काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्बाहीमा पर्नेमा बाँकेको यज्ञश्वरी निर्माण सेवा, काठमाडौंको एसियन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सल्टेन्सी र सल्यानको न्यु तुलसी निर्माण सेवा छन्।
सम्झौताबमोजिमको काम नगर्दा सम्बद्ध कार्यालयहरुको सिफारिसमा कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ। यज्ञश्वरीलाई दुई वर्ष, एसियन कन्स्ट्रक्सनलाई डेढ वर्ष र न्यु तुलसीलाई एक वर्ष सार्वजनिक निकायका खरिद प्रक्रियामा सहभागी हुन नपाउनेगरि कार्बाही गरिएको बिहीबार प्रकाशित सूचनामा छ।
यज्ञश्वरीलाई कालोसूचीमा राख्न नागरिक उड्डयन कार्यालय काठमाडौं, एसियनलाई कास्कीको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय र न्यु तुलसीलाई सल्यानको पूर्वाधार विकास कार्यालयले सार्वजनिक खरिदमा लेखि पठाएका हुन्।