काठमाडौं। कारखानाभित्र मेसिनहरुको चर्को आवाज। कामदारहरु सुरक्षा नियमहरु पालना गर्दै आआफ्ना काममा तल्लीन छन्। हावामा धातु र रसायनको हल्का गन्ध छ। कतै एसिडमा काम हुँदैछ त कतै वासआउट गरिँदै छन्। कतै इलेक्ट्रिक सर्ट सर्किट चेक हुँदै त कतै मेसिनमा चेकजाँच भइरहेका छन्।
एक इन्जिनियरले कारखानाको विभिन्न भागहरु देखाउन थाले। आगन्तुक टोलीले अवलोकन थाले कच्चा पदार्थ भण्डारण गर्ने क्षेत्रबाट। कच्चा पदार्थ लिड, लिड प्लेट, स्पन्जी लिड लगायतका सामग्रीहरु र सिसाको धुलोहरु थुपारिएका थिए।
इन्जिनियर सुन्दर मुर्तीले बताए -‘यी सिसाहरुलाई पगालेर ब्याट्रीका पाताहरु बनाइन्छ।’ त्यसपछि देखाइयो सल्फ्युरिक एसिडका विशाल ट्यांकरहरु, जुन ब्याट्रीमा इलेक्ट्रोलाइटको रुपमा प्रयोग गरिन्छ। यस्तै भिआरएलए प्रविधिमा काम भइरहेको छ। यो भनेको भल्भ रेगुलेटेड लिड एसिड प्रविधि हो। जसले गर्दा परम्परागत वेट-सेल ब्याट्रीहरू जस्तै नियमित रूपमा पानी भर्नु पर्दैन।
यी दृश्य हुन् हेटौंडामा रहेको लिड एसिड ब्याट्री उत्पादन गरिरहेको एसटीसी समूहको ब्याट्री फ्याक्ट्रीको। जसले ‘मेड इन नेपाल’ ब्याट्री बजारमा ल्याएको छ। यो उद्योगमा बन्ने ब्याट्री बाइक, स्कुटर र गाडीहरुमा इन्जिन स्टार्ट गर्न प्रयोग गरिन्छ। ब्याट्री इन्धन इन्जिनलाई मात्रै नभइ इभीलाई पनि चाहिन्छ।
टोलीले सिसालाई कसरी मेसिनमा हालेर विभिन्न आकारका पाताहरुमा परिणत गरिन्छ भन्ने प्रक्रिया अवलोकन पनि गर्यो। ती पाता तथा प्लेट्सहरुलाई विशेष रासायनिक घोलमा डुबाइन्छ, जसले गर्दा तिनीहरुमा रासायनिक प्रतिक्रिया गर्ने क्षमता विकास हुने रहेछ। यो प्रक्रिया एकदमै जटिल र सावधानीपूर्वक गर्नुपर्ने रहेछ।
त्यसपछि आगन्तुक टोली पुग्यो सेपरेटर उत्पादन गर्ने ठाउँमा। सेपरेटरले ब्याट्रीका सकारात्मक र नकारात्मक पाताहरुलाई एकआपसमा छुनबाट जोगाउने काम गर्ने ती इन्जिनियरले बताए। यो पातलो तर बलियो सामग्रीबाट बनेको हुने रहेछ।
ब्याट्री जडान गर्ने खण्डमा धेरै कामदारहरु मिलेर विभिन्न भागहरूलाई जोडिरहेका थिए। जस्तै पाता तथा प्लेट्सहरु, सेपरेटरहरु र अन्य आन्तरिक भागहरुलाई प्लास्टिकको खोलभित्र अर्थात ब्याट्रीको कन्टेनरमा राखिरहेका थिए। त्यसपछि त्यसमा इलेक्ट्रोलाइट भरिँदो रहेछ र ब्याट्रीलाई सिल गरिँदो रहेछ।
गुणस्तर परीक्षण गर्ने क्षेत्रमा प्रत्येक ब्याट्रीलाई विभिन्न जाँचहरुबाट पार गराइँदै थियो। भोल्टेज, करेन्ट र क्षमता जस्ता मापदण्डहरु जाँच भइरहेको थियो। ताकि बजारमा उच्च गुणस्तरका उत्पादनहरु मात्र पुग्न सकुन्। त्यहाँ हरेक मेसिनहरु रहेछन् जसले ब्याट्रीको सेफ्टी प्रोटोकललाई चेक गर्नु परोस्। यसले फेल भएको भएको ब्याट्री र पास भएको ब्याट्री अटोमेसन मेसिनले छुट्याउँछ।
त्यसपछि, ब्याट्रीको आयुको टेस्ट पनि गरिन्छ। यसका लागि एउटा मेसिन राखिएको छ। जहा दिनरात निरन्तर ब्याट्रीको आयु मेजर गर्ने टेस्टिङ हुन्छ।
अन्तिममा, अवलोकनकर्ताको टोली प्याकिङ खण्डमा पुग्यो, जहाँ तयार भएका ब्याट्रीहरुलाई कार्टुनमा प्याक गरेर ढुवानीका लागि तयार गरिँदै थियो। त्यहाँ उत्पादित ब्याट्रीहरुमा ‘मेड इन नेपाल’ लेखिएको छ।
