BIZMANDU
www.bizmandu.com

‘प्रत्यक्ष वैदेशिक लगानीले कस्ट अफ क्यापिटलभन्दा बढी प्रतिफल खोज्छ, नेपालले त्यो डेलिभर गर्न सक्नुपर्छ’

२०८२ बैशाख ३१

‘प्रत्यक्ष वैदेशिक लगानीले कस्ट अफ क्यापिटलभन्दा बढी प्रतिफल खोज्छ, नेपालले त्यो डेलिभर गर्न सक्नुपर्छ’
‘प्रत्यक्ष वैदेशिक लगानीले कस्ट अफ क्यापिटलभन्दा बढी प्रतिफल खोज्छ, नेपालले त्यो डेलिभर गर्न सक्नुपर्छ’

काठमाडौं। नेपालको अर्थतन्त्र उदारीकरण तर्फ उन्मुख भएसँगै सूर्य नेपाल पनि लगानी लिएर नेपाल भित्रियो। त्यसबेलादेखि अहिलेसम्म सूर्य नेपाल ब्रान्डका रुपमा मात्रै स्थापित भएको छैन नेपालको पहिचान पनि बनेको छ। सूर्य नेपालका प्रबन्ध निर्देशक रविकुमार रायवरम नेपालमा सूर्य नेपालको व्यवसायको माग ‘बुलिस’ नै रहेको बताउँछन्।

Tata
GBIME
Nepal Life

सुरुवातदेखिको हालसम्म अवधिमा नेपाली बजार प्रति आफूहरुको आत्मविश्वास यथार्थमा बद्लिएको उनको मत छ। गत बिहीबार काठमाडौंमा भएको बिजमाण्डू प्रि-बजेट कन्फ्रेन्सको ‘बहुराष्ट्रिय लगानी : कहाँ चुक्यो नीति’ शीर्षक सेसनमा उनीसँग भएको प्रश्नोत्तरको सम्पादित अंश-

नेपाल आउनु तपाईंहरुका लागि ट्र्याप थियो? जब नेपालले सन् १९९० को दशकमा अर्थतन्त्रमा उदारीकरणको नीति लियो, त्यसपछि तपाईंहरु किन नेपालमा लगानी गर्न आउनु भयो? के कारणले तपाईंहरुलाई नेपाल आउन प्रोत्साहित गर्‍यो? 

सूर्य नेपाल सन् १९८४ मा नेपालमा स्थापना भयो। त्यसको केही समयपछि आइटीसी लगानीकर्ताका रुपमा सूर्य नेपालमा भित्रियो। जोसुकै लगानीकर्ताले कुनै पनि देशमा लगानी गर्नुको मुख्य कारण भनेको आर्थिक नै हुन्छ। नेपालले त्यतिबेला विदेशी लगानीकर्ताका लागि ठूलो अवसर प्रस्तुत गरेको थियो। नेपालको बजार क्रमश: विकास हुने तयारीमा थियो। उपभोग पनि बढ्ने क्रममै थियो। यो कथा भनेको कुनै पनि विकासउन्मुख अर्थतन्त्रको चरित्र हो। 

यही बजार हो जहाँ कस्ट अफ क्यापिटल वा डुइङ बिजेनस एकदमै सस्तो थियो। उदाहरणका लागि आजको दिनमा हामीले नेपालमा कुनै पनि परियोजना अघि बढाउँछौं भने कस्ट अफ इक्‍विटी १६ प्रतिशतसम्म कन्सिडर गर्छौं। त्यसमा कस्ट अफ कम्प्ल्यान्स थप्छौं भने कस्ट अफ क्यापिटल सजिलै १७ देखि १९ प्रतिशतसम्म पुग्छ। यो नै मुख्य कारण हो जसले नेपालमा लगानी भइरहेको छ वा छैन भनेर जनाउनलाई। 

नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको रुटबाट आउने कुनै पनि परियोजनाले अनिवार्यरुपमा कस्ट अफ क्यापिटल जुन १९ प्रतिशतसम्म छ त्योभन्दा बढी प्रतिफल खोज्छ। नेपालले त्यो डेलिभर गर्न सक्नुपर्छ। यो एकदमै चुनौतीपूर्ण परिस्थिति जस्तो लाग्छ।  

तपाईंहरु जब नेपाली बजारमा प्रवेश गर्नुभयो र अहिलेको अवस्थामा व्यवसायको ग्रोथ प्याटर्न कस्तो छ? सूर्य नेपालले यस अवधिमा व्यापारका अरु भेन्चर विस्तार गर्न कस्ता योजना अघि सार्दैछ? यो अवधिमा हासिल गरेका अनुभव कस्तो रह्यो?

