तिपुरमा नयाँ विषय पठनपाठन गराउन मन लागेको थियो। त्यसबेला कि अर्थशास्त्र पढाइन्थ्यो कि त व्यवस्थापन। दुवैको संयोजन ‘म्यानेजेरियल इकोनोमिक्स’ अर्थात व्यवस्थापकीय अर्थशास्त्र पढाइ हुँदैनथ्यो, पढाउने मान्छे पनि पाइँदैनथे। 

‘यहाँ म्यानेजरियल इकोनोमिक्स पढाउने कोही छैन, तिमीले मेहेनत गर्‍यौ भने पढाउन सकिहाल्छौ,’ कर्णले भट्टलाई प्रेरित गरे। व्यवस्थापनका ‘गोल्ड मेडलिस्ट’ भट्टले पुस्तकालयमा अर्थशास्त्रका किताब खोजे, पुराना ज्ञानलाई ताजा बनाए र पढाउन थाले। अहिले राष्ट्र बैंकमै कार्यकारी निर्देशक रहेका रामु पौडेल र निर्देशक शैलेन्द्र रेग्मी उनका विद्यार्थी थिए। 

गाउँबाट आएको केटो, अस्थायी जागिर, सहरको महँगी- यसरी जिन्दगी लामो चल्दैन भन्ने भट्टलाई लाग्न थालिसकेको थियो। 

‘गोल्ड मेडलिस्ट’लाई प्राथमिकता दिएर कृषि विकास बैंकले अधिकृतमा जागिर खुलाएको थियो। साथीहरूले भने- तपाईंजस्तो मान्छे बैंकमा जानुपर्छ। तलब धेरै आउँछ, गाडी दिन्छ। कर्जा दिन्छ।

तर, आफूलाई माया गर्ने प्रोफेसरले विश्वविद्यालयमै करियर बनाउन प्रेरित गरिरहेका थिए। आर्थिक स्थायित्वका लागि अन्तत: भट्टले बैंकको जागिर रोजे। 

एकै ठाउँमा अडिने स्वभाव थिएन। राष्ट्र बैंकमा अर्को वर्ष ‘गोल्ड मेडलिस्ट’का लागि भनेर जागिर खुल्यो। उनले सोचे, वाणिज्य बैंक किन? जागिर नै खाएपछि राष्ट्र बैंकमै खाने नि। जाँच दिए, अन्तर्वार्ता पास गरे र २०५७ असार १ बाट जागिर सुरु गरे। 

‘राष्ट्र बैंकमा गइन्छ भन्ने कहिल्यै थिएन। एकेडेमिक करियर खोजेको मान्छे, नन् एकेडेमिकतिर जाने योजना थिएन,’ भट्टले बिजमाण्डूसँग भने, ‘राष्ट्र बैंकको करियर मेरो इन्सिडेन्टल हो।’

काठमाडौंमा संघर्षपूर्ण दिन

डोटीको गाउँमा हुर्किएका भट्टको परिवारमा राजनीतिक र शैक्षिक चेतना गहिरो थियो। उनका बुवा शिक्षक थिए, जेठा बुवा भूमिसुधार अधिकारी। पढ्ने, लेख्ने विषयवस्तुमा चर्चा-परिचर्चा हुन्थ्यो।

डोटीमा स्कुल सकेर पढ्न उनी धनगढी झरे। त्यहाँ स्कुले विद्यार्थीलाई पढाएर त्यो पैसाले स्नातक सके। त्यसपछि व्यवस्थापन (एमबीए)मा स्नातकोत्तर गर्न काठमाडौं आए। काठमाडौं सहरले उनलाई आकर्षित गर्‍यो र चुनौती पनि दियो। उनले व्यवस्थापनमा स्नातकोत्तर सुरु गरे, सीमित साधनमा आफूलाई स्थापित गर्ने दौडमा लागे।

स्नातकोत्तर पढ्दै गर्दा उनले भक्तपुरको वीरेन्द्र सैनिक स्कूलमा शिक्षकको जागिर पाए। सरकारी अधिकृतको तलब ४,२०० हुँदा उनले सैनिक स्कुलमा ७,२०० पाउँथे। अझ आर्मी अस्पतालमा नि:शुल्क उपचारको पनि सुविधा थियो। 

