BIZMANDU
www.bizmandu.com

माओवादीको प्रश्न : दुई तिहाइ बहुमतको बलियो सरकारले गभर्नर नियुक्त नगर्नुको कारण के हो?

२०८२ बैशाख ३१

माओवादीको प्रश्न : दुई तिहाइ बहुमतको बलियो सरकारले गभर्नर नियुक्त नगर्नुको कारण के हो?
माओवादीको प्रश्न : दुई तिहाइ बहुमतको बलियो सरकारले गभर्नर नियुक्त नगर्नुको कारण के हो?

काठमाडौं। प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले गभर्नर नियुक्तिमा ढिलाइ हुनुको कारणबारे सरकारसँग जवाफ मागेको छ।

Tata
GBIME
Nepal Life

प्रतिनिधि सभाको बुधबारको बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले गभर्नर नियुक्त नगर्नुको कारणबारे जवाफ मागेकी  हुन्।

‘दुई तिहाइ बहुमतको यति बलियो सरकारले गभर्नर नियुक्त नगर्नुको कारण के हो?,’ उनले प्रश्न गर्दै भनिन्, ‘सरकारमा रहेका दलको स्वार्थ नमिलेर गभर्नर नियुक्त हुन नसकेको जुन कुरा बाहिर आएको छ यसले राष्ट्रकै बेइज्जत भएको छ। त्यसैले सक्षम र योग्य व्यक्तिलाई गभर्नर नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराउँछु।’

बैठकमा राप्रपाकी सांसद रोशन कार्कीले गभर्नरको पदलाई सरकारले लिलामीमा राखेको आरोप लगाइन्। ‘सुनिन्छ राष्ट्र बैंकको गभर्नरको पद लिलामीमा चढेको छ रे। लिलामीको बढाबढमा ३ करोड रुपैयाँ नाघिसक्यो रे,’ उनले भनिन्।

सांसद कार्कीले कार्यबाहक गभर्नर नीलम ढुंगानालाई नै राष्ट्र बैंकको नेतृत्व दिन सरकारको ध्यानाकर्षण गराइन्। ‘विगतमा हामीले महिला राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख पाएका थियौं। उहाँहरुको कार्यकाल सफल थियो। त्यसैले कार्यबाहक गभर्नर नीलम ढुंगानालाई नै  राष्ट्र बैंकको नेतृत्व दिऔं। ५२ प्रतिशत महिलामाथि न्याय गरौं। योग्य र अयोग्य खोज्नतिर नलागौं,’ उनले भनिन्।

गभर्नरको पद गत चैत २४ गतेदेखि खाली छ।