BIZMANDU
www.bizmandu.com

गभर्नरबारे शेरबहादुर देउवा- ओलीले कांग्रेसलाई दिन्छु भनिसक्नु भयो, ‘राष्ट्र बैंकभित्रै समस्या छ’

२०८२ बैशाख २३

गभर्नरबारे शेरबहादुर देउवा- ओलीले कांग्रेसलाई दिन्छु भनिसक्नु भयो, ‘राष्ट्र बैंकभित्रै समस्या छ’
गभर्नरबारे शेरबहादुर देउवा- ओलीले कांग्रेसलाई दिन्छु भनिसक्नु भयो, ‘राष्ट्र बैंकभित्रै समस्या छ’


काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन्।

Tata
GBIME
NLIC

गभर्नर नियुक्तिमा भइरहेको ढिलाइलाई लिएर कांग्रेसभित्रबाट प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ माग भइरहेका बेला देउवाले यव विषयमा गठबन्धनमा कुनै समस्या नरहेको बताएका हुन्।

उनले मंगलबार पार्टी कार्यालय सानेपामा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली गभर्नर कांग्रेसलाई दिन तयार रहेको तर गभर्नर नियुक्तिमा राष्ट्र बैंकमै समस्या रहेको बताए।

‘गभर्नरबारे कुनै समस्या छैन गठबन्धनमा। गभर्नरबारे राष्ट्र बैंकमै समस्या छ। ओलीजीले कांग्रेसलाई नै दिन्छु भनिसक्नुभएको छ,’ देउवाले भने।

उनले गभर्नर नियुक्तिमा राष्ट्र बैंकमा रहेको समस्या के हो भनेर खुलाएनन्। तर, कांग्रेसले अगाडि सार्ने भनिएका डा. गुणाकर भट्टले कार्यकारी निर्देशकबाट दिएको राजीनामा कार्यबाहक गभर्नर नीलम ढुंगाना तिम्सिनाले स्वीकृत नगरेको विषयलाई देउवाले समस्याका रुपमा औंल्याउन खोजेको रुपमा अर्थ्याइएको छ।

स्रोतहरुका अनुसार, देउवासँग प्रधानमन्त्री ओलीले आज (मंगलबार)सम्म भट्टको राजीनामा स्वीकृत गराउन पहल गर्ने बचन दिएका थिए। यद्यपी यतिबेलासम्म कामु गभर्नर तिम्सिनाले भट्टको राजीनामा स्वीकृत गरेकी छैनन्।

केही दिनअघि अर्थमन्त्री विष्णु पौडेलले समेत भट्टको राजीनामा स्वीकृत गर्न भनेका थिए। तर, तिम्सिनाले ‘आफ्नो हातबाट त्यो काम नहुने’ भनेर आफ्ना सचिवालयका कर्मचारीसँग बताएकी थिइन्। कांग्रेस निकट कर्मचारी युनियनले पनि राजीनामा स्वीकृत गर्न आग्रह गरेको थियो। त्यो आग्रहलाई उनले ठाडै अस्वीकार गरेकी थिइन्।

देउवाको वचन पाएपछि भट्टले वैशाख पहिलो साता नै राजीनामा दिएका थिए। गभर्नर बन्ने दौडमा रहेकी तिम्सिनाले भट्टको राजीनामा होल्डमा राखेको तीन साता भइसकेको छ। तर, भट्टको राजीनामा स्वीकृत नभएकै कारण उनलाई गभर्नर बनाउनबाट कुनै कानुनले पनि रोक्दैन।

आइतबार बिहान अर्थमन्त्री पौडेलले गभर्नर सिफारिस समितिको बैठक डाके पनि पछि स्थगित गरेका थिए। यद्यपी अघिल्लो दिन अर्थात शनिवार नै समितिका सदस्य डा. विश्व पौडेल र महाप्रसाद अधिकारीसँग उनले अनौपचारिक छलफल गरेका थिए।

‘औपचारिक/अनौपचारिक जे भने पनि मोटामोटी नामहरुमा कुराकानी भयो। योग्यता पुग्छ/पुग्दैन भनेर हेरियो,’ समितिका एक सदस्यले भने, ‘भट्टजीको नाममा माथि नै मोटामोटी सहमति भएको देखिन्छ। अर्थमन्त्रीले जुन दिन तीन जनाको सूचीसहित बोलाउनु हुन्छ त्यो दिन हामी हस्ताक्षर गरिदिन्छौं।’

उनका अनुसार, योग्यता र आचरणका हिसाबले भट्टमा समस्या नरहेकाले सिफारिस समितिलाई नाम अनुमोदन गर्न समस्या छैन। ‘ऐनमा लेखिएको योग्यताको दफा अनुसार उहाँको सबै थोक पुगेको छ। अयोग्यताको बुँदामा लेखिएको कुराहरु उहाँमा देखिएको छैन,’ ती सदस्यले भने।

स्रोतका अनुसार, गभर्नरका लागि भट्टबाहेक बमबहादुर मिश्रको नाम सिफारिस हुने छ। यस्तै ज्ञानेन्द्र ढुङ्गाना र चिन्तामणि शिवाकोटीमध्ये एकको नाम सिफारिस हुने सम्भावना रहेको स्रोतको दाबी छ।

राष्ट्र बैंकमा गभर्नर पद चैत २४ देखि खाली छ।