BIZMANDU
www.bizmandu.com

नेपाल-भारत उडानमा भारतीय कम्पनीले वर्चस्व बढाउँदै, नेपाली एयरलाइन्सको उपस्थिति भने न्यून

२०८२ बैशाख ३१

नेपाल-भारत उडानमा भारतीय कम्पनीले वर्चस्व बढाउँदै, नेपाली एयरलाइन्सको उपस्थिति भने न्यून
नेपाल-भारत उडानमा भारतीय कम्पनीले वर्चस्व बढाउँदै, नेपाली एयरलाइन्सको उपस्थिति भने न्यून


काठमाडौं। नेपाल-भारत नियमित व्यावसायिक उडानमा भारतीय वायुसेवा कम्पनीले आफ्नो वर्चस्व बढाउँदै लगेका छन्। भारतमा नेपाल वायुसेवा निगम र बुद्ध एयरले न्यून संख्यामा उडान गर्दै आएकामा भारतीय वायुसेवा कम्पनीले नेपालमा ७० वटा उडान गर्ने गरेका छन्।

Tata
GBIME
NLIC

भारतका थप कम्पनीले नेपालमा उडान गर्ने तयारी अगाडि बढाएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार भारतको बजेट एयरलाइन्स एयर इण्डिया एक्सप्रेसले करिब ३ सातापछि अर्थात् जुन १ बाट नेपालमा नियमित व्यावसायिक उडानको तयारी अगाडि बढाएको हो।

एयर इण्डिया एक्सप्रेसले सातामा १४ वटा उडान गर्ने योजना क्यानमा पेस गरेको छ। क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार यो वायुसेवाले मुम्बईबाट ७ र बैंगलोरबाट ७ वटा उडान गर्ने योजना क्यानमा पेस गरेको हो।

भारतको अर्को लो कस्ट वायुसेवा आकासा एयरले पनि काठमाडौंमा नियमित उडानका लागि प्रक्रिया सुरु गरिसकेको भूलले जानकारी दिए।

यो वायुसेवा कम्पनीले साताको २१ वटा नियमित व्यावसायिक उडानको योजना अगाडि बढाएको हो। तर, उडान मिति तय हुन बाँकी छ। आकाशाले नेपालमा उडानका लागि जीएसएको जिम्मेवारी सोसाइटी इन्टरनेसनललाई दिइसकेको छ।

एयर इण्डिया एक्सप्रेस र आकासा एयरले क्यानमा पेस गरेको योजनाअनुसार अनुमति पाए नेपालमा भारतीय वायुसेवा कम्पनीको साप्ताहिक उडान संख्या १०० नाघ्ने छ।

भारतीय वायुसेवा कम्पनीको प्रवेश नेपालमा एकपछि अर्को गरी बढ्दा भारतले भने नेपालबाट थप कम्पनीलाई उडानको अनुमति दिएको छैन।

नेपालबाट विभिन्न गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एयरलाइन्सलाई पटक-पटक प्रयास गर्दा पनि भारतले उडान अनुमति दिएको छैन। चीनको लगानी रहेका कारण हिमालयलाई भारतले उडान अनुमति दिन नमानेको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न सहरमा उडान योजना सार्वजनिक गरेको बुद्ध एयरले हालसम्म अनुमति पाएको छैन।

बुद्ध एयरले यो विमानस्थलबाट भारतको वनारस, दिल्ली र देहरादुनमा नियमित व्यावसायिक उडान गर्ने घोषणा २०७९ कात्तिकमै गरेको थियो। बुद्ध एयरले काठमाडौंबाट वनारसमा साताको ३ वटा उडान गर्दै आएको छ।

नेपाल वायुसेवा निगमले जहाज मर्मत सम्भारमा खेलाँचीले भारतमा साताको ७ भन्दा बढी उडान गर्न सकेको छैन। भारतीय कम्पनीको बर्चस्व तोड्नका लागि उडान बढाउनुपर्ने अवस्थामा निगमले जहाज थप्नै सकेको छैन। आफूसँग भएका जहाज निगमले सामान्य प्राविधिक गडबडीमा पनि लामो समय ग्राउण्डेड गर्दै आएको छ।

निगमले उडान संख्या बढाउन नसक्दा नेपाल-भारत हवाई भाडा अपेक्षित रुपमा घट्न सकेको छैन।

भारतबाट नेपालमा एयर इण्डिया र एयर इण्डिगोले नियमित व्यावसायिक उडान गर्दै आएकामा पछिल्लो समय स्पाइस जेट थपिएको छ। स्पाइसले दिल्ली-काठमाडौं उडान सातामा सात वटा गर्दै आएको छ।

नेपालमा एयर इण्डियाले साताको ३५ तथा एयर इण्डिगोले साताको २८ वटा उडान गर्दै आएका छन्।

नेपाल र भारतबीच ६१ वर्षअघि सन् १९६४ नोभेम्बर २६ मा द्विपक्षीय हवाई सम्झौता भएको थियो। सम्झौतामा नेपालबाट दिल्ली, मुम्बई, बैंगलोर, चेन्नई, हैदरावाद र कोलकातामा उडान गर्ने सकिने उल्लेख छ।