BIZMANDU
www.bizmandu.com

टीआइएमा पिकअप-ड्रपका लागि आउने सवारीसाधनलाई पार्किङ शुल्क नलगाउने तयारी

२०८२ बैशाख २७

टीआइएमा पिकअप-ड्रपका लागि आउने सवारीसाधनलाई पार्किङ शुल्क नलगाउने तयारी
टीआइएमा पिकअप-ड्रपका लागि आउने सवारीसाधनलाई पार्किङ शुल्क नलगाउने तयारी


काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पिकअप-ड्रपका लागि आउजाउ गर्ने सवारीसाधनलाई पार्किङ शुल्क नलिने गरी नयाँ कम्पनीसँग ठेक्का सम्झौताको तयारी गरेको छ।

Tata
GBIME
NLIC

विमानस्थल प्रमुख जगन्नाथ निरौलाले पछिल्लो समय पार्किङको विषयलाई लिएर यात्रुबाट गुनासो आएसँगै यात्रु लिन आउने र पुर्‍याउन आउने सवारीसाधनलाई १० मिनेटका लागि पार्किङ निशुल्क गर्न लागिएको बताए।

‘आन्तरिक र अन्तर्राष्ट्रिय उडान सेवा लिने यात्रुलाई लिन आउने र पुर्‍याउन आउने सवारीसाधनलाई मध्यनजर गर्दै हामीले नयाँ ठेक्का सम्झौतामै पार्किङको कुरालाई जोड दिएका छौँ,’ उनले भने,’ अब यात्रु ल्याउने र पुर्‍याउन आउने सवारीसाधनलाई १० मिनेट अवधिको पार्किङ शुल्क तिर्न नपर्ने व्यवस्था लागू गर्दैछौं। नयाँ कम्पनीको रुपमा एयरपोर्ट सर्भिस प्रोभाइडर प्रालि छनोट भएको छ। सम्झौता हुन बाँकी छ।’

उनका अनुसार मोटरसाइकलका लागि प्रति घण्टा ४० रुपैयाँ र चारपाङ्ग्रे सवारीसाधनका लागि प्रति घण्टा ८० रुपैयाँ शुल्क लिइँदै आएको छ। उनले विमानस्थल जस्तो प्रिमियम ठाउँमा पनि सुपथ शुल्कमा सेवा दिइँदै आएको जानकारी दिए।

यस अगाडि देशप्रेम प्रालिले १३ करोड रुपैयाँमा ३ वर्षका लागि पार्किङको ठेक्का पाएको थियो। यो पटक १८ करोड रुपैयाँमा ३ वर्षका लागि एयरपोर्ट सर्भिस प्रोभाइडरलाई ठेक्का दिइएको उनले जानकारी दिए। कम्पनीसँग ठेक्का सम्झौता हुन बाँकी नै छ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ हेलिकोप्टर र हवाईजहाजमार्फत ४०० बढी उडान अवतरण र अन्तर्राष्ट्रियतर्फ ११० उडान अवतरण हुँदै आएका छन्। दुवैतर्फ गरेर दैनिक करिब ३१ हजार यात्रुले हवाई सेवा लिँदै आएका छन्।