काठमाडौं । सत्ता राजनीतिमा तीन नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डकै हालिमुहाली हुन थालेको धेरै भयो। उनीहरु नै सरकारको वरिपरि हुँदा युवाहरु भने नयाँ अनुहार आउनुपर्ने माग गरिरहेका छन्। उनीहरु प्रति जनआक्रोश पनि बढ्दो छ।
सत्तामात्र होइन पार्टी नेतृत्व पनि नेपाली कांग्रेसका सभापति देउवा, एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्डकै कब्जामा देखिन्छ।
कतिपयले पार्टीको विधानका कारण दलको नेतृत्वमा युवा पुस्ताका नेताहरु पुग्न नसेको बताउँछन्। पार्टीमा गरेको योगदान, शीर्ष स्थान, लोकप्रियतादेखि सबै विषय हेर्दा युवाअवस्था पार गरेपछिमात्र नेतृत्वमा पुग्ने अवस्था देखिन्छ। यी विषयलाई थोरै मलजल विधानले पनि गरेको आरोप नेताहरु लगाउँछन्।
नेतृत्वमा युवालाई मौकाबारे के छ तीन दलको विधानमा?
दलको विधान हेर्दा युवालाई नेतृत्वमा पुग्न कुनै छेकबार गरेको देखिन्न। कांग्रेस विधानले ३४ वर्ष पुगेका कुनै पनि नेपाली नागरिकलाई दलको सभापति बन्ने अवसर दिन्छ। अहिलेका सभापति देउवा ७८ वर्ष पुगेका छन्। उनी पहिलोपटक सभापति बन्दा ७४ वर्ष पुगेका थिए।
कांग्रेसको सदस्य बन्न १८ वर्ष उमेर पुगेको हुनुपर्छ। सदस्य बनेको एक वर्षपछि क्रियाशील सदस्य बन्न सक्ने व्यवस्था छ। क्रियाशील सदस्य भएको ४ वर्षपछि महाधिवेशन प्रतिनिधि बन्न सक्छन्। कांग्रेसमा हरेक ४ वर्षमा महाधिवेशन हुन्छ।
सभापति बन्न कम्तीमा १५ वर्ष निरन्तर क्रियाशील सदस्य हुनैपर्छ। यसरी हेर्दा १८ वर्षमै कांग्रेसको सदस्य बनेमा ३४ वर्षमा कांग्रेस सभापतिको उम्मेदवार बन्न सकिन्छ।
यता एमाले र माओवादीमा भने अध्यक्ष बन्न ३९ वर्ष पुग्नुपर्छ। एमालेका अध्यक्ष ओली अहिले ७३ वर्ष पुगे। २०७१ असारमा सम्पन्न नवौं महाधिवेशनदेखि ओली एमालेको अध्यक्ष छन्। एमालेको विधानअनुसार हरेक ५ वर्षमा महाधिवेशन हुनुपर्छ। तर ओलीले एकैपटक २०७८ मंसिरमा दशौं अधिवेशन गरे। पहिलोपटक अध्यक्ष हुँदा ओली ६० वर्षका थिए।
एमालेको सदस्य बन्न १८ वर्ष उमेर पुगेको हुनुपर्छ। राष्ट्रिय महाधिवेशन प्रतिनिधि बन्न भने १० वर्ष पार्टी सदस्य भएर काम गरेको हुनुपर्न। महिला दलित आदिवासीको हकमा केही घटाएर ७ वर्ष काम गरेको हुनुपर्ने विधानमा उल्लेख छ।
केन्द्रीय कमिटीको पदाधिकारी, स्थायी कमिटि सदस्य बन्न र पोलिटब्युरो सदस्य बन्न केन्द्रीय कमिटीमा एक वर्ष काम गरेको हुनुपर्छ। यसैगरी केन्द्रीय कमिटीमा आउन १० वर्ष पार्टी सदस्य भएर काम गरेको हुनुपर्ने व्यवस्था छ। यसरी हेर्दा एमाले अध्यक्ष बन्न उमेरले ३९ वर्ष पुगेको हुनुपर्ने वा पार्टीमा २१ वर्ष सेवा गरेको हुनुपर्छ।
माओवादी अध्यक्ष बन्न पनि एमालेकै शैलीको विधान छ। तर प्रचण्ड २०५१ देखि निरन्तर अध्यक्ष छन्। प्रचण्ड हाल ७० वर्ष पुगेका छन्। उनले माओवादीको कमान सम्हालेको ३१ वर्ष पुगिसकेको छ।
यसरी हेर्दा सबैभन्दा लोकतन्त्र नेपाली कांग्रेसमा देखिन्छ। यद्यपि, कांग्रेस सभापति प्रत्यक्ष रुपमा चुनिनुपर्ने बताउँछन् कांग्रेस महामन्त्री गगन थापा।
‘पार्टीको विधान हामीले संशोधन गर्नुपर्छ। कांग्रेसको सभापति विभिन्न तह पार गरेर आउनुपर्छ। अब त्यस्तो गर्न हुन्न। कांग्रेसको सभापति प्रत्यक्ष रुपमा कार्यकर्ताबाट चुनिनुपर्छ। त्यसो गर्दा कुनै गुट पनि हुँदैन,’ थापाले भने।
एमालेमा संगठित सदस्य लिन नै निकै कठिन व्यवस्था रहेकोले त्यो परिवर्तन गर्नुपर्ने बताउँछन् पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ।
