BIZMANDU
www.bizmandu.com

९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन पुरा

२०८२ बैशाख ३१

९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन पुरा
९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन पुरा


काठमाडौं । मर्स्याङ्दी नदीमा एम. ए.पावर प्रा. लि. ले निर्माण गर्ने ९० मेगावाटको मस्याङ्दी नदी अर्ध जलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैंक लिमिटेडको अगुवाईम लगानी सम्बन्धी सम्झौता भएको छ।

Tata
GBIME

गोरखाको पालुङटार नगरपालिका, लमजुङको राईनास नगरपालिका र तनहुँको भानु नगरपालिका भएर बग्ने नदीमा बन्ने आयोजना लगानी सम्झौता कार्यक्रममा एम. ए.पावर प्रा. लि.का अध्यक्ष अनुप आचार्य र कुमारी बैंक लिमिटेडका प्रमुख व्यवसाय अधिकृत क्षितिज खड्का उपस्थित थिए।

सो आयोजनामा कुमारी बैंकसँगै प्रभु बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सानिमा बैंक, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको १५ अर्ब १८ करोड ७५ लाख रुपैयाँ संयुक्त लगानीमा रहने गरि ऋण सम्झौता सम्पन्न भएको हो।

स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बराल हुनेछन्। साथै डोल्मा इम्पाक्ट फण्डले पनि कम्पनीमा संस्थापक सेयरको ४९ प्रतिशत सम्म स्वपुँजी लगानी गर्नेछन्।

यही समूहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेडमार्फत सेतीखोला जलविद्युत आयोजना २२ मे.वा.निर्माण कार्य अन्तिम चरणमा रहेको छ।

आयोजनाको नेपाल विद्युत प्राधिकरण सँग २०८० साल कार्तिक १ गते विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको थियो। व्यापारिक उत्पादन सुरु २०८६ साल बैशाख २२ गतेदेखि हुने जनाइएको छ।

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतीका लागि सम्बन्धित निकायमा अन्तिम चरणमा रहेको छ। आयोजनाबाट उत्पादित विद्युत् विद्युत गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल विद्युत प्राधिकरणको मार्किचोक सब–स्टेशनमा२२०/१३२ केभीमा जोडिनेछ।