हामी नेपालमा हाम्रो व्यवसायको माग बुलिस नै देख्छौं। यो अवधिमा नेपाली बजार प्रति हाम्रो आत्मविश्वास यथार्थमा बद्लिएको छ। सूर्य नेपालको ग्रोथ र नाफा नभने पनि हामी यहाँको सर्वाधिक ठूलो करदाता हौं। नेपालमा हाम्रा उत्पादनको खपत मात्रै यसको कारक होइन, भविष्यका सम्भावना पनि यसमा जोडिएको छ। योसँगै हामी नयाँ व्यापारमा पनि लगानी गर्दैछौं। सूर्य नेपालको फास्ट-मुभिङ कन्ज्युमर गुड्स (एफएमसीजी) एकदमै बढ्दै गएको छ।

त्यसैले हामी निरन्तर लगानी गरिरहेका छौं। सूर्य नेपालले अहिले तीन वटा उद्योग सञ्चालन गरिरहेको छ भने चौथो उद्योगका लागि जग्गा किनिसकेका छौं। अर्थतन्त्रका अस्थायी चुनौतीहरु जहाँ पनि हुन्छन्। बिजनेस साइकलमा यस्तो भइरहन्छ। नेपालको पनि आफ्नै बिजेनस चक्र हुन्छ। कहिले राम्रा वर्ष त कहिले नराम्रो वर्ष हुन्छन्। तर, दीर्घकालमा हेर्नुपर्दा समग्र भारतीय उपमहाद्वीपमा सम्भावना बढ्दै गइरहेको छ, लगानीकर्ताका लागि नेपाल पनि ठूलो सम्भावना बोकेको लगानी गन्तव्य हो। 

त्यसैगरी, हामीले होटल व्यवसायका लागि जग्गा खरिद गरिसकेका छौं। हस्पिटालिटी उद्योगमा पनि लगानी बढाउँदैछौं। होटल निर्माणलाई आवश्यक पर्ने जग्गा खरिद गरेका छौं तर, केही समस्या भोगिरहेका छौं। ६०० करोड रुपैयाँ लगानीको यो परियोजना पर्खाइमा छ। होटल निर्माणमा हामी प्रतिबद्ध छौं। त्यसैले यस किसिमका लगानी नेपालमा गर्न हामी आत्मविश्वास लिएर उभिएका छौं। 

इमानदारीपूर्वक भनिदिनुहोला, के कारणले तपाईंहरुलाई नेपालमा होटल खोल्न रोकिरहेको छ। किनभने तपाईंहरुको माउ कम्पनीले भारत बाहिर पनि ठूला तथा राम्रा होटल सञ्चालन गरिरहेको छ। नेपालमा सेवा उद्योग सबैभन्दा बढी विकास भइरहेको अवस्थामा मैले लामो समय भयो सूर्य नेपालले बुढानीलकण्ठ क्षेत्रमा होटल बनाउँदैछ भन्ने सुनेको। के कारणले रोकियो?

म त्यस विषयमा धेरै गहिराइमा जाँदिन। हाम्रो तर्फबाट हामी होटल निर्माण गर्न तयार छौं। जग्गा किनिसकेका छौं। जग्गासम्बन्धी नै केही विवाद देखिएको छ। करिब ७२ रोपनी जग्गा होटल निर्माणका लागि किनेका थियौं। तर, त्यसमध्ये ८ रोपनी जग्गा छोड्न बाध्य भएका छौं। त्यति हुँदा पनि हामीले होटल निर्माण केही साना विषयका कारण अगाडि बढाउन सकेका छैनौं।

होटल निर्माण गर्न अन्य आवश्यक कार्यहरु गरिरहेका छौं। यो काम एकदमै सुस्त बनेको छ। पैसा तिरेर किनेको जग्गा छोड्दा पनि काम सन्तोषजनक ढंगले सुरु गर्न सकेका छैनौं। त्यसका लागि हामी सरकारसँग मिलेर काम गरिरहेका छौं। उहाँहरुले सहयोग गर्न खोजिरहनु भएकै छ। 

