काठमाडौं। द्वन्द्वकालीन घटना छानबिनका लागि गठित दुई आयोगले पूर्णता पाएका छन्। ३४ महिनापछि आयोगले पदाधिकारी पाएको हो। २०७९ साउन १ गतेदेखि दुवै आयोग पदाधिकारीविहीन थिए।
मन्त्रिपरिषद्को बुधबारको बैठकले दुवै आयोगमा पदाधिकारी नियुक्त गरेको हो। पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा गठित सिफारिस समितिले पदाधिकारीको नाम सरकारलाई पठाएको थियो। सिफारिस अनुसार नियुक्त गरिएको हो।
यसअघि पदाधिकारीको नाममा विवाद भएपछि मिश्र नेतृत्वको कमिटी भंग भएको थियो। सरकारले पुनः पुरानै कमिटी ब्युँताएको थियो। दोस्रो प्रयासमा पदाधिकारी सिफारिस भएका हुन्।
निर्णय अनुसार सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा उच्च अदालतका पूर्व न्यायाधीश महेश थापा नियुक्त भएका छन्। सदस्यहरूमा अच्युत भण्डारी, टीकाप्रसाद ढकाल, पदमबहादुर शाही र कुमारी कौसल्या ओझा नियुक्त भएका छन्।
ढकाल पूर्व राष्ट्रपति विद्या भण्डारीका प्रेस सल्लाहकार हुन्।
यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग अध्यक्षको अध्यक्षमा पूर्व मुख्यसचिव लीलादेवी गड्तौला नियुक्त भएकी छन्।
सदस्यहरूमा गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल र विनीता नेपाली नियुक्त भएका छन्। योगी प्रतिनिधि सभाका पूर्व सचिव तथा कानुन व्यवसायी हुन्। थपलिया उच्च अदालतका अवकाशप्राप्त न्यायाधीश हुन्।