BIZMANDU
www.bizmandu.com

बौद्धमा नोरा फतेहीको ‘दिलबर दिलबर,’ सँगै नाचे नेपाली कलाकार र दर्शक

२०८२ जेठ ४

बौद्धमा नोरा फतेहीको ‘दिलबर दिलबर,’ सँगै नाचे नेपाली कलाकार र दर्शक
बौद्धमा नोरा फतेहीको ‘दिलबर दिलबर,’ सँगै नाचे नेपाली कलाकार र दर्शक

काठमाडौं। बलिउड अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेहीले शनिबार बौद्धस्थित हायात मैदानमा आयोजित ‘नोरा फतेही लाइभ इन नेपाल’ मा आफ्नो प्रस्तुति दिएकी छन्। पहिलोपटक नेपाल आएकी फतेहीले कार्यक्रममा नेपाली कला र आतिथ्यताको बारम्बार प्रशंसा गरिन्।

Tata
GBIME

उनले नेपाल र नेपालीबाट आफ्ना गीतले पाएको अपार माया आफ्ना लागि ऊर्जाको स्रोतसहित अविस्मरणीय रहेको बताइन। ‘नेपाली कलाकारहरूले मेरा गीतमा गर्नुहुने नृत्य प्रस्तुतिसँग राम्रोसँग परिचित छु र उहाँहरूका ‘डान्स क्लिप’हरू पनि हेर्ने गर्छु। मेरा केही नेपाली साथीहरू पनि छन्, मलाई नेपालबाट प्राप्त हुने मायाका बारेमा उहाँहरूले पनि भन्नुहुन्छ,’ उनले भनिन्।

प्रस्तुतिका क्रममा उनले अप्रत्याशित रूपमा नेपाली कलाकार सुशान्त खत्रीलाई मञ्चमा बोलाएर दर्शकलाई चकित पारिन्। उक्त कन्सर्टमा कलाकार खत्रीको आगमनबारे दर्शकसँगै आयोजक पनि बेखबर थिएँ।

‘मेरो नेपाली साथी जो, धेरै प्रतिभावान् छन्’ भन्दै फतेहीले कलाकार खत्रीलाई मञ्चमा स्वागत गरिन। दुवैले ‘गहरा समन्दर’ गीतमा आकर्षक नृत्य प्रस्तुत गर्दा ‘हुटिङ’ सहित दर्शकले ताली बजाएका थिए। यतिमात्र नभई सामाजिक सञ्जालमा आफ्ना श्रव्यदृश्य तयार पार्ने (कन्टेन्ट क्रिएटर आर्टिस्ट) गौरव सिटौलालाई दर्शककै भिडमा चिनेर फतेहीले मञ्चमा लगिन।

दुवैले ‘दिलबर दिलबर’ गीतमा प्रस्तुति दिए। फतेहीले डान्स गरेका गीतहरूमा आकर्षक र ऊर्जावान् प्रस्तुतिसहितको श्रव्यदृश्य तयार गरेर सामाजिक सञ्जालमार्फत सिटौलाले सार्वजनिक गर्दै आएका छन्। ‘म फतेहीको ठूलो प्रशंसक हुँ। मैले उहाँको हरेक गीतको नृत्यलाई मञ्च वा श्रव्यदृश्यमार्फत प्रस्तुत गरेको छु। आजसँगै नाच्न पाउँदा निकै उत्साहित छु,’ सिटौलाले भने।

आफ्नो २३ सदस्यीय नृत्य टोलीसँग करिब ४० मिनेटसम्म फतेहीले लोकप्रिय गीतमा ऊर्जावान् प्रस्तुति दिइन। उनी आफैंले गाएको ‘स्नेक डान्स’ बाट प्रस्तुतिको सुरुआत गर्दै ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’ जस्ता गीतहरूमा दर्शकलाई नचाइन।

‘नेपालमा दर्शकले देखाउनुभएको माया र आतिथ्यताले मलाई झनै ऊर्जा थपिएको छ। यहाँ मैले निकै माया पाएकी छु, यो सुन्दर देशका मानिस पनि सुन्दर छन्,’ फतेहीले भनिन्। शनिबार बिहान आफ्ना दुई सहयोगीसहित काठमाडौं आइपुगेकी फतेही आइतबार बिहान यूनाइटेड अरब इमिरेट्सतर्फ प्रस्थान गरेकी छन्।

काठमाडौंमा कार्यक्रम शिक्षाबाट वञ्चित बालबालिकाको सहयोगार्थ कार्यरत सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगका वर्ल्डवाइड फिल्म्सका देव मगर र मनु मिडियाका मनिष कार्कीले आयोजना गरेका हुन्। कार्यक्रममा फतेहीका साथै नेपाली कलाकारहरू दुर्गेश थापा, तेरिया मगर र समर्पण लामा र ‘भ्वाइस अफ नेपाल सिजन ६’ का उत्कृष्ट पाँच कलाकार प्रोसेस पाण्डे, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई तथा इन्द्रकला राईले पनि आआफ्नो प्रस्तुति दिएका थिए। रासस