काठमाडौं। सहकारी संस्थाको रकम अपचलन भएको विषयमा फिल्म ‘महाभोज’ बनेको छ। निर्देशक दिनेश राउतका अनुसार फिल्मले समसामयिक विषय टिपेको हो।
दरबारमार्गस्थित राइजिङ मलमा आइतबार ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा निर्देशक राउतले समाचारमा आएका घटनाक्रम र सहकारी पीडतको विषय बुझेर फिल्न तयार गरेको जानकारी दिए।
‘सहकारीमा एक परिवारले बचत गरेको रकम अपचलन हुँदा त्यसले परिवारसँगै समाजमा पार्ने असरलाई देखाएका छौं,’ उनले भने, ‘फिल्मलाई समाजको ऐना पनि भनिन्छ। त्यसैले अहिलेको समसामयिक विषयलाई प्रस्तुत गरेका हौं। यद्यपि यो सहकारीको विषयमा मात्र केन्द्रित छैन।’
विदेश र काठमाडौंबाट गाउँ फर्किएका र गाउँमै रहेका युवाको सोचलाई पनि फिल्ममा प्रस्तुत गरिएको छ। सार्वजनिक गरिएको ट्रेलरमा सहकारीको नाममा ठगिएका सर्वसाधारणको पीडा, राजनीतिक पहुँचको आडमा गरिएको दुरुपयोग र सामाजिक असमानताको कुरालाई सशक्त रूपमा उठाइएको उनले बताए।
फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतका कलाकारले अभिनय गरेका छन्।
ट्रेलरमा देखाइएझैँ, सहकारीमा जीवनभर रकम बचत गरेका मानिसले रकम फिर्ता नपाउँदा जीविकोपार्जनमा कठिनाइ भोग्नु परेको अभिनेत्री भुसालले बताइन। ‘म आफैं सहकारीपीडित हुँ, मैले यसका विरुद्धमा आवाज उठाएँ। आन्दोलन गरेँ तर न्याय अझै पाएकी छैन,’ उनले भनिन्, ‘यो फिल्म हामीजस्ता अन्यायमा परेका पीडितको आवाज बनेको छ। यसले एउटा बुलन्द आवाज उठान गर्छ भन्ने मैले विश्वास लिएकी छु।’
पत्रकार सम्मेलनमा सहभागी कलाकारले सहकारीसँग जोडिएको आफ्नो अनुभव सुनाएका थिए। विकास सुवेदीको कथा तथा पटकथामा तयार फिल्मलाई क्लकवर्क क्रियशन र पिक्चर फ्रेमले संयुक्त रूपमा निर्माण गरेको हो। ‘महाभोज’ यही जेठ १५ गतेबाट प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ। रासस