काठमाडौं। सेयर बजारले हाफ सेन्चुरी हानेको छ। लगातार एक साता गिरावटपछि नेप्से सूचक सोमबार १९.३० अंकले बढेकामा मंगलबार ४९.०९ अंकले उकालो लागेको हो।
नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति गर्न सिफारिस समिति र मन्त्रिपरिषद् बैठक बोलाइएको समाचार बाहिरिएपछि नेप्से बढेर २६७७.४५ विन्दुमा पुगेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटार बोलाएर उनले भने अनुसार नै गभर्नर नियुक्त गर्न सहमति जनाएका थिए।
देउवासँगको वार्तापछि ओलीले मंगलबार साँझ मन्त्रिपरिषद् बैठक राखेका छन्।
राष्ट्र बैंकमा गभर्नर नियुक्तिको विषय अनिश्चित हुँदा पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्तामा ओली-देउवाको वार्तापछि उत्साह देखिएको छ।
मंगलबार कारोबारमा आएका सबै सूचकले बजार बढाएका हुन्। होटल तथा पर्यटनको सूचक सर्वाधिक ३.४२ प्रतिशतले बढेको छ।
२२९ कम्पनीका लगानीकर्ताले कमाएका छन्। ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। १५ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ३.०९ प्रतिशतले घटेको छ।
बजारमा ७ अर्ब ३१ करोड २७ लाख रुपैयाँको सेयर किनबेच हुँदा राधी विद्युत कम्पनीको सर्वाधिक ४१ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यस्तै, ङादी ग्रुप पावरको ३६ करोड ८३ लाख र युनिभर्सल पावर कम्पनीको ३१ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।