स्नातकोत्तरको पहिलो वर्ष उनले उत्कृष्ट नतिजा ल्याए। यो २०५३ को कुरा हो। जागिर खाँदै पढ्दै गर्न गाह्रो भइरहेको थियो। त्यहीबेला राष्ट्र बैंकको एउटा विज्ञापनले उनलाई पढ्न प्रेरित गर्‍यो।

‘गोल्ड मेडलिस्ट’लाई जागिरको अफर थियो। गोल्ड मेडलिस्ट हुँदा त जागिर पाउन सजिलो हुने रहेछ भनेर उनले दोस्रो वर्ष पनि ‘टप’ गरे। 

सैनिक स्कुलको जागिरले आर्थिक आधार दिएको थियो। त्यहीबेला काठमाडौं युनिभर्सिटीले ‘स्कूल अफ म्यानेजमेन्ट’ कलेज खोल्न अनुमति दियो। त्यो कलेजमा अहिलेकी परराष्ट्रमन्त्री डा. आरजु राणा, पूर्वमूख्यसचिव डा. विमल कोइराला लगायत  जोडिएका थिए।

ठूलो ब्राण्ड भएका व्यक्तिहरुको कलेज, विदेशी राम्रा राम्रा लेखकका किताबले भरिएको पुस्तकालय। कलेजले  गोल्ड मेडलिस्टलाई प्राथमिकता दिंदै विज्ञापन निकाल्यो। भट्टले सीभी पठाए, जागिर पक्का भयो। पार्टटाइम पढाउन थाले।  महिनाको ६ हजार तलब।

यसैबीच, उनले मीनभवन क्याम्पसमा पनि पढाउन थाले, जहाँ एउटा कक्षाको ७५ रुपैयाँ पारिश्रमिक थियो। तर, असली कमाइ ट्युसनमा थियो। बिहान ५ देखि ९ बजेसम्म ट्युसन पढाउँदा विद्यार्थीले मासिक ४०० रुपैयाँ तिर्थे। मीनभवनको ब्रान्डसँगै मनग्य कमाइले उनलाई स्थापित गर्‍यो। 

‘दुई वर्ष मज्जाले पढाएपछि १५ लाख जति जोडेँ। जसमध्ये ६-७ लाखमा काठमाडौंमा जग्गा किनें, त्यही पैसाले बिहे पनि गरेँ,’ उनले पुराना दिन सम्झिए, ‘त्यो पैसाले मलाई काठमाडौंमा स्थापित गरायो।’

राष्ट्र बैंक : संयोग र सिकाइको सिलसिला

राष्ट्र बैंकमा प्रवेश संयोग भए पनि भट्टको व्यवस्थापनको फराकिलो भएर अर्थशास्त्रसँग जोडियो। अनुसन्धान (रिसर्च) विभागमा पोस्टिङ भएपछि उनले नीति विश्लेषणको महत्त्व बुझे। अन्तर्राष्ट्रिय वित्त डिभिजनमा बिताएका दिनहरूमा मुद्रा कोष र विश्व बैंकका जर्नल पढ्दा उनको रुचि झन् गहिरियो। 

तीन वर्षपछि, आईएमएफका प्रतिनिधि सुखबिन्दर सेनले ‘वित्तीय क्षेत्र सुधार कार्यक्रम’का लागि मेहनती अर्थशास्त्री खोजे। विभागीय प्रमुख टुलराज बस्यालले भट्टलाई सिफारिस गरे। अन्तर्वार्तापछि उनले दुई वर्ष त्यहाँ काम गरे, जहाँ अर्थमन्त्रीका बैठकदेखि तथ्यांक विश्लेषणसम्मको अनुभवले उनलाई नयाँ उचाइ दियो। 

विश्व बैंक र आईएमएफको कार्यशैली बुझ्नु, रातभर काम गर्नु- यो अवधिले उनको विश्वदृष्टि फराकिलो बनायो।

आईएमएफको कार्यक्रममा उनी वासिङ्टन डीसी पुगेका थिए- त्यहाँ विलियम्स कलेजका प्रोफेसरसँग संयोगले भेट भयो। प्रोफेसरले उनलाई त्यहाँ पढ्न प्रेरित गरे। फुलब्राइटमा असफल भए पनि विलियम्समा आवेदन दिए, ४५ मिनेटको फोन अन्तर्वार्तापछि छनोट पनि भए। 

