BIZMANDU
www.bizmandu.com

भारत-पाकिस्तान युद्धको असर क्रिकेटमा : आईपीएल स्थगित, पीएसएल यूएईमा

२०८२ बैशाख २६

भारत-पाकिस्तान युद्धको असर क्रिकेटमा : आईपीएल स्थगित, पीएसएल यूएईमा
भारत-पाकिस्तान युद्धको असर क्रिकेटमा : आईपीएल स्थगित, पीएसएल यूएईमा


काठमाडौं । भारत र पाकिस्तान हाल युद्धमा छन्। दुवै देश एकअर्का विरुद्ध चर्को एयर स्ट्राइक गरिरहेका छन्। यी दुई देशबीचको चर्किएको युद्धले राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रसँगसँगै खेलकुद क्षेत्रमा पनि प्रभाव परेको छ।

Tata
GBIME
NLIC

क्रिकेट खेललाई केन्द्र राख्ने यी दुई देशमा हाल फ्रेन्चाइज लिगको माहोल छ। भारतमा इण्डियन प्रिमियर लिग (आईपीएल) चलिरहेको छ भने पाकिस्तानमा पाकिस्तान सुपर लिग (पीएसएल) चलिरहेको छ। यी दुई देशबीचको द्वन्दले यी लिगमा प्रत्यक्ष प्रभाव पार्न थालेको छ।

आईपीएल ‘सस्पेन्ड’

बिहीबार आईपीएलमा पञ्जाव किंग्स र दिल्ली क्यापिटल्स बीचको खेल थियो। हिमाञ्चल प्रदेश क्रिकेट स्टेडियम धर्मशालामा हुनुपर्ने उक्त खेल भारत र पाकिस्तान बीचको बढ्दो तनावकै कारण रोकियो। देशभर हवाई आक्रमण भए कसरी बाँच्ने भन्ने सिकाउन मक ड्रिल चलिरहँदा मैदानको फल्ड लाइट निभाइएको थियो।

यो क्रिकेट भेन्यू पठानकोटबाट १०० किलोमिटर भित्रको क्षेत्रमा पर्छ। जहाँ बिहीवार राति दुवै पक्षबीच गोलीवारी भएको थियो।

विश्वकै ठूलो क्रिकेट फ्रेन्चाइज लिगमा पर्ने आईपीएलमा विश्वभरबाट खेलाडीहरु खेल्न आउँछन्। त्यस्तै लिग चरणबाटै रंगशाला दर्शकहरु भरिने गर्छन्। अब भने यो लिग तत्कालका लागि रोकिने भएको छ।

‘हामीले अनिश्चितकालका लागि आईपीएल स्थगित गर्ने निर्णय गरेका छौं। खेलाडीहरूको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो। त्यसैले हामीले अहिलेलाई प्रतियोगिता रोक्ने निर्णय गरेका छौं। प्रतियोगिता कहिले र कसरी पुनः सुरु गर्न सकिन्छ भन्ने बारेमा हामी पछि निर्णय गर्नेछौं। अहिले राष्ट्रिय हित सर्वोपरी छ,’ बीसीसीआई श्रोतको हवालादिँदै हिन्दुस्तान टाइम्सले लेखेको छ।

शुक्रबार हिन्दुस्तान टाइम्सको एक रिपोर्ट बमोजिम भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल हाललाई स्थगित गर्ने तयारी गरेको जनाएको हो।

पीएसएल यूएई पुग्ने चर्चा

अर्कोतर्फ पीएसएल भने यूएईमा खेलाउने तयारी सुरु गरिएको छ। इएसपीएनको रिपोर्ट बमोजिम जारी संस्करणका बाँकी खेल यूएईमा खेलाउने तयारी गरिएको हो। पाकिस्तान क्रिकेट बोर्डले यूएईमा हुने खेलतालिका चाँडै सार्वजनिक गर्ने जनाएको छ।

बिहीबार कराँची किंग्स र पेशेवर जल्मी रावलपिण्डीमा खेल्ने तालिका थियो। पीसीबीको आकस्मिक बसेको बैठकले यो खेललाई पछि सार्दै बाँकी खेल यूएईमा खेलाउने निर्णय गरेको हो। पीएसएलमा रहेका विदेशी खेलाडी तत्काल यूएई जाने तयारी रहेको बताइएको छ। भारतले कराँचीसम्मै आक्रमण गरेको छ।

विदेशी खेलाडीको सुरक्षा चासो, नजिकबाट हेर्दै अन्य देश

आईपीएल र पीएसएलमा खेल्ने खेलाडी आयोजक देशसँगै बेलायत, अस्ट्रेलिया, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इण्डिज लगायतका छन्। भारत र पाकिस्तान आमनेसामने भएको स्थितिमा ती देशहरुले आफ्ना खेलाडीको सुरक्षा चासो नजिकबाट लिइरहेको बताएका छन्।

क्रिकेट वेस्ट इण्डिजले पीएसएल र आईपीएल खेलिरहेका खेलाडीको सुरक्षालाई नजिकबाट हेरिरहेको बताएको छ।

‘क्रिकेट वेस्ट इन्डिजले यस क्षेत्रमा हालैका सैन्य कारबाहीहरू पछि भारत र पाकिस्तान बीच बढ्दो स्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

वेस्ट इण्डिजका ८ खेलाडी आईपीएलमा र ५ खेलाडी पीएसएलमा छन्। त्यस्तै अस्ट्रेलिया, न्युजिल्याण्ड, दक्षिण अफ्रिकालगायतका देशले पनि सुरक्षा चासोलाई लिएर विज्ञप्ति निकालेका छन्।