काठमाडौं। व्यवसायी सीपी खेतानको लोटस वान इन्भेष्टमेन्टले सिंगापुरको बुटिक होटल डक्स्टन रिजर्भ खरिद गरेको छ।
८ करोड सिंगापुर डलर (८ अर्ब ४४ करोड रुपैयाँ)मा खेतानको कम्पनीले सिंगापुरको प्रतिष्ठित लक्जरी होटल निर्माता तथा प्रोपर्टी डेभलपर गर्चा समूहसँग होटल खरिद गरेको हो।
लोटस वान इन्भेष्टमेन्टले प्रति कोठा १६ लाख ३० हजार डलर (१७ करोड १९ लाख रुपैयाँ) हालेर होटल किनेको छ। होटलमा ४९ वटा कोठा छन्।
खेतानले लोटस वान इन्भेष्टमेन्ट सन् २०१६ मा स्थापना गरेका थिए। उनी मोहन खेतानका छोरा हुन्। उनै मोहनले खेतान समूहलाई नेपालको प्रतिष्ठित व्यापारिक घराना बनाएका थिए।
खेतान समूहले नेपालमा बैंकिङ, इन्स्योरेन्स, सूचना प्रविधि, ब्रुअरी, रियल इस्टेट, ऊर्जासहितका क्षेत्रमा लगानी गर्दै आएको छ।
‘यो एक्विजिसन रणनीतिक लगानी मात्र होइन,‘ लोटस वन इन्भेस्टमेन्टका निर्देशक निर्मल सिंहले भने, ‘हामी यसलाई गर्चा समूहसँग विशिष्ट आतिथ्य सेवाप्रति प्रतिबद्धताको आधारमा निर्माण गरिएको दीर्घकालीन साझेदारी रणनीतिको सुरुवातको रूपमा पनि हेर्छौं।’
डक्स्टन रिजर्भ मेरियट इन्टरनेसनल अटोग्राफ कलेक्सन ब्राण्डअन्तर्गत व्यवस्थापन हुँदै आएको छ।
सतिन्दर गर्चाले सन् २०१३ मा ५० करोड सिंगापुर डलरमा प्रोपर्टी खरिद गरेर बर्जया होटलका रुपमा सञ्चालन गरेका थिए। त्यतिबेला प्रति कोठा मूल्य १० लाख २० हजार डलर परेको थियो। गर्चाले होटललाई निरन्तर रिफर्बिस गरेर आकर्षक प्रोपर्टीमा रुपान्तरण गरेका थिए।
जसका लागि उनले बेलायती डिजाइनर अनौष्का हेम्पेललाई इन्टेरियर सुधारको जिम्मा दिएका थिए।
पछिल्लो समय खेतान समूहले गोर्खा ब्रुअरी र कार्ल्सबर्ग इण्डियामा रहेको सेयर बेचेको थियो। खेतान समूहसँग गोर्खा ब्रुअरीमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ४३ प्रतिशत तथा कार्ल्सबर्ग इन्डियामा ३३.३३ प्रतिशत सेयर स्वामित्व थियो। यो सबै सेयर खेतान समूहले एक खर्ब रुपैयाँमा बिक्री गर्न डेनमार्कको कार्ल्सबर्ग समूहसँग सम्झौता गरेको थियो।