BIZMANDU
www.bizmandu.com

खाद्यान्नको भाउ घट्दै, चना किलोमै ३० रुपैयाँ सस्तियो, चिनीको मूल्य भने व्यापारीले बढाए

२०८२ बैशाख २९

खाद्यान्नको भाउ घट्दै, चना किलोमै ३० रुपैयाँ सस्तियो,  चिनीको मूल्य भने व्यापारीले बढाए
खाद्यान्नको भाउ घट्दै, चना किलोमै ३० रुपैयाँ सस्तियो, चिनीको मूल्य भने व्यापारीले बढाए


काठमाडौं। बजारमा दैनिक उपभोग्य खाद्यवस्तुको मूल्य घट्न थालेको छ। चामल, तेल, दाल, चना लगायतको भाउ घट्दै गएको व्यापारीहरुले बताएका छन्।

Tata
GBIME

माग नै घटेका कारण खाद्यान्न सस्तिंदै गएको व्यापारीहरुको भनाइ छ।

गोर्खाली किराना स्टोरका संचालक कृष्ण भट्टका अनुसार सूर्यमुखी र भटमास तेल प्रति लिटर १० रुपैयाँ सस्तिएको छ। सूर्यमुखी तेल प्रति लिटर २४० रुपैयाँमा पाइन्छ।

उनका अनुसार रहर दाल प्रति केजी २० रुपैयाँ घटेर २३० रुपैयाँमा आइपुगेको छ। चनाको मूल्य किलोमा ३० रुपैयाँ घटेको छ। भट्टले चना प्रति किलो १४० रुपैयाँका दरले बिक्री गरिरहेको जानकारी दिए। अन्य दालमा मूल्य घटबढ भएको छैन।

भारत र पाकिस्तानको युद्धका कारण बढ्न थालेको चामलको भाउ फेरि घटेको छ। युद्धका कारण भारतले धान चामल निर्यातमा शुल्क लगाउने भयमा नेपालमा भाउ बढ्न थालेकामा अहिले पुरानै मूल्यमा पाइन थालेको छ।

नेपाल चामल, तेल, दाल उद्योग संघका सदस्य विभोर अग्रवालले भारतबाट हुने निर्यात नरोकिने र निर्यात शुल्क समेत नलाग्ने भएपछि चामल पहिलेकै मूल्यमा बिक्री गरिरहेको बताए।

उनका अनुसार हाल सोना मनसुली चामल प्रति ३० केजी बोराको उद्योग मूल्य १४५० देखि १५०० रुपैयाँ छ। यस्तै जिरा मसिनो २५ केजीको १९५० देखि १९७५ र लङ ग्रेन चामलको २८०० देखि २९०० रुपैयाँ छ। बजारमा ब्राण्ड अनुसार चामलको भाउ फरक फरक पर्छ। 

चिनीको उपभोक्ता मूल्य भने बढेर प्रति केजी ११० रुपैयाँ पुगेको छ। यसअघि उपभोक्ताले प्रति केजी १०५ देखि १०८ रुपैयाँका दरले चिनी किन्दै आएकामा उखुको क्रसिङ सकिएलगतै भाउ उकालो लागेको हो।