काठमाडौं। नेपाली कांग्रेसका सांसद अर्जुननरिसंह केसीले अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रममा दुई तिहाइ बहुमत झल्किन नसकेको बताएका छन्।
नीति तथा कार्यक्रममाथि बिहीबार प्रतिनिधि सभाको बैठकमा आफ्ना धारणा राख्दै कांग्रेस सांसद केसीले देशमा बढेको निराशा चिर्ने कार्यक्रम ल्याउन सरकार चुकेको बताए। प्याराडाइम सिफ्ट आवश्यक रहेका बेला सरकारले सामान्य अवस्थामा जस्तो कार्यक्रम ल्याएको उनको भनाइ छ।
‘नवीनता र रुपान्तरण देशको अहिलेको आवश्यकता हो। अहिले पहिलो र दोस्रो दलबाट निर्मित सरकारले दु:खका साथ मैले भन्नुपर्छ सामाजिक गतिशीलता जतातिर गइरहेको छ त्यो गतिशीलतालाई बुझ्न सकेन,’ उनले भने, ‘जनतामा निराशा र असन्तुष्टि छ। त्यसैले प्याराडाइम सिफ्ट एउटा नयाँ दृष्टिकोण र विचार राज्यले दिनुपर्ने थियो, मैले केही देखिन। सामान्य कुरा मात्र छन्।’
सांसद केसीले नीति तथा कार्यक्रममार्फत सरकारले भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धता जनाउन पनि नसकेको बताए।
‘ऋणको भारी र भ्रष्टाचारको महामारीले मुलुक सिकिस्त छ। नीतिगत भ्रष्टाचारले असन्तोष बढेको छ। तर, भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धता र इच्छाशक्ति मैले यसमा कम देखें,’ उनले भने, ‘दु:खका साथ भन्नुपर्छ दुई तिहाइ बहुमतको सरकारले १० महिनामा पुँजीगत खर्च एक तिहाइ पनि खर्च गर्न सकेन।’