BIZMANDU
www.bizmandu.com

कथा संग्रह ‘हार्ट ल्याम्प’का लागि भारतीय लेखक मुश्ताकले पाइन बुकर पुरस्कार

२०८२ जेठ ७

कथा संग्रह ‘हार्ट ल्याम्प’का लागि भारतीय लेखक मुश्ताकले पाइन बुकर पुरस्कार
कथा संग्रह ‘हार्ट ल्याम्प’का लागि भारतीय लेखक मुश्ताकले पाइन बुकर पुरस्कार


लन्डन। भारतीय लेखिका, वकील र अभियानकर्मी बानु मुश्ताकले आफ्नो लघुकथा संग्रह ‘हार्ट ल्याम्प’ का लागि अन्तर्राष्ट्रिय बुकर पुरस्कार जितेकी छन्। ७७ वर्षीया मुश्ताक कन्नड भाषाबाट अनुवादित कथा साहित्यका लागि यो प्रतिष्ठित साहित्यिक पुरस्कार प्राप्त गर्ने पहिलो लेखिका हुन्।

Tata
GBIME
Nepal Life

‘यो क्षण हजारौं जुनकीरीले एउटै आकाश उज्यालो पारेको जस्तो लाग्छ – छोटो, चम्किलो र पूर्णतया सामूहिक,’ मुश्ताकले मंगलबार लन्डनको टेट मोडर्न ग्यालरीमा आयोजित एक समारोहमा भनिन्, ‘म यो महान सम्मानलाई एक व्यक्तिका रूपमा नभई अरू धेरैसँग मिलेर उठाइएको आवाजका रूपमा स्वीकार गर्दछु।’

मुश्ताकले ५० हजार पाउन्ड (६७ हजार डलर) को पुरस्कार उनकी अनुवादक दीपा भस्तीसँग बाँड्नेछिन्। भस्तीले कथाहरू छनोट गर्न सहयोग गरेकी थिइन।

‘हार्ट ल्याम्प’ मा सन् १९९० देखि सन् २०२३ बीच मूल रूपमा प्रकाशित १२ कथा संकलित छन् । यी कथाले महिला र केटीहरूको अनुभवहरूमा ध्यान केन्द्रित गर्दै दक्षिण भारतका मुस्लिम समुदायहरूको दैनिक जीवनलाई चित्रण गर्छन्। समालोचकहरूले यो संग्रहको सुक्खा र मधुर हाँस्य, यसको चतुर, बोलचालको शैली र पितृसत्ता, जातिवाद र धार्मिक रूढिवादमाथि गरिएको तीव्र टिप्पणीका लागि प्रशंसा गरेका छन्।

दक्षिण पश्चिम भारतको कर्नाटक राज्यमा बस्ने मुश्ताक महिला अधिकारमा वकालत गर्ने र भेदभावको सामना गर्ने कानुनी उपचारका लागि परिचित छिन्। निर्णायक मण्डलले जोशिला हजुरआमादेखि लिएर अल्मलिएका धार्मिक पण्डितहरूसम्मका उनका पात्रहरूलाई ‘अस्तित्व र लचिलोपनको आश्चर्यजनक चित्रण’ भनेर सम्मान गरेको छ।

‘मेरा कथाहरू महिलाहरूको बारेमा छन् – कसरी धर्म, समाज र राजनीतिले उनीहरूबाट निर्विवाद आज्ञाकारिताको माग गर्छ र त्यसो गर्दा उनीहरूलाई अमानवीय क्रुरता दिन्छ, उनीहरूलाई केवल अधीनस्थहरूमा परिणत गर्दछ,’ उनले भनिन्।

निर्णायक समितिका अध्यक्ष म्याक्स पोर्टरले ‘हार्ट ल्याम्प’ लाई ‘अंग्रेजी पाठकहरूका लागि वास्तवमै नयाँ कुरा’ भनेर सराहना गरे। ‘एउटा मौलिक अनुवाद जसले अंग्रेजीको बहुलतामा नयाँ बनावटहरू सिर्जना गर्न भाषालाई हल्लाउँछ। यसले अनुवादको हाम्रो बुझाइलाई चुनौती दिन्छ र विस्तार गर्दछ,’ उनले भने। -एएफपी/रासस