BIZMANDU
www.bizmandu.com

तीन महिनामा राजस्व छलीको ८२ करोड रुपैयाँ बराबरको सामान प्रहरीद्वारा बरामद

२०८२ बैशाख २९

तीन महिनामा राजस्व छलीको ८२ करोड रुपैयाँ बराबरको सामान प्रहरीद्वारा बरामद
तीन महिनामा राजस्व छलीको ८२ करोड रुपैयाँ बराबरको सामान प्रहरीद्वारा बरामद

काठमाडौं। नेपाल प्रहरीले तीन महिनामा ८२ करोड रुपैयाँ बराबरको राजस्व छली गरेर ल्याएका सामानहरू बरामद गरेको छ। माघदेखि चैतसम्म ८२ करोड ५८ लाख ९० हजार ८०९ रुपैयाँ बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ।

Tata
GBIME

प्रहरीले चलाएका विभिन्न अपरेसन, नियमित चेक जाँचको क्रममा सुन, चाँदी, हुण्डीको रकम, कपडा लगायत बरामद गरेको हो। यस्ता बरामदीमा पक्राउ परेकाहरुलाई कार्बाहीका लागि प्रहरीले सामानसँगै सम्बन्धित निकायहरूमा बुझाउने गरेको छ।

सबैभन्दा धेरै मूल्यको सामान काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतको टोली बरामद गरेको छ। ३६ करोड ५२ लाख ६० हजार ६१३ रुपैयाँको सामान बरामद गरेको हो। यही अवधिमा प्रहरीले काठमाडौंको टोखाबाट २५ करोड रुपैयाँको अवैध रूपमा ल्याएको विदेशी मुद्रा बरामद गरेको थियो।

त्यस्तै मधेश प्रदेश प्रहरी कार्यालयको टोलीले पनि  २४ करोड ४९ लाख १५ हजार ५०३ रुपैयाँको राजस्व छली गरेको सामान बरामद गरेको छ।

कोशी प्रदेश प्रहरीले ३ करोड ३३ लाख २० हजार ८२२ रुपैयाँ बराबरको सामान बरामद गरेको छ। सबैभन्दा कम कर्णाली प्रदेश प्रहरीले २० लाख २२ हजार ९६९ रुपैयाँको सामान बरामद गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरीले ४ करोड १८ लाख ३ हजार ७७७ रुपैयाँ र लुम्बिनी प्रदेश प्रहरीले ११ करोड ५० लाख ५० हजार १५५ रुपैयाँको अवैध सुन, चाँदी, मुद्रा लगायतको सामान बरामद गरेको प्रहरीले जानकारी दिएको छ।