५० हजार डलरको कोर्सका लागि कलेजले फन्डिङ जुटाइदियो। नौ महिनाको अध्ययनले उनलाई मौद्रिक अर्थशास्त्र र उदीयमान बजारको गहिरो ज्ञान दियो। ‘त्यहाँको शिक्षा खतरनाक थियो,’ उनी हाँस्दै भन्छन्, ‘जिन्दगीभर मैले त्यसरी पढेको थिइन, जसरी ९ महिनामा त्यहाँ मैले पढेँ।’

दुई वर्ष नेपालमा काम गर्ने सर्तमा फर्किएपछि उनले पीएचडीको योजना बनाए। मास्टर्स पढ्दा सेकेन्ड क्लासको जाँच पास गरेका थिए, जसले उनको करियरलाई गति दियो। पीएचडीका लागि बिदा लिए र फर्किंदा फर्स्ट क्लासको जाँचमा लेखेरै पास भए। ‘धेरैले मलाई फर्किंदैन भन्थे, तर नेपालमा केही गर्नुपर्छ भन्ने थियो,’ उनी भन्छन्, ‘नफर्किने कुरै थिएन।’

जहाँ आवश्यकता, त्यहाँ भट्ट

राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएपछि भट्ट कहिल्यै फुर्सदिलो हुन पाएनन्। ‘मैले कहिल्यै कुनै विभागमा जान लबिङ गरिन,’ उनी भन्छन्, ‘गभर्नरहरूले जहाँ आवश्यक देख्नु भयो, त्यहाँ मलाई खटाउनु भयो।’

तत्कालीन अर्थमन्त्रीले अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापालाई जसरी पनि हटाउन तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपाललाई दबाब दिइरहेका थिए। थापालाई अर्को विभागमा पठाउँदा अनुसन्धान विभाग हाँक्न सक्ने मान्छेको अभाव हुन्थ्यो। गभर्नर नेपालले त्यो जिम्मेवारी भट्टलाई दिए।

त्यसैगरी बैंक सुपरिवेक्षण विभाग हाँक्ने मान्छे चाहियो- गभर्नरले भट्टलाई नै सम्झिए। बैंक तथा वित्तीय संस्था नियमन विभागले केही विवादास्पद निर्णय गरेर बजारलाई असर पारिरहेको थियो, त्यो राप सहेर सहजीकरण गर्ने मान्छेको खोजी भयो- गभर्नरले भट्टलाई नै त्यहाँ लगे।

पछिल्लो समय अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएपछि रिक्तता छायो। गभर्नरले हतार हतार भट्टलाई नै त्यो जिम्मेवारी दिए।

उनले अनुसन्धान विभागमा मूल्य र स्थायित्वमा काम गरे, जहाँ उनले म्याक्रो अर्थशास्त्रको अभ्यास गरे। नियमन, सुपरिवेक्षण विभागमा जाँदा सामाजिक, मनोवैज्ञानिक र राजनीतिक अपेक्षाहरू बुझे, बजारको माइक्रो गतिशीलता थाहा पाए। 

भट्टको करियरमा एउटा कुरा स्पष्ट छ- उनले कहिल्यै ‘बदमासी’ गरेनन्, क्षमताले भ्याएसम्म प्रणालीलाई सहयोग नै गरे। उनले डा. प्रकाशशरण महत अर्थमन्त्री हुँदा आर्थिक सल्लाहकार भएर बजेट लेखनमा पनि सहयोग गरे। त्यो टिममा नवनियुक्त गभर्नर डा. विश्व पौडेल पनि थिए।

संघर्ष र मेहेनतबाहेक भट्टको करियरमा संयोग नै संयोग बढी भेटिन्छ। ‘मलाई जहाँ खटाइयो, त्यहाँ मैले इन्जोय गरेँ,’ उनी भन्छन्, ‘‍मैले नतिजा दिएरै काम गरेँ।’ 

यसपालि पनि धेरै हिसाबले गभर्नर बन्ने संयोग मिलेको थियो। सत्तारुढ कांग्रेस पार्टीले सुरुमै भट्टको नाम प्रस्ताव गर्‍यो। उनीसँग सकारात्मक रहेका डा. विश्व पौडेल र पूर्वगभर्नर महाप्रसाद अधिकारी सिफारिस समितिमा थिए।

तर, यसपालि संयोगलाई षड्यन्त्रले पराजित गर्‍यो, ‘गोल्ड मेडलिस्ट’ भट्टले पहिलोपल्ट करियरमा असफलता व्यहोर्नुपर्‍यो।