BIZMANDU
www.bizmandu.com

रोनाल्डो विश्वको सर्वाधिक कमाउने खेलाडी, साढे ३७ अर्बमाथिको आम्दानी, मेस्सी भने पाँचौँमा

२०८२ जेठ ४

रोनाल्डो विश्वको सर्वाधिक कमाउने खेलाडी, साढे ३७ अर्बमाथिको आम्दानी, मेस्सी भने पाँचौँमा
Photo : Reuters/ Miami


पोर्चुगिच फुटबलर क्रिस्टियानो रोनाल्डो लगातार तेस्रो वर्ष पनि सर्वाधिक कमाइ गर्ने खेलाडीको शीर्षस्थानमा रहेका छन्। यससँगै उनी पाँच पटक सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीको शीर्ष स्थानमा रहेका हुन्।

Tata
GBIME

फोर्ब्सको रिपोर्ट अनुसार यो वर्ष उनले २७५ मिलियन अमेरिकी डलर (साढे ३७ अर्ब रुपैयाँमाथि) को कमाइ गरेका हुन्। यो भन्दा बढी एकै वर्षमा कमाइ गर्ने खेलाडी मात्रै फ्लोयड मेवेदर थिए। चर्चित बक्सर फ्लोयडले सन् २०१५ मा ३०० मिलियन अमेरिकी डलर (४१ अर्बमाथि) को कमाइ गरेका थिए। त्यस्तै, २०१८ मा २८५ मिलियन डलर (करिब ३९ अर्ब रुपैयाँ) कमाएका थिए।

रोनाल्डो सन् २०२२ मा प्रिमियर लिग छाडेर साउदी प्रो लिग क्लब अल नासर पुगेका थिए।

रोनाल्डोले मैदानमा खेलेर ३० अर्ब र बाँकी अन्य स्रोतबाट आर्जन गरेका हुन्। खेलबाहेक रोनाल्डोको टेक कम्पनी वुप, मेनुफ्याक्चरर भिस्टा तथा सप्लिमेन्ट ब्राण्ड बिओनिकमा लगानी छ। त्यस्तै अप्रिल महिनामा उनले लेखक तथा निर्देशक म्याथ्यु भौगनसँगको जोइन्ट भेन्चरमा फिल्म स्टुडियो खोलेका थिए।

त्यस्तै, सामाजिक संजालमा पनि उनी ठूला इन्फ्लुएन्सरमध्येमा पर्छन्। उनले हालै युट्युब च्यानल लञ्च गरेका थिए जसमा ७५ मिलियन सब्स्क्राइबर पुगिसकेका छन्। त्यस्तै इन्स्टाग्राममा उनका ९३९ सब्सक्राइबर छन्।

दोस्रो नम्बरमा स्टेफन, तेस्रोमा टाइसन र चौथोमा प्रेस्कट

यो सूचीको दोस्रो स्थानमा स्टेफन करी छन्। ३७ वर्षे बास्केटबल खेलाडी स्टेफन रोनाल्डो भन्दा भने धेरै पछाडि छन्। उनको कमाइ १५६ मिलियन अमेरिकी डलर (२१ अर्ब ४० करोड) रुपैयाँ छ। उनको मैदानको कमाइभन्दा बाहिरको कमाइ ठूलो छ। उनले ५६ मिलियन ‘फिल्ड’बाट कमाउँदा १०० मिलियन अफदी फिल्ड कमाउँछन्।

खेलबाहेक उनले अमेरिकी पूर्व प्रथम महिला मिचेल ओबामासँग प्लेज्जी हाइड्रेसन स्पोर्ट्स ड्रिंक लञ्च गरेका थिए। त्यसबाहेक निर्वाना वाटर पनि लगानी गरेका छन्। त्यस्तै, फिल्म तथा टीभी कम्पनी अनएनिमस मिडियासँग पनि सहकार्य गरेका छन्।

बक्सिङका टाइसन फुरे स्टेफनभन्दा १० मिलियन डलरले पछाडि छन्। बेलायतका टाइसनले खेलबाट १४० मिलियन र अन्य श्रोतबाट ६ मिलियन आम्दानी गर्दा कुल १४६ मिलियन अमेरिकी डलर (२० अर्ब रुपैयाँ) आम्दानी छ।

त्यस्तै ‘अमेरिकन फुटबल’ का खेलाडी डाड प्रिस्कट १८ अर्ब ८० करोडसहित सूचीको चौथो स्थानमा छन्। ३१ वर्षे यी अमेरिकी खेलाडीले मैदानबाट १३७ मिलियन डलर र मैदानबाहिरबाट १० मिलियन अमेरिकी डलरसहित १३७ मिलियन डलर (१८ अर्ब ८० करोड रुपैयाँ) कमाएका छन्। अमेरिकी फुटबलमा उनी सबैभन्दा राम्रो स्पोन्सरसिप भएका खेलाडी मध्येका एक हुन्। उनीसँग नाइकको जोर्डन ब्राण्ड, क्रन्च फिटनेस फ्रेन्चाइज लगायतको प्रायोजन छ।

अमेरिकामा जमेका मेस्सी पाँचौँ नम्बरमा

कुनै लिगमा आर्थिक रुपमा मेस्सीको जस्तो प्रभाव कमैमात्र परेको देख्न पाइन्छ। मेजर लिग सकर (एमएलएस) मा ‘मेस्सी प्रभाव’ को कारण राजस्व र टिम भ्यालुएसन उल्लेखनीय रूपमा बढेको छ। तर, लिगका लागि चिन्ताको कुरा के छ भने मेस्सीको इन्टर मियामीसँगको सम्झौता यसै वर्ष समाप्त हुँदैछ। यद्यपि, रिपोर्ट अनुसार मेस्सी टोलीमै बस्नेगरी सम्झौता विस्तारको वार्तामा छन्।

मेस्सीको यो वर्षको कमाइ १३५ मिलियन अमेरिकी डलर छ। यसमा उनले ६० मिलियन डलर मैदानमा खेलेर र बाँकी ७५ मिलियन डलर मैदानबाहिरबाट उनले हात पारेका छन्।

खेल मैदानबाहिर मेस्सीको आम्दानीको स्रोतमा उनका विभिन्न ब्रान्डहरूसँगको सहकार्य पनि छन्। तीमध्ये एडिडाससँगको सम्झौता विशेष छ। गत अक्टोबरमा फुटबल स्टार मेस्सी र गायक ब्याड बनीबीचको सहकार्यमा नयाँ जुत्ता सार्वजनिक गरेको थियो।

त्यसै गरी, मेस्सीले २०२४ को सेप्टेम्बरमा ‘५२५ रोसारियो’ नामक एक प्रोडक्सन कम्पनी स्थापना गरेका छन्।, जसले १२ वर्षे ‘लिओ’ पात्रलाई लिएर एक विज्ञान–कथानक एनिमेटेड शो बनाउने योजना सार्वजनिक गरिसकेको छ।

पछिल्लो वर्ष उनले ‘मेस प्लस’ नामक आफ्नो खेलकुद ड्रिंक्स ब्रान्ड सार्वजनिक गरेका थिए। तर अहिले त्यो ब्रान्ड चर्चित युट्युबर लोगन पलको ‘प्राइम हाइड्रेसन’सँग बोतलको डिजाइन मिल्दो भएको विषयमा कानुनी लडाइँमा फसेको छ।