काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमाथि नेपाल राष्ट्र बैंकलाई राजनीतिक सौदाबाजीको थलो बनाएको आरोप लगाएको छ।
रास्वपाकी सांसद डा. चन्दा कार्कीले बुधबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै गभर्नर नियुक्तिमा ढिलाइ गरेर सरकारले राष्ट्र बैंकलाई राजनीतिक सौदाबाजीको थलो बनाउनुका साथै देशको अर्थतन्त्रलाई नै दाउमा लगाएको आरोप लगाइन्।
‘राष्ट्र बैंक जस्तो संवेदनशील संस्थालाई राजनीतिक सौदाबाजीको थलो बनाइरहेका छौं। सत्तारुढ दलहरु गभर्नर कसको भागमा पर्छ भनेर रस्साकस्सीमा छन्। जसको परिणाम राष्ट्र बैंक दिशाविहीन भएको छ। गठबन्धनको भागबण्डाले मुलुकको अर्थतन्त्रलाई जोखिममा पारेको छ। मुलुकको अर्थतन्त्रलाई सरकारले दाउमा लगाएको छ,’ उनले भनिन्।
रास्वपा सांसद कार्कीले देशको अर्थतन्त्र संकटमा रहेको भन्दै गभर्नर तत्काल नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराइन्। उनले राजनीतिक भागबण्डाका आधारमा नभइ योग्यताका आधारमा सक्षम, दूरदर्शी र निडर व्यक्तिलाई गभर्नर बनाइनुपर्ने बताइन्।
‘गभर्नरको जिम्मेवारी मौद्रिक नीति बनाउने मात्र होइन। देशमा वित्तीय अनुशासन र वित्तीय स्थायित्व कायम गर्नु पनि हो। त्यसैले गभर्नर पद एक दिन पनि खाली राख्नु हुँदैन। अझ अहिले त अर्थतन्त्र सही बाटोमा छैन। त्यसैले गभर्नर तत्काल नियुक्त गरियोस्,’ कार्कीले भनिन्, ‘राजनीतिक भागबण्डा होइन योग्यताका आधारमा गर्भनर बनाइयोस्। राष्ट्र बैंकले सक्षम, दूरदर्शी र निडर नेतृत्व खोजिरहेको छ।’
उनले बैंक तथा वित्तीय संस्थामा खराब कर्जा बढिरहेको र देश एफएटीएफको ग्रे लिस्टमा परेको अवस्थामा राष्ट्र बैंकलाई नेतृत्वविहीन बनाइनु गम्भीर चिन्ताको विषय भएको बताइन्।