अर्को कुरा भनेको सूर्य नेपाल वा अन्य कुनै कम्पनी नेपालको स्थानीय इकोसिस्टममा बाँच्न सिकेकाले नै सफल भएका हुन्। लोकल इकोसिस्टमबाट छुटिएर सफल हुन्छु भनेर आशा गर्न सकिंदैन। त्यसलाई छुट्याइयो भने लगानी गरिएला, ठूला पूर्वाधार बन्लान् तर, स्थानीय वा त्यस देशका बासिन्दाले त्यसलाई महत्त्व दिँदैनन्।

त्यसैले, हामीले सामाजिक प्राथमिकतालाई महत्त्व दिँदै केही निर्णय लिनुपर्छ। खालि सूर्य नेपालको आर्थिक र वित्तीय स्वार्थ मात्रै अगाडि बढाएर हुँदैन, सामाजिक पक्षलाई पनि महत्त्व दिएर अघि बढ्नुपर्छ। त्यसैको बलमा नेपालमा सफल भएको उदाहरण हामी आफैं छौं। 

सूर्य नेपालले धेरै राम्रो ब्राण्ड ‘जोन प्लेयर’ नेपाली बजारमा बेच्थ्यो। तर, बन्द भयो। किन बन्द हुन पुग्यो यो ब्राण्ड? अर्को भनेको तपाईं नेपाल-भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (निक्की)को उपाध्यक्ष हुनुहुन्छ, यो संस्थाले नेपाल र भारतबीचको व्यापारिक अवरोधलाई न्यूनीकरण गर्न के भूमिका खेल्न सक्छ? नेपालमा अन्य व्यावसायिक संगठनहरुसँगको सहकार्य कसरी अगाडि बढ्न सक्ला?  

लुगा उद्योग म आउनुभन्दा धेरै अघि थियो। मलाई लाग्छ कर नीतिका कारण त्यो बिजनेस सफल हुन सकेन जस्तो लाग्छ। सरकारको कर नीति स्वदेशी लुगा उद्योग स्थापना र सञ्चालन गर्न प्रोत्साहन गर्ने खालका थिएनन्। मलाई त्योभन्दा बढी थाहा भएन।

अर्को प्रश्नमा जाँदा निक्कीले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायतका संस्थासँग मिलेर काम गरिरहेकै छ। यी सबै संस्थाहरुमा टिममा बसेर काम गर्ने चलन छ। निक्की, एफएनसीसीआई वा सीएनआई कोही कसैसँग पनि व्यक्तिगत एजेण्डा छैन। यो धेरै राम्रो हो। उद्योगसम्बन्धी यी संस्थाहरु हातोमालो गर्दै हिँडिरहेका छन्। नेपालमा होस् वा भारतमा हामी मिलेरै आफ्ना एजेण्डा प्रस्तुत गरिरहेका हुन्छौं। 

नेपाल र भारतबीचको व्यापारिक अवस्था केलाउने हो भने विद्यमान अवसर हुन्। यसका साथै अन्य नयाँ अवसर पनि खोज्न सकिन्छ। सूचना प्रविधि एउटा हो। भारतको द ट्रेड एसोसिएसन अफ इन्डियन आइटी बीपीएम इन्डस्ट्री (नास्कम) सँग सहकार्य गरेर नेपाल ल्याउनुपर्छ। नेपालमा अवसरका सम्भावना उनीहरुलाई देखाउन सकिन्छ।

यस्तै, मेडिसिनल एण्ड एरोमेटिक प्लान्टको निर्यातमा भारतीय लगानी आकर्षित गर्न सकिन्छ। नेपालको मौलिक उत्पादन जसलाई विश्व बजारमा सोकेस गर्न सकिन्छ त्यसमा पनि अवसर र सम्भावना देखिन्छ। 

(वैशाख २५ गते बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्सअन्तर्गतको ‘बहुराष्ट्रिय लगानी : कहाँ चुक्यो नीति ‘ सत्रमा सूर्य नेपालका प्रबन्ध निर्देशक रविकुमार रायवरमसँगको संवादको सम्पादित अंश)