BIZMANDU
www.bizmandu.com

जलविद्युत आयोजनामा बाढीको पूर्वसूचना प्रणाली जडान गरिने, विभाग र इप्पानबीच सम्झौता

२०८२ जेठ ७

जलविद्युत आयोजनामा बाढीको पूर्वसूचना प्रणाली जडान गरिने, विभाग र इप्पानबीच सम्झौता
जलविद्युत आयोजनामा बाढीको पूर्वसूचना प्रणाली जडान गरिने, विभाग र इप्पानबीच सम्झौता


काठमाडौं। जल तथा मौसम विज्ञान विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)बीच जलविद्युत आयोजनामा पूर्वसूचना प्रणाली विकास गर्ने सम्बन्धी समझदारी भएको छ। समझदारी ५ वर्षका लागि गरिएको हो।

Tata
GBIME

राष्ट्रिय मनसुन दिवसको अवसर पारेर बुधबार ऊर्जामन्त्री दीपक खड्काको उपस्थितिमा विभागका तर्फबाट महानिर्देशक कमलराम जोशी र इप्पानका तर्फबाट अध्यक्ष गणेश कार्कीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

समझदारी अनुसार विभागले बाढी आउने सम्भावित समय जेठ १५ देखि असोज १५ गतेसम्म नदी बेसिनका आधारमा वर्षा र जल सतह सम्बन्धी रियल टाइम तथ्याङ्क एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई)मार्फत इप्पान तथा यसका सदस्य आयोजनालाई उपलब्ध गराउने छ।

यसमा नदी बेसिन अनुसार वर्गिकरण गरिएको डाटा र सम्बन्धित ठाउँको ३ दिन वा उपलब्ध भएसम्मको मौसम पूर्वानुमानको तथ्याङ्क फाइल ट्रान्सफर प्रोटोकल (एफटीएफ) लिङ्कमार्फत विभागले इप्पानलाई उपलब्ध गराउने छ।

इप्पान तथा यसका सदस्य आयोजनाले जडान गरेका पूर्वसूचना प्रणालीको तथ्याङ्क विभागले तोकेको ढाँचामा विभागको सर्भरमा सम्प्रेषण गर्नुपर्नेछ।

विभागले उपलब्ध गराएको एपीआई गोप्य राख्नुपर्ने, प्राप्त तथ्याङ्क आन्तरिक प्रयोजन, विकास प्रवर्धन र क्षति न्युनिकरण प्रयोजनका लागि बाहेक तेस्रो पक्षको पहुँचमा पुर्‍याउन नहुने कुरा समझदारीपत्रमा उल्लेख छ।

मन्त्री दीपक खड्काले समझदारीले लागत केही बढेपनि पूर्वसूचनाबाट आयोजनाहरु लाभान्वित हुने बताए। विभागका महानिर्देशक कमलराम जोशीले समझदारीले जलविद्युत आयोजनामा हुने बाढीपहिरोबाट हुने क्षति रोक्न सहयोग पुग्ने बताए।

इप्पानका अध्यक्ष गणेश कार्कीले गत वर्ष काठमाडौंमा आएको बाढीबाट २८ किलोमिटर पर रहेको एउटा जलविद्युत आयोजनासमेत बचाउन नसकिएको भन्दै विभागसँगको समझदारीले क्षति न्यूनिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।