५० करोड लगानी
यो उद्योग सेटअप गर्न लागत हालसम्म ५० करोड रुपैयाँ पुगेको एसटीसी ग्रुपका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेतीले बताए। उद्योगका लागि २१ रोपनी जग्गामा ४० वर्षका लागि लिजमा लिइएको छ। यो कम्पनीले सुरुवातमा युनिलिभरलाई स्याम्पुहरु उत्पादन गरेर दिने गर्थ्यो। अहिले भने ब्याट्री उत्पादनका लागि मेसिनहरु सेटअप गरेर काम गरिरहेको छ।
यहाँ आवश्यक मेसिनहरु चीन, जापान र भारतबाट ल्याइएको छ। अहिले दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे तथा जेनेरेटर गरी अटोमोबाइल्सका लागि यो उद्योगले ब्याट्री बनाउने र बजारमा पठाउने गरिरहेको छ। अहिले एसटीसी राइड र एसटीसी इनर्जी गरी दुई वटा ब्रान्ड नेममा ब्याट्री बिक्री भइरहेको छ।
उत्पादन मासिक ५० हजार वटा हाराहारी छ। तर यो प्लान्टमा १८ लाखसम्मको ब्याट्री उत्पादन गर्न सक्ने क्षमता रहेको उप्रेतीले सुनाए। नेपालमा कुनै समय ब्याट्रीको बजार २५ अर्ब रुपैयाँ हाराहारीको थियो। अहिले पनि १२ अर्ब जतिको छ। नेपालमा सवारीका ब्याट्रीको सबैभन्दा ठूलो बजार काठमाडौं हो।
उद्योगले उत्पादन गर्ने ब्याट्री २०० वटा डिलर नेटवर्कबाट देशभरि बिक्रीका लागि पुग्छ। हाल वर्षमा ३ देखि ४ लाख युनिट ब्याट्री बजारमा पठाउने उद्योगको लक्ष्य छ। सुरेन्द्र उप्रेती अहिले आयतितभन्दा ४० प्रतिशत सस्तोमा ब्याट्री उपलब्ध रहेको बताउँछन्। ‘हामीसँग उस्तै गुणस्तर र उनीहरुले दिएको भन्दा धेरै ३६ महिनासम्मको वारेन्टी पनि दिएका छौं,’ उनले भने।
उद्योगको योजना भारतमा निर्यातको पनि छ। यसका लागि दिल्लीमा सर्टिफिकेसनको प्रक्रिया भइरहेको छ। बीएसआइ र एआरआई सर्टिफिकेट पाइसकेको प्रबन्ध निर्देशक उप्रेतीले बताए। तर नेपाल स्ट्यान्डर्ड लागु गर्न भने नेपाल सरकारले नचाहेको उनको गुनासो छ।
‘दिन्छु भनेका छन् तर त्यसका लागि टेष्ट गर्नुपर्ने मेसिन भने हामीले किनेर दिनुपर्ने, सरकारसँग छैन,’ उनले भने। नेपालमा आयातका लागि छेकबार नभए पनि उत्पादित वस्तु निर्यातमा धेरै प्रकारका मापदण्डको झमेला रहेको उप्रेती बताउँँछन्।
कच्चा पदार्थ ८० प्रतिशत स्थानीय हुँदा आयतितको तुलनामा ४० प्रतिशत सस्तो
कम्पनीले अहिले ८० प्रतिशतसम्म कच्चा पदार्थ स्थानीयस्तरमा उपलब्ध प्रयोग गरेर ब्याट्री बनाइरहेको छ। उप्रेतीका अनुसार ब्याट्रीको कन्टेनर जस्ता कुरा मात्रै अहिले अन्य आउट सोर्स गरिएको छ। तर अन्य प्राय सबै कच्चा पदार्थमा लोकलाइजेसनमा काम भइरहेको उनको दाबी छ।
अहिले प्लान्टमा इन्जिनियरहरु सहित ७५ देखि ८० जनाको टिमले काम गरिरहेका छन्। प्लान्ट सबै अटोमेसनमा रहेका कारण कामदारको संख्या धेरै छैन।
अहिले ब्याट्रीको कन्टेनर नेपालमा बनाउन सम्भावना नभएको कारण त्यसमा लोकलाइजेसन गर्न नसकिएको उनी बताउँछन्। किनभने ब्याट्री केमिकललाई स्टोर गरेर राख्ने कन्टेनर बक्स भएकाले जस्तो पायो त्यस्तो बनाएर हुँदैन। यो बक्स एसिडले पनि नखाने गरी बनाइएको छ। जसलाई स्थानीयस्तरमा उत्पादन तत्काल सम्भव छैन। यसको लगानी धेरै हुन्छ।
