BIZMANDU
www.bizmandu.com

एसियन थाई फुड्सले कपिलवस्तुमा सञ्चालनमा ल्यायो अर्को युनिट, भारत निर्यात सहज हुने

२०८२ बैशाख २४

एसियन थाई फुड्सले कपिलवस्तुमा सञ्चालनमा ल्यायो अर्को युनिट, भारत निर्यात सहज हुने
एसियन थाई फुड्सले कपिलवस्तुमा सञ्चालनमा ल्यायो अर्को युनिट, भारत निर्यात सहज हुने


विराटनगर। विराटनगरबाट रमपम, टुपिएम, प्रीति लगायतका ब्रान्डमा चाउचाउको उत्पादन गरिरहेको एसियन थाई फुड्सले कपिलवस्तुको तौलिहवामा दोस्रो युनिट सञ्चालनमा ल्याएको छ। पहिलो चरणमा चाउचाउ र दोस्रो चरणमा स्न्याक्सको पनि उत्पादन गर्ने लक्ष्यका साथ कम्पनीले अर्को युनिट सुरु गरेको हो।

Tata
GBIME
NLIC

उद्योगका निर्देशक महेश जाजूले कपिलवस्तु नगरपालिका-६ गोबरीमा रहेको उद्योगले बुधबारदेखि व्यावसायिक उत्पादन सुरु गरेको जानकारी दिए। उद्योगले दैनिक २० टन चाउचाउ उत्पादन गर्ने उनले बताए।

‘पूर्वको मोरङबाट पश्चिम ढुवानी गर्दा परिवहन खर्च महँगो परिरहेको थियो। अब पश्चिमको बजारलाई कपिलवस्तुको उद्योगले आपूर्ति गर्नेछ,’ जाजूले भने। भारतका उत्तर प्रदेश र उत्तराखण्डको मागलाई पनि कपिलवस्तुको उद्योगले पूरा गर्ने उनको भनाइ छ।

उनले भारतका दुवै राज्यमा यहाँबाट चाउचाउ निर्यात गर्दा ढुवानीखर्च विराटनगरभन्दा कम पर्ने बताए। गोबरीस्थित क्यापिटल फुड्स प्रालि नामको बन्द भएको चाउचाउ उद्योग एसियन थाई फुड्सले १० महिनाअघि एभरेस्ट बैंकको लिलामीबाट खरिद गरेको थियो।

उद्योगले २ बिघा ८ कट्ठा जमिन चर्चेको छ। एसियन थाई फुड्सले क्यापिटलको मेसिन लगायतका सम्पूर्ण सम्पत्ति लिलामबाट लिएको थियो। क्यापिटल फुड्स सन्दीप पसोधन र सचिन पसोधन दुई दाजुभाइले चलाउने गर्थे। तर उद्योग लामो समयदेखि बन्द हुँदा र बजारबाट भुक्तानी नआउँदा उद्योगले बैंकको ऋण तिर्न सकेको थिएन। यसपछि एसियन थाई फुड्सले २२ करोडमा जमिन, घर, मेसिन सहितका सम्पूर्ण सामान खरिद गरेको थियो।

एसियन थाई फुड्सले आफ्ना उत्पादन भारत, यूएई, ओमन, कतार, साउदी अरब, मलेसिया, अमेरिका, अस्ट्रेलिया, इटली लगायतका मुलुकमा निर्यात गरिरहेको छ।