BIZMANDU
www.bizmandu.com

बंगलादेशमा स्टारलिंकलाई थप सहजीकरण, ९० दिनसम्म विदेशबाटै ब्यान्डविथ ल्याउन पाउने

२०८२ बैशाख ३०

बंगलादेशमा स्टारलिंकलाई थप सहजीकरण, ९० दिनसम्म विदेशबाटै ब्यान्डविथ ल्याउन पाउने
बंगलादेशमा स्टारलिंकलाई थप सहजीकरण, ९० दिनसम्म विदेशबाटै ब्यान्डविथ ल्याउन पाउने

काठमाडौं। बंगलादेशले धनाढ्य इलन मस्कको स्टारलिंकलाई ९० दिनसम्म देश बाहिरबाट ब्याण्डविथ आपूर्ति गर्न अनुमति दिएको छ।

Tata
GBIME

बंगलादेशको दूरसञ्चार क्षेत्रको नियामक बंगलादेश टेलिकम्युनिकेसन रेगुलेटरी कमिसन (बीटीआरसी)ले स्टारलिंकलाई ब्यान्डविथ व्यवस्थापनमा सहजीकरण गर्दै ९० दिन भित्रमा स्थानीय गेटवे स्थापना गर्ने हेतुले त्यतिञ्जेल विदेशबाट ब्यान्डविथ ल्याउन अनुमति दिएको हो।

‘९० दिनसम्म स्थानीय गेटवेबिनै स्टारलिंकलाई ब्यान्डविथ आपूर्ति गर्न स्वीकृति दिएका छौं,’ बीटीआरसीका अध्यक्ष इम्दादुल बारीले भने।

स्टारलिंकले बंगलादेशी सरकारले दिएको समयसीमा भित्र स्थानीय गेटवे स्थापना गर्न नसकेपछि ९० दिनको सुविधा दिइएको छ। गत मार्चमा बंगलादेशका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले तालुकदार निकायहरुलाई स्टारलिंकको व्यावसायिक सुरुआत ९० दिनभित्र गर्न निर्देशन दिएका थिए।

बंगलादेशको सेटलाइट इन्टरनेटसम्बन्धी निर्देशिकाअनुसार सेवा प्रदायकले इन्टरनेट ट्राफिक स्थानीय गेटवेमार्फत रुट गराउँदै अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे (आइआइजी)मा कनेक्ट गराउनुपर्ने व्यवस्था छ। कानूनी व्यवस्थाअनुसार तत्काल स्थानीय गेटवे तयार नभएकाले बंगलादेशी सरकारले ९० दिनका लागि सहजीकरण गरिदिएको छ।

अप्रिल २९ मा बीटीआरसीले स्टारलिंकलाई बंगलादेशमा सेटलाइट इन्टरनेट सेवाको अनुमतिपत्र जारी गरेको थियो। मार्च २५ मा आएर बीटीआरसीले ‘लाइसेन्सिङ गाइड्लाइन्स फर नन-जिओस्टेसनरी अर्बिट (एनजीएसओ) सेटलाइट सर्भिसेस् अपरेटर इन बंगलादेश’ जारी गरेको थियो। यी व्यवस्थाअनुसार नै स्टारलिंकले अनुमतिपत्रका लागि आवश्यक दस्तुर र कागजात बुझाउँदै लाइसेन्स माग गरेको थियो।

निवेदन दिएपछि दूरसञ्चार नियामकले सात सदस्यीय समिति गठन गर्दै स्टारलिंकको प्रस्ताव मूल्यांकन गरेको थियो। समितिले स्टारलिंकले दर्ता गरेको प्रस्ताव पूर्ण रहेको भन्दै लाइसेन्स जारी गर्न सिफारिस गरेको थियो।

योसँगै बीटीआरसीको दुई सदस्यीय टोलीलेसमेत स्टारलिंकको बंगलादेश कार्यालय निरीक्षण गर्दै लाइसेन्स जारी गर्न सुझाव दिएको थियो। त्यसपछि बीटीआरसीले औपाचरिकरुपमा स्टारलिंकलाई बंगलादेशमा सेटलाइट इन्टरनेट सञ्चालन गर्न अनुमति दिएको थियो।

स्टारलिंकले बंगलादेशमा स्थानीय कार्यालयसमेत खोलिसकेको छ।