लिड प्लेट्सहरु पनि यहीँ निर्माण हुन्छ। यसमा पोजेटिभ र नेगेटिभ्स प्लेट्स पनि आवश्यक पर्छ। ब्याट्रीमा मुख्य लिड र एसिड हुन्छ। त्यसलाई यहीँ कच्चा पदार्थ ल्याएर बनाइएको छ।
उनको टिममा अहिले भारतबाट इन्जिनियरहरु ल्याएर नेपाली कामदारलाई पनि रोजगारी दिइएको छ। यसले भ्यालु एडमा पनि सहयोग पुगेको छ। प्लान्ट हेडमा भारतमा एम्रोन ब्याट्री कम्पनीमा ३८ वर्ष काम गरका सुन्दर मुर्ती छन्। जसले गर्दा उनको प्लान्टबाट गुणस्तरीय प्रोडक्ट उत्पादनमा ठूलो सहयोग पुगेको उप्रेती बताउँछन्।
एसेम्बल उद्योगको साथ खोज्दै
यसैगरी, एसेम्बल उद्योगका लागि लोकलाइजेसनलाई ठुलो टेवा पुग्ने सुरेन्द्र उप्रेतीको भनाइ छ। हालसम्म कुनै पनि दुई पाङ्ग्रे एसेम्बल गर्ने उद्योगहरुले नेपालमा बनेको ब्याट्री लगाएका छैनन्।
सरकारले नेपालमा सवारी साधनको एसेम्बल उद्योग लगाउनेहरुले ३० प्रतिशतसम्म भ्यालु एड र १० प्रतिशत लोकलाइजेसनमा जानुपर्ने भनिएको छ। तर अहिले ६ वर्ष लामो समय पुगेका उद्योगहरुले समेत लोकलाइजेसन शुन्य प्रतिशत छ। जसमा बजाज टीभीएस लगायतले यसमा राम्रोसँग काम गर्न सकेका छैनन्।
जसले गर्दा सरकारले दिएको सहुलियत मात्रै लिने काम भएको देखिन्छ। उप्रेती भने यस्ता उद्योगहरुको साथ खोजिरहेका छन्। ‘एसेम्बल उद्योगले हाम्रो ब्याट्री लिएमा हाम्रो बजारमा पनि बढ्ने र स्ट्रोङ भन्दै जाने वातावरण हुन्छ,’ उनले भने, ‘हामी एक अर्कालाई साथ दिने उद्योगका रुपमा खडा हुनुपर्ने जस्तो मलाई लाग्छ।’
अब इभी ब्याट्री उत्पादनमा पनि जाने तयारी
एसटीसी ग्रुपका प्रबन्ध निर्देशक उप्रेतीले समयको माग अनुसार कम्पनी अघि बढ्ने बताए। विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै कम्पनीले अब इभीका लागि आवश्यक ब्याट्री पनि बनाउने तयारी थालेको छ।
‘हामीले समय अनुसार चल्नै पर्छ,’ उनले भने, ‘अबको दिनमा इभीको लागि आवश्यक ब्याट्रीको माग बढेको छ। त्यसलाई मध्यनजर गर्दै इभीको लागि पनि ब्याट्री उत्पादन गर्ने योजनाअनुसार पूर्वतयारीका काम भइरहेका छन्।’
उप्रेतीका अनुसार इभी ब्याट्री उत्पादनको लागि अहिले अध्ययन भइरहेको छ र चिनियाँ कम्पनीहरुसँग आवश्यक छलफल अगाडि बढिसकेको छ। ‘अहिले नै केही भन्न सक्ने अवस्थामा हामी छैनौं, अध्ययनको चरणमा छौं। कुन कसरी बनाउने भन्ने कुरामा चिनियाँहरुसँग एक चरण वार्ता भएर काम अगाडि बढिसकेको छ,’ उनले थपे।
एसटीसी ग्रुपले अबको एक देखि डेढ वर्षभित्रै इभी ब्याट्री उत्पादन सम्बन्धी सकारात्मक खबर दिने लक्ष्य राखेको छ। जसरी हाल जेनेरेटर र अटोमोबाइलका ब्याट्रीहरु उत्पादन भइरहेका छन्, त्यसैगरी इभी ब्याट्री उत्पादनका लागि पनि अटोमेसनमा काम गर्नुपर्ने हुन्छ। आवश्यक मेसिनरी र सेटअपको लागि तयारी भइरहेको छ।
ठूला ब्याट्रीको लागि प्लान्ट सेटअप गर्न ठूलो लगानी आवश्यक पर्ने भए पनि एसटीसी ग्रुप यसका लागि तयार रहेको उप्रेतीले बताए। ‘ठूला ब्याट्रीको लागि प्लान्ट बनाउन लागत पनि ठुलै लाग्छ। तर हामी लगानी गर्न तयार छौं। त्यसमा काम भइरहेको छ,’ उनले भने।