काठमाडौं। विद्युतीय सवारीसाधन (इभी)को प्रयोग बढेसँगै चार्जिङ स्टेसन थपिने क्रम बढेको छ। ग्राहकमा इभीप्रतिको आकर्षणले होटल, रेस्टुरेन्ट, पेट्रोल पम्प र अन्य स्थानमा चार्जिङ स्टेसन राख्ने क्रम बढेको हो।
देशभर चार्जिङ स्टेसनको संख्या ७५० पुगेको छ। नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा चार्जिङ स्टेसन निर्माण गरेको छ।
टाटा मोटर्स, बीवाईडी जस्ता कम्पनीले पनि विभिन्न ठाउँमा चार्जिङ स्टेसन बनाएका छन्। यस्तै स्वतन्त्ररुपमा कमर्सियल चार्जिङ स्टेसन धेरै ठाउँमा संचालनमा छन्। प्राधिकरणले पछिल्लो पटक गरेको अध्ययन अनुसार ४१ प्रतिशत चार्जिङ स्टेसन खुलारुपमा राखिएका छन्।
१८ प्रतिशत चार्जिङ स्टेसन होटल तथा १३ प्रतिशत चार्जिङ स्टेसन रेस्टुरेन्टमा छन्। होटल तथा रेस्टुरेन्टले ग्राहकलाई आफूकहाँ आकर्षित गर्न चार्जिङ स्टेसन राखेका हुन्।
८ प्रतिशत चार्जिङ स्टेसन इन्धन बिक्री वितरण गर्ने पेट्रोल पम्पमा छन्। १७ प्रतिशत चार्जिङ स्टेसन अटो वर्कशप र भेहिकल ग्यारेजमा रहेको प्राधिकरणले जनाएको छ। ३ प्रतिशत चार्जिङ स्टेसन अन्य ठाउँमा छन्।
प्राधिकरणले देशका विभिन्न ठाउँमा ७५० वटा चार्जिङ स्टेसन निर्माण गर्न स्वीकृति दिएको छ। अहिले २३८ वटा चार्जिङ स्टेसन निर्माण भइरहेका छन्।
दैनिक सवा ३ लाख युनिट बिजुली खपत
प्राधिकरणले ६२ वटा चार्जिङ स्टेसन संचालन गरिरहेको छ। बाँकी निजी क्षेत्रका हुन्। सञ्चालनमा रहेका चार्जिङ स्टेसनसँग ७८.८ मेगावाट विद्युत खपत गर्ने क्षमता छ।
चार्जिङ स्टेसनले दैनिक ३ लाख २२ हजार ३०० युनिट विद्युत खपत गर्ने प्राधिकरणले जनाएको छ। प्राधिकरणले आफ्ना चार्जिङ स्टेसनबाट मात्र एक दिनमा ३६ हजार ६६६ युनिट विद्युत बिक्री गरेको छ। त्यसबापत प्राधिकरणले ३ लाख ३१ हजार ४५८ रुपैयाँ महसुल लिएको छ।
चार्जिङ स्टेसनमा देखिने समस्या
चार्जिङ स्टेसनमा सबैभन्दा धेरै समस्या डिस्प्लेमा क्यूआर कोड नदेखिनु हो।
यस्तै कुलर लिक्विड सर्टेज अलार्म बज्ने, फोरजी नेटवर्क लस हुने, पावर मोडुल र मोडुल कम्युनिकेसन फेल हुने, केवल धेरै तात्ने, एचपीसी कुलर पम्प फेल हुने जस्ता समस्या देखिने गरेको प्राधिकरणले गरेको अध्ययनले देखाएको छ।