फ्रेन्स क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपेली च्याम्पियन्स लिग (यूसीएल)को फाइनलमा पुगेको छ। गएराति सम्पन्न सेमिफाइनलको दोस्रो लेगको खेलमा इङ्ग्लिस क्लब आर्सनललाई २-१ गोलले हराएको पीएसजी समग्रमा ३-१ गोलको जित निकाल्दै फाइनल पुगेको हो। पहिलो लेगमा पीएसजीले १-० गोलको जित निकालेको थियो।
घरेलु मैदान पार्क डी प्रिन्सेसमा पेरिसका फाबियन रुइजले खेलको २७ औँ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको टोलीका लागि दोस्रो हाफमा अचरफ हकिमीले गोल थपे। ओस्माने डेम्बेलेको पासमा ७२ औँ मिनेटमा हकिमीले गोल गरेका थिए। अर्कोतर्फ आर्सनलका बुकायो साकाले ७६ औँ मिनेटमा गोल फर्काए पनि खेलमा फर्कन त्यो पर्याप्त हुन सकेन।
फाइनलमा पीएसजीले इटालियन क्लब इन्टर मिलानसँग भिड्ने छ। मिलानले सेमीफाइनलमा स्पेनिस क्लब बार्सिलोनालाई हराउँदै फाइनल प्रवेश गरेको थियो। फाइनल खेल मे ३१ मा हुनेछ।