काठमाडौं। सरकारी कार्यालयहरुको लेखा परीक्षण प्रतिवेदन तयार भएको छ।
महालेखापरीक्षकको कार्यालयले सरकारी कार्यालयहरुको गत आर्थिक वर्षको हिसाबकिताव लेखा परीक्षण गरी ६२औं वार्षिक प्रतिवेदन तयार पारेर बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ।
महालेखापरीक्षक तोयम रायाले शीतल निवास पुगेर प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदनले बेरुजुको आकार बढेको देखाएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ।
प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले आर्थिक अनुशासन कायम गर्न र वित्तीय उत्तरदायित्व अभिवृद्धि गर्न सार्वजनिक निकायका पदाधिकारी अझ बढी जिम्मेवार र जवाफदेही बन्न आवश्यक रहेको बताए।
‘सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण अवस्था हो। सुशासन कायम गराउन सरकारी कोष सञ्चालन गर्ने सम्बद्ध सबै पदाधिकारीलाई थप जिम्मेवार र जवाफदेही बनाउने सन्दर्भमा महालेखापरीक्षकको भूमिका महत्वपूर्ण हुन्छ,’ राष्ट्रपति पौडेलले भने, ‘सरकारी खर्च गर्दा प्रचलित कानुनको परिपालना एवं आर्थिक अनुशासनलाई अझ बढी ध्यान दिनुपर्ने आवश्यकता छ।’