BIZMANDU
www.bizmandu.com

पम्प ट्रयाकको विश्व च्याम्पियनसिप छनोट नेपालमा, विभिन्न देशका १२० खेलाडी सहभागी हुने

२०८२ जेठ ७

पम्प ट्रयाकको विश्व च्याम्पियनसिप छनोट नेपालमा, विभिन्न देशका १२० खेलाडी सहभागी हुने
पम्प ट्रयाकको विश्व च्याम्पियनसिप छनोट नेपालमा, विभिन्न देशका १२० खेलाडी सहभागी हुने


काठमाडौं। नेपालमा पहिलो पटक युसीआई पम्प ट्रयाक विश्व च्याम्पियनसिपको छनोट प्रतियोगिता आयोजना हुने भएको छ। पम्प ट्रयाक रेसिङ छोटो साइक्लिङ खेल हो, जसमा विशेष रुपमा बनाइएको ट्र्याकमा प्रतिस्पर्धा हुन्छ।

Tata
GBIME

ललितपुरको कुपण्डोल नजिकै रहेको गुसिंगालस्थित वाग्मती खोला किनारमा बनेको उखडबाखड ट्र्याक यही खेलको हो।हिमालयन सिंगल ट्रयाक र जिरो लेभल एमटिभी स्कुलले यही जेठ १७ गते ललितपुरस्थित पम्प ट्रयाक सेन्टरमा उक्त छनोटको आयोजना गर्न लागेको छ।

प्रतियोगितालाई युनियन साइक्लिस्ट इन्टरनेशनल (युसीआई) र नेपाल साइक्लिङ संघसँगको मान्यता दिएको छ। प्रतियोगिताको लागत १० लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ।  

प्रतियोगितामा नेपाल, जापान, भारत, भुटान, अस्ट्रेलियाका गरी १२० जना खेलाडीको सहभागिता रहनेछ। खेलाडीहरुले एलिट, मास्टर्स, जुनियर्स, युथ र किड्स गरी चारवटा इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछन्।

मुख्य विधाको रुपमा रहेको एलिटतर्फ पुरुष र महिला गरी २/२ खेलाडी अर्को वर्ष स्विट्जरल्याण्डमा हुने विश्व च्याम्पियनसिपमा छनोट हुनेछ।

प्रतियोगिता आयोजनालाई साथ दिएको हिमालयन राइडर्स क्लबका अध्यक्ष राज ज्ञवालीका अनुसार नेपाली खेलाडीहरुको प्रदर्शन विश्वस्तरीय रहेको बताए।

पम्प ट्रयाक रेसिङ साइक्लिङको निकै चर्चित विधा हो। यसमा खेलाडीहरुले विशेष रुपमा बनाइएको ट्रयाकमा प्याडल नगरी आफ्नो तौलको चाल प्रयोग गरेर पम्प गर्दै रेस अगाडि बढाउने गर्छन्। सन् २०२२ मा विश्व च्याम्पियनसिपको प्रायोजक रहेको भेलोसोलुसनले ललितपुर-१ मा ट्रयाक निर्माण गरेको थियो।