काठमाडौं । विकास हाइड्रोपावरले आइपीओ निष्कासन गरेको छ। हाइड्रोपावरले मंगलबारदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुका लागि आइपीओ बिक्री खुलाएको हो।
कम्पनीले ९ करोड ९ लाख १० हजार १०० रुपैयाँ बराबरको ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको छ।
त्यस्तै, ३ करोड ५४ लाख ५५ हजार रुपैयाँको ३ लाख ५४ हजार ५५० कित्ता सेयर वैदेशिक रोजगारीमा गएका श्रमिकहरुका लागि छुट्याएको छ।
वैदेशिक रोजगारीमा गएकाहरुले अंकित मूल्य १०० रुपैयाँमा जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन्। त्यस्तै, आयोजना प्रभावितका लागि छिटोमा जेठ २० गते र ढिलोमा असार ४ सम्म आवेदन खुला रहने बिक्री प्रबन्धकले जनाएको छ।
गोरखाको धार्चे गाउँपालिकाको वडा नम्बर १,२,३,४,५,६ र ७ का स्थानीयलाई अति प्रभावित र प्रभावित गरेर सेयर छुट्याइएको छ।
कम्पनीले आफ्नो जारी पुँजी ९० करोड ९१ लाख रुपैयाँको ४९ प्रतिशतले हुन आउने ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्कासन अनुमति नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट पाएको छ।
आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका बाहेक हाइड्रोपावरले कर्मचारी र सामूहिक लगानी कोषका लागि सेयर सुरक्षित गरेपछि २९ लाख ४२ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्नेछ।
कम्पनीले चालु आर्थिक वर्ष पुससम्म १ करोड २८ लाख रुपैयाँ नाफामा रहेको विवरण सेबोनमा पेस गरेको छ। यो अवधिमा कम्पनीको नेटवर्थ १०२.७६ रुपैयाँ रहेको छ भने प्रति सेयर आम्दानी ५.३७ रुपैयाँ रहेको छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ।