काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर पद आकर्षक हुनुको प्रमुख कारण जन–जनको हातमा पुग्ने नोटमा हस्ताक्षर हुनु पनि हो। नयाँ गभर्नर डा. विश्व पौडेल नियुक्त भएसँगै अब उनको हस्तक्षर भएको नोट अर्को वर्षदेखि सबैको हातमा पुग्नेछ।
२०१३ साल वैशाख १४ गते नियुक्त भएको नेपालका पहिला गभर्नर हिमालय शम्शेर राणादेखि अहिलेसम्म १८ जनाले नेपाली रुपैयाँको नोटमा हस्ताक्षर गरिसकेका छन्। कामु गभर्नर कृष्णबहादुर मानन्धरसम्मले नोटमा हस्ताक्षर गर्ने अवसर पाएका थिए।
छोटो समयका लागि गभर्नर भएका दीपेन्द्रबहादुर क्षेत्री र दीपेन्द्रपुरुष ढकालले पनि नोटमा हस्ताक्षर गर्ने मौका पाए। क्षेत्रीले निश्चित नोटहरुमा मात्र हस्ताक्षर गरे भने ढकालले भने छोटो समयमा पनि सबै दरका नोटमा हस्ताक्षर गर्न भ्याएका थिए।
अहिलेसम्म नोटमा राणा, लक्ष्मीनाथ गौतम, प्रद्युम्नलाल राजभण्डारी, डा. भेषबहादुर थापा, डा. यादवप्रसाद पन्त, कुलशंकर शर्मा, कल्याणविक्रम अधिकारी, गणेशबहादुर थापा, हरिशंकर त्रिपाठी, सत्येन्द्रप्यारा श्रेष्ठ, डा. तिलकबहादुर रावल, दीपेन्द्रपुरुष ढकाल, विजयनाथ भट्टराई, कृष्णबहादुर मानन्धर, दीपेन्द्रबहादुर क्षेत्री, डा. युवराज खतिवडा, डा. चिरञ्जीवी नेपाल र महाप्रसाद अधिकारीले हस्ताक्षर गरिसकेका छन्।
नोटमा हस्ताक्षर गर्ने भएकाले पनि कुनै पनि मुलुकको गभर्नरलाई ‘चीफ क्यासियर अफ दी नेसन’ पनि भनिन्छ। नेपालका नयाँ गभर्नर पौडेलले पनि त्यही हैसियतमा नयाँ नोटमा हस्ताक्षर गर्नेछन्।
उनले बुधबार बिहान सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतबाट शपथ लिनेछन्। ५ वर्षका लागि नियुक्त पौडेलले बुधबार दिउँसो बालुवाटारस्थित केन्द्रीय बैंकको कार्यालयमा पदभार ग्रहण गर्ने छन्।