‘संगठित सदस्यता लिन दुई जना संगठित सदस्यको सिफारिस चाहिन्छ। यो अलि कडा भयो, त्यसैले निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्छ भन्ने मेरो मान्यता हो। म यो भनिरहेको छु पनि,’ एमाले स्थायी कमिटी सदस्य तामाङले भने।
एमालेले युवाहरुलाई ठाउँ दिनुपर्छ भन्दै कार्यविधि बनारहेको छ। केन्द्रीय कमिटिमा १० प्रतिशत, प्रदेशमा १५ प्रतिशत, पालिकामा २५ प्रतिशत र वडामा ३३ प्रतिशत ४० वर्ष मुनिका अनिवार्य हुनुपर्ने प्रावधान थप्ने तयारी एमालेको छ। तर योगदान र सिनियरलाई प्राथमिकता दिँदा युवाले ठाउँ नपाएको बताउँछन् तामाङ।
‘पार्टीमा युवालाई रोक्नैपर्छ भन्ने त हुँदैन। तर योगदानको आधारमा सिनियरलाई प्राथमिकता दिउँ भन्ने हुन्छ। सदस्यता लिएको कति भयो भन्ने हुन्छ। प्रतिनिधिको मापदण्ड लेखेको हून्छ,’ तामाङले भने।
नेपाली कांग्रेसमा कयौं केबी गुरुङ, गोपालमान श्रेष्ठलगायत नेताहरु पार्टी राजनीतिबाट किनारा लाग्दा पनि कम्युनिस्ट पार्टीमा भने नेतृत्वविरुद्ध धावा बोल्नेमात्र पाखा लागेका छन्। यसको पछिल्लो उदाहरण हो भीम रावल। ओलीसँग नेतृत्वमा प्रतिस्पर्धा गरेकै कारण रावलले एमालेबाट लगभग हातै धुनुपरेको अवस्था छ। माधव नेपाल र झलनाथ खनालले मुल घर छाड्दा वामदेव गाैतम पनि अलपत्र परेका छन्।
‘स्वतन्त्रपूर्वक निर्णय गर्न हतोत्साही बनाएको छ। प्रतिस्पर्धामा अनुदार छ। कुनै नेताको पछि लाग्दा भोलि के होला भन्ने प्रवृत्ति छ। भोलि अप्ठेरो पर्छ कि भन्ने हुन्छ नि,’ एमालेका एक पदाधिकारीले भने, ‘आन्तारिक प्रतिस्पर्धामा गुटबन्दी छ। माथिल्लो नेतृत्वको फेभरमा जिताउने भन्ने हुन्छ। सहमतिको नाममा माथिबाटै टिपेर नेतृत्व दिन्छ। प्रेस चौतारीमा त्यही गरियो।’
ती पदाधिकारीका अनुसार कुनै नेतामा ओलीसँग लड्नसक्ने आँट देखिँदैन। ‘ओलीविरुद्ध गुट बनाएर जान सक्ने अवस्था छैन। नेकपामा भएकाहरु माधव नेपाल, झलनाथ खनालले केपीसँग लड्न सक्दैनन् भनेर नै नयाँ पार्टी बनाएका हुन्। त्यो आँट कसैमा देखिन्न एमालेमा,’ उनले भने।
एमालेमा झैं माओवादीमा पनि प्रचण्डविरुद्ध बोल्न खोज्ने नेताहरु राजनीतिबाटै पलायन भएका छन्। डा बाबुराम भट्टराई, मोहन वैद्य, गोपाल किराती, लोकेन्द्र मगर, नेत्रबहादुर चन्द विप्लव माओवादीको मुल राजनीतिबाट टाढा भइसकेका छन्।
नेतृत्व आफू अनुकुल व्याख्या, स्वार्थ केन्द्रित
पूर्वराजाको पक्षमा जनता नरहेको तर व्यवस्थाविरुद्ध भने जनताको चर्को आक्रोश रहेकोले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले मनोविज्ञान बुझ्न आवश्यक रहेको राजनीतिक विश्लेषकहरु बताउँछन्।
‘संसदीय पार्टीमा टेस्ट नभएको नेतृत्व आउनुपर्यो। बासी नेता म्युजिकल चेयरमा घुमेर बस्न भएन,’ प्राध्यापक कृष्ण पोखरेल भन्छन्।
यसका लागि दोस्रो पुस्ताका नेताहरूले पनि आँट गर्न सक्नुपर्ने बताउँछन् उनी। ‘नेतृत्व परिवर्तन हुनुपर्छ भन्नेहरुबीच पनि पार्टीमा ध्रुवीकरण हुनुपर्छ। अहिलेका शीर्ष नेतालाई सल्लाहकारमा लगेर आफूले पार्टी हाँक्ने आँट गर्नुपर्छ,’ प्राध्यापक पोखरेल भन्छन्।
तर ध्रुवीकरण गर्नेहरु विचार भन्दा पनि स्वार्थ मिलेरमात्र अघि बढिरहेकोले राजनीतिलाई आफू अनुकुल बनाइएको नेताहरु बताउँछन्।
‘अहिले एमाले र कांग्रेसको सरकार छ। यो विचार मिलेर हैन। बाहिर राष्ट्रिय हितको लागि भन्न तर्क क्रिएट गरेर आफू अनुकुलको सरकार बनाएको हो। आफू अनुकुल तर्क बनाइन्छ। स्वार्थमा आधारित राजनीतिका कारण विचार मिल्नेहरु एक हुन सकिरहेका छैनन्,’ पूर्वमन्त्री तामाङले भने।