काठमाडौं। आइपीओ निष्कासनपछि कम्पनीको ‘भ्यालुएसन’ बढाउन सेयर होल्ड गरेर मूल्य बढाउने प्रवृत्ति दोस्रो बजारमा देखिएको छ।
दोस्रो बजारमा केही कम्पनीको कारोबार सुरु भएयता सेयर मूल्यमा लगातार पोजेटिभ सर्किट लागिरहेको छ। दोस्रो बजारमा कम्पनीको आइपीओभन्दा धेरै संख्यामा सेयरको माग छ। उच्च मागका कारण कम्पनीको मूल्य समेत निरन्तर उकालो लागिरहेको छ।
आइपीओ निष्कासनपछि केही कम्पनी सम्बद्ध खेलाडीहरुले नै भ्यालुएसन बढाउन सेयर होल्ड गरेका कारण बजारमा थोरै सेयर संख्या भएका कम्पनीको मूल्य अस्वाभाविक उचालिएको जानकारहरु बताउँछन्।
‘कम्पनीको भ्यालुएसन बढाउन प्रमोटरले नै सेयर खरिद बिक्री गर्न प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेलेका कारण मूल्य लगातार उकालो लाग्नुको एउटा कारण हो,’ एक ब्रोकरले भने, ‘कम्पनीले निष्कासन गरेको सबै आइपीओ तत्कालै दोस्रो बजारमा कारोबारमा आउँदैन। कारोबारमा आउने सेयर नै केही खेलाडीले होल्ड गरेपछि सेयर भोलुम कम भएका लोक्याप कम्पनी चलाउन थप सहज भयो।’
आइपीओ निष्कासनपछि माघ २४ गते नेप्सेमा सूचीकृत भएको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा भोलिपल्टैदेखि पोजेटिभ सर्किट लाग्न थाल्यो।
नेप्सेले दिएको अधिकतम् ओपनिङ रेन्ज ३०१ रुपैयाँमै कारोबार सुरु भएको गार्डियनको मूल्य लगातार १९ दिनसम्म पोजेटिभ सर्किट लागेर फागुन १६ गते १ हजार ८३९ रुपैयाँसम्म पुग्यो।
त्यसपछि कम्पनीले हकप्रद सेयर निष्कासनको फण्डा ल्याएर प्रति कित्ता २ हजार ७७८ रुपैयाँसम्म पुर्यायो। सेयर बजारमा गार्डियन ‘लोक्याप’ कम्पनी हो। यसको कारोबारमा आउने साधारण सेयर संख्या २२ लाख ५० हजार कित्ता मात्रै हो।
कम्पनीको सेयर केही लगानीकर्ताले होल्ड गरेकाले दोस्रो बजारमा आइपीओ निष्कासनभन्दा बढी माग हुँदा समेत खरिद गर्नेहरुले पाएनन्। दोस्रो बजारमा मूल्य अस्वाभाविकरुपमा वृद्धि भएकै कारण ७५ करोड चुक्ता पुँजी भएको कम्पनीको अहिले १७ अर्ब ८२ करोड रुपैयाँसम्म बजार पुँजीकरण छ।
गार्डियन मात्रै होइन, आइपीओ निष्कासनपछि अरु लोक्याप कम्पनीको मूल्य निरन्तर उकालो लागिरहेको छ।
‘गार्डियन माइक्रोको सेयर होल्ड भएर मूल्य अस्वाभाविक वृद्धि भएपछि अन्य कम्पनीका आइपीओ होल्डरलाई मूल्य बढ्छ भन्ने पर्यो। त्यसले बजारमा झनै माग बढायो,’ एक मर्चेन्ट बैंकरले भने, ‘म्युचुअल फण्डहरुले ट्रