BIZMANDU
www.bizmandu.com

३० लाख लाइसेन्स सुरक्षण मुद्रण केन्द्रबाट छाप्ने तयारी, सञ्चार र यातायात मन्त्रालयबीच समझदारी

२०८२ बैशाख २८

३० लाख लाइसेन्स सुरक्षण मुद्रण केन्द्रबाट छाप्ने तयारी, सञ्चार र यातायात मन्त्रालयबीच समझदारी
छलफलका क्रममा सञ्चारमन्त्री गुरुङ काठमाडौं, २८ वैशाखः सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आइतबार भौतिक तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सम्बन्धित मन्त्रालयका सचिवहरुबीच सवारीसाधन अनुमपतिपत्र छपाई सञ्चार मन्त्रालयअन्र्तगत हुने विषयमा छलफल गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्बिरः मधु शाही/रासस


काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रमार्फत सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने तयारी थालेको छ।

Tata
GBIME
NLIC

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाबीच आइतबार भएको छलफलमा केन्द्रमार्फत सवारीचालक अनुमतिपत्र छाप्न अनौपचारिक सहमति भएको मन्त्रालयले जनाएको छ। छलफलले करिब ३० लाख लाइसेन्स छाप्न सक्ने निष्कर्ष निकालेको छ।

सञ्चारमन्त्री गुरुङले मुद्रण केन्द्रमार्फत लाइसेन्स छाप्ने विषय महत्त्वपूर्ण रहेको बताउँदै यसका लागि आवश्यक प्राविधिक जनशक्तिको प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका छन्। ‘मन्त्रालयको महत्त्वपूर्ण योजनामध्ये मुद्रण केन्द्रलाई नियमित सञ्चालन गर्नु पनि एक हो। यथाशीघ्र केन्द्रमार्फत छपाइको काम सुरुवात गर्नेछौं। त्यसका लागि आवश्यक पर्ने भौतिक र प्राविधिक तयारीमा लाग्नेछौं,’ मन्त्री गुरुङले भने।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले सञ्चार मन्त्रालयसँग सहकार्य गरेर सुरक्षण मुद्रण केन्द्रसँग लाइसेन्स छपाइसम्बन्धी लिखित सम्झौता गर्ने प्रतिबद्धता जनाएका छन्।

सञ्चार सचिव तथा सुरक्षण मुद्रण केन्द्रकी अध्यक्ष राधिका अर्यालका अनुसार छलफलमार्फत सञ्चार मन्त्रालयले केन्द्रमार्फत लाइसेन्स छाप्न सकिने निचोडमा पुगेको जानकारी दिइन। केन्द्रका कार्यकारी निर्देशक ढुंगानाले छलफलमा उठेका विषयलाई सञ्चालक समितिको बैठकमा प्रस्ताव पेस गरेर सम्झौतामा हस्ताक्षर गर्नेदेखि छाप्ने मिति तय गरिने जानकारी दिएका छन्। ‘कहिलेदेखि लाइसेन्स छाप्ने भन्ने मिति तय भएको छैन। तयारी भइरहेको छ,’ उनले भने।

सरकारले कुनै पनि नेपाली कागजात बाहिर छाप्नु नपर्ने भन्दै हुलाक टिकट, राहदानी, राष्ट्रिय परिचयपत्र लगायत सरकारी कागजपत्र स्वदेशमा छाप्ने तयारी गरिरहेको छ।

मन्त्री गुरुङले एक दुई दिनभित्र लाइसेन्स छाप्ने विषयमा यातायात मन्त्रालय र केन्द्रसँग सहमति गरी छपाइ थालिने स्पष्ट जानकारी गराएका छन्।

‘यही वर्षदेखि छपाइ सुरु गर्छौं। एक/दुई दिनमा लिखित सम्झौता गरेर बाँकी प्रक्रिया अगाडि बढाउँछौं,’ मन्त्री गुरुङले भने।