काठमाडौं। कर्पोरेट कानुन व्यवसायी अनुपराज उप्रेतीले बजेटमा राजस्व प्रक्षेपण धेरै गर्दा व्यवसायको योजना बनाउन समस्या भएको बताएका छन्।
बिजमाण्डूले बिहीबार आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्सको दोस्रो सत्र नेपालको कर प्रणाली र नीतिगत व्यवस्थाबारे चर्चा ‘कुशल कर व्यवस्थापन : आर्थिक वृद्धिको यात्रा’ विषयक सेसनमा बोल्दै उनले वास्तविकताभन्दा बाहिर गएर राजस्वको प्रक्षेपण गर्नुको प्रभाव व्यवसायदेखि कर संकलनमा समेत परेको बताएका छन्।
‘राजस्वको प्रक्षेपण नै असाध्यै अवैज्ञानिक छ। जति पनि प्रक्षेपण गर्ने तर त्यसको जवाफदेही हुन नपर्ने समस्या छ,’ उनले भने।
नेपालको कर कानुन उत्कृष्ट भए पनि कार्यान्वयन नहुँदा समस्या भएको पनि उनले बताए। ‘यसले गर्दा राजस्वको प्रक्षेपण गर्ने तरिका नै बदलेर वैज्ञानिक बनाउन जरुरी छ,’ उनले भने।
प्राइभेट इक्युटी फन्डमा सरकारको ध्यानै नगएको उनले बताए। ‘स्टार्टअपलाई कसरी हेर्ने खासै स्पष्ट छैन। ग्रीन बन्डमा ध्यान दिइएको छैन,’ उनले भने।