काठमाडौं। गभर्नर सिफारिस समितिको बैठक सुरु भएको छ। समितिको बैठक अहिले अर्थ मन्त्रालयमा बसिरहेको हो।
समितिले गभर्नर नियुक्त गर्न ३ जनाको नाम सरकारलाई सिफारिस गर्नेछ। त्यसपछि मन्त्रिपरिषद् बैठकले ३ जनामध्ये एकजनालाई गभर्नर नियुक्त गर्नेछ। मन्त्रिपरिषद् बैठक मंगलबार साँझ बोलाइएको छ।
दुई महिनाअघि गठित समितिको बैठक पहिलोपटक बसेको हो। गभर्नरको नाम सिफारिसका लागि सरकारले चैत ११ गते समिति गठन गरेको थियो। त्यो समितिमा सदस्यको नाम दुई पटक हेरफेर भइसकेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गभर्नर नियुक्तिका विषयमा भएको छलफलपछि समितिका अध्यक्ष रहेका अर्थमन्त्री विष्णु पौडेलले बैठक राखेका हुन्।
देउवाले गभर्नरका लागि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेललाई प्रस्ताव गरेका छन्। ओली र देउवाबीच भएको सहमति अनुसार समितिले पौडेलसहित थप दुई जनाको नाम सिफारिस गर्नेछ। तीनजनामध्ये एक जना राष्ट्र बैंकको डेपुटी गभर्नर हुनुपर्ने कानुनी व्यवस्था छ।
स्रोतका अनुसार समितिले कायममुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाको नाम सिफारिस गर्नेछ। गभर्नरका लागि राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्ट र नबिल बैंकको सीइओबाट राजीनामा दिएका ज्ञानेन्द्र ढुंगानामध्ये एक जनाको नाम सिफारिस हुने स्रोतले बताएको छ।
देउवाले गभर्नर बनाउने वचन दिएपछि भट्टले वैशाख ५ गते कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए। तर, कायममुकायम गभर्नर तिम्सिनाले भट्टको राजीनामा स्वीकृत नगरेको कारण देखाएर ओलीले देउवासँग अर्को नाम मागेका थिए। त्यसपछि देउवाले सिफारिस समितिमा रहेका डा. पौडेललाई राजीनामा दिन लगाएका थिए।
पौडेललाई पनि गभर्नर बनाउन ओलीले आनाकानी गरेपछि दुई नेताबीच दूरी बढेको थियो। आफूसँग भएको सहमति अनुसार पौडेललाई गभर्नर नबनाएको भन्दै देउवाले सोमबार साँझ बालुवाटारको निम्ता अस्वीकार गरेका थिए।
गभर्नर नियुक्तिमा देखिएको असमझदारीले सरकार ढल्नेसम्मको आकलन भइरहेका बेला ओलीले मंगलबार संसद्मा पूर्वनिर्धारित प्रश्नोत्तर कार्यक्रम रोकेर देउवालाई बालुवाटार बोलाएका थिए। दुई नेताको छलफलमा गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री पौडेल पनि सहभागी भएका थिए।
ओलीले देउवाले भने अनुसार डा. पौडेललाई मंगलबार नै मन्त्रिपरिषद् बैठक राखेर नियुक्ति गर्ने वचन दिएपछि अर्थमन्त्रीले बैठकस्थलबाटै सिफारिस समितिमा रहेका पूर्वगभर्नर महाप्रसाद अधिकारी र डा. पोषराज पाण्डेलाई फोन गरी बैठक तय गरेका थिए।
नेपाल राष्ट्र बैंकमा गभर्नरको पद चैत २४ देखि रिक्त छ।