BIZMANDU
www.bizmandu.com

लेखा समितिको बैठक तनावपूर्ण, विपक्षी दलका सांसदलाई कांग्रेसको साथ, एक्लियो एमाले

२०८२ जेठ ७

लेखा समितिको बैठक तनावपूर्ण, विपक्षी दलका सांसदलाई कांग्रेसको साथ, एक्लियो एमाले
प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकमा सहभागीहरू । तस्बिरः रत्न श्रेष्ठ/रासस


काठमाडौं। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठक तनावपूर्ण बनेको छ। समितिको बुधबार बसेको बैठक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्ने उपसमितिको प्रतिवेदनलाई लिएर तनावपूर्ण भएको हो।

Tata
GBIME

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन संयोजक रहेको उपसमितिले विमानस्थल निर्माणमा भ्रष्टाचार भएको प्रतिवेदन बुझाएकामा एमाले सांसद योगेश भट्टराईले प्रतिवेदनमाथि प्रश्न उठाए।

‘प्रतिवेदनमा कतिपय कुरा आग्रहपूर्ण छन्। कतिपय कुरामा तर्क नै पुग्दैन। विज्ञ र प्राविधिकबाट छलफल हुनुपर्छ। कतिपय अर्थ मन्त्रालयले जवाफ दिनुपर्ने छ। उपसमितिका सदस्य गोकुल बाँस्कोटा र तारा लामा तामाङले अध्यनमो मेथाडोलोजीमै प्रश्न उठाउनु भएको छ। त्यो एअरपोर्ट जहाज उडाउन योग्य छ/छैन भन्ने आइकाओले हो। उपसमितिले कसरी त्रुटिपूर्ण भन्न सक्छ? प्राविधिक त्रुटि भएको भए अहिलेसम्म कसरी उडान भए? यो प्रतिवेदन मान्न’ भनेको एयरपोर्ट बन्द गर भन्नु हो,’ उनले भने।

भट्टराई यतिमै रोकिएनन्। उनले उपसमितिको प्रतिवेदनमाथि चिनियाँ ठेकेदार कम्पनीले प्रश्न उठाएको विषयलाई पनि गम्भीरतापूर्वक लिनुपर्ने बताए।

‘आफ्नो लगानीमाथि प्रश्न उठाएपछि चाइनिजले चासो राखेका छन्। हामी आफू ठीक हुनु पर्‍यो। स्वार्थ गाँसिएका साथीले  बनाएको रिपोर्ट कसरी मान्ने? निर्णय प्रक्रियामा सामेलहरुको नाम नै छैन,’ उनले भने।

माओवादी केन्द्रका सांसद अमनलाल मोदीले प्रतिवेदनमाथि एमालेले के भनेको भनेर प्रश्न गरे। त्यसपछि बैठकमा भनाभन सुरु भयो।

एमाले सांसद एकातिर र अरु सांसद अर्कातिर उभिए। स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सभापति ऋषिकेश पोखरेलमाथि एमालेका सांसदलाई मात्र बोल्न दिएको आरोप लगाए।

सत्तारुढ नेपाली कांग्रेसका सांसदहरुले प्रतिपक्षी दलका सांसदलाई साथ दिए।

कांग्रेस र प्रतिपक्षी दलका सांसदहरुले उपसमितिको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउनुपर्ने बताए। तर, एमाले सांसदहरुले प्रतिवेदन त्रुटिपूर्ण रहेको भन्दै अहिले नै पठाउन नहुने अडान लिए।

कांग्रेस सांसद अर्जुननरसिंह केसीले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको कुरा घाम झैं छर्लंग रहेको भन्दै थप अनुसन्धान गरेर कारबाहीका लागि प्रतिवेदन अख्तियारमा पठाउनुपर्ने बताए।

‘प्रथम दृष्टिकोणमै विमानस्थल निर्माणमा भ्रष्टाचार भएको छ। यो भन्दा सत्य अरु कुन छ? दोषीहरुमाथि अनुसन्धान गरेर कारबाही हुनुपर्छ भनिएको छ,’ उनले भने, ‘ ठेकेदारलाई सोध्ने हाम्रो क्षेत्राधिकार होइन। कुनै राष्ट्रसँग सम्बन्धित लगानी भनेर भ्रष्टाचारलाई टुलुटुलु हेर्न सकिंदैन। ठेकेदारको विज्ञप्तिलाई खेदपूर्ण भनेर पारित गरौं।’

कांग्रेसका अर्का सांसद राजन केसीले पनि विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे अख्तियारलाई नै अनुसन्धान गर्न लगाउनुपर्ने बताए। ‘यसलाई हामीले धेरै गिजोलिरहने होइन। अख्तियारले नै यसमा छानबिन गर्ने हो,’ उनले भने।