नेपाली सडकमा एमजी नयाँ नाम होइन। नेपालमा विद्युतीय प्यासेन्ज भेहिकलको ‘इको सिस्टम’ तयार पार्न यो ब्रान्डको भूमिका महत्त्वपूर्ण थियो। कुनै समय इभी भनेकै एमजी भन्ने झै भएको थियो नेपाली सडकमा। एसयूभी सेगमेन्टमा यसले बजार करिब एकलौटी जस्तै बनाएको थियो – नयाँ प्लेयरहरू आउनुअघि। बेलायती ब्रान्ड मोरिस ग्यारेजेस (एमजी)ले स्थापनाको शताब्दी पार गरिसकेको छ अटो इन्ड्रस्टीमा। त्यसैले यस पटकको टेस्ट ड्राइभमा त्यो शताब्दी फ्लेबर आउने एमजी एस फाइभ इभी लिएर आएका छौं।
बेलायती कम्पनी एमजी सन् २००७ यता चिनिया बनेको छ। चीनको भए पनि यस गाडीले आफ्नो पुरानो लिगेसीलाई छाडेको छैन। प्रविधिको विकासमा चिनिया दृष्टिकोण र विरासत बेलायती। फरकखाले फ्युजन देखिन्छ यसमा। त्यसैले हामीले टेस्ट ड्राइभ गरिरहेको एस फाइभमा शताब्दीलाई सम्बोधन गरेर लोगो राखिएको छ।
सन् २०२४ मा स्थापित एमजीले दोस्रो विश्वयुद्धका बेलामा पनि प्यासेन्जर भेहिकल बनाउने काम छाडेन। त्यतिखेर युरोप र अमेरिकी कम्पनीहरु युद्ध केन्द्रित सामग्री उत्पादनमा केन्द्रित भएर साना कारका उत्पादन बन्द गरेर बसका थिए। त्यसैले यसको उत्पादन निरन्तरता र ब्रान्ड भ्यालु सधैं विशेष मानिन्छ।
सन् १९८० को दशकमा अस्टिन रोभर ग्रुपको वर्चश्वमा पुगेको यो कार कम्पनी २००५ मा चरम आर्थिक संकटबाट गुज्रियो। प्रतिफल यो ब्रान्ड बेलायतीबाट चिनिया बन्न पुग्यो। चीनमा आउनुको अर्थ पुरानै शैलीमा रहनु थिएन भन्ने पुष्टि भयो – इभीतर्फको रुपान्तरणले।
कम्पनी चीनमा आएपछि विद्युतीय भर्सनलाई प्राथमिकतामा राख्यो। चिनियाँ इभीले विश्वबजारमा प्रभाव फैलाइरहँदा सुरुवाती खेलाडी एमजी नै रह्यो। शताब्दी लामो उत्पादन यात्रामा एमजीको जेडएस इभीको यात्रालाई यही भर्सनले पूर्णविराम लगाएको छ।
अब एमजीले जेडएस भर्सनमा इभी उत्पादन गर्ने छैन। त्यसैले शताब्दीऔं सेगमेन्टको एमजी एस फाइभ केही विशेष बन्न पुगेको छ।
हामी काठमाडौं र ललितपुरका सहरी भागमा यस इभीलाई कुदायौं। प्रिमियम सेगमेन्टको अनुभूति हुने रहेछ यसमा ड्राइभ गर्दा। फिचर पर्याप्त लोड भएकाले प्रतिस्पर्धीलाई यसले बलियो चुनौती दिनसक्ने देखियो। तर सहरी क्षेत्रको यात्राले मात्र गाडी गजब छ भनिहाल्नु हतार हुनसक्छ। त्यसैले हामी मोडियौं गोदावरीतिर र समात्यौं फुल्चोकी जाने रुट। मार्बल डाँडाजाने बाटो भन्दा केही माथिसम्म गजबको पिच छ। त्यसपछि पोहरको बाढीको असर देख्न पाइन्छ। पहिरोले सडक क्षतविक्षेत। हामी केही माथिसम्म उकालियौं। केही अफरोड र केही कालोपत्रे बाटो हुँदै।
उकालो र टर्निङमा यसको क्षमतामा कुनै पनि कोणबाट प्रश्न गर्नुपर्ने देखिएन। यसमा ९९ किलोवाट क्षमताको मोटर छ जसले नेपालका उकालीओरालीमा सहजै तान्छ। तीनवटा मोडमा गाडी कुदाउन सकिन्छ इको, नर्मल र स्पोर्टस। रियर ह्विल ड्राइभ भएकाले यसले दिने पर्फर्मेन्स निक्कै गुणस्तरीय अनुभव हुने रहेछ।
सम्भवत: यस सेगमेन्ट मूल्य अनुसार रियर ह्विल ड्राइभमा यसखाले गाडी उपलब्ध छैन। त्यसमाथि जेडएस इभीका सबै फिचरका अलावा थप अपग्रेट भएका सुरक्षा लगायतका फिचरले यसलाई प्रिमियम बनाएको छ। सेन्सर त चिनियाँ इभीको विशेषता नै हुने भइहाल्यो। यसमा पनि पर्याप्त सुरक्षा सतर्कतालाई ध्यान दिइएको छ।
हामीले टेस्ट ड्राइभ गरेको कारमा ४९.१ किलोवाट क्षमताको ब्याट्री रहेछ जसले कम्तिमा पनि ३ सय ४० किलोमिटर दुरी तय गर्ने कम्पनीको दावी छ।
यो मिड रेन्जको एसयूभीलाई लिएर लामो यात्रामा जाने हो भने अब नेपालमा सम्भव छ, चार्जिङ इकोसिस्टमका कारण। फास्ट चार्जरबाट २४ मिनेटमा नै १० देखि ८० प्रतिशत ब्याट्री चार्ज हुने भएकाले समय बचत हुने नै भयो। पर्फर्मेन्ससँगै पछिल्लो समय इन्टेरियर र एक्स्टेरियरका आधारमा पनि कारको मूल्याङ्कन हुने गर्छ। फ्युचरिस्टिक एरोडाइनिमक लुक्सले गाडीलाई स्पोर्टी बनाएको छ। वाई आकारको टेललाइट यसको अर्को विशेषता हो।
इन्टेरियरलाई प्रिमियम बनाउन एमजीले कुनै कसर छाडेको छैन। इन्फोटेनमेन्टको टच स्क्रिन नै १५.६ इन्चको छ। यही ग्याजेटबाट गाडीका धेरै फिचर चलाउन सकिन्छ। इन्स्ट्रुमिन क्लस्टर नै १० इन्चको छ जहाँ अगाडिका अब्जेक्टहरु रिफ्लेक्टमात्र होइन त्यसको दुरी समेत देखिने रहेछ। क्यामरा र त्यसले दिने पिक्चर क्वालिटी अब्बल लाग्छ। रिभर्समा रफ्तार लिन ठूलो स्क्रन भएकाले अझ रमाइलो हुने रहेछ। ३६० डिग्री क्यामरा भएपछि त यात्रामा सम्भावित जोखिम नियन्त्रण गर्न सकिने भयो नै। २४ वटा त सुरक्षा फिचर रहेछ यसमा। पानारामिक सनरुप र प्यासेन्जर सिट आरामदायी लाग्यो।
रेयर ह्विल ड्राइभ अनि इभी प्लेटफर्ममा नै तयार भएकाले यो कारले बजारमा कडा प्रतिस्पर्धा दिने देखिन्छ। यसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ हो। यस्तै यसको अन्य भेरिएन्टको ४३ लाख ९९ हजार रुपैयाँ र ५४ लाख ९९ हजार रुपैयाँ छ। जसले यो सेगमेन्टका कारहरूसँग प्रतिस्पर्धा गर्छ।
एमजीको आफ्टर सेल सर्भिलाई अब्बल बनाउने हो भने एमजीको यस भर्सनले गेम चेन्जर भूमिका हासिल गर्न सक्छ। हाम्रो टेस्ट ड्राइभले यस गाडीलाई पर्फर्मेन्स, कम्फर्ट र प्राइसका आधारमा बलियो विकल्प रहेको ठम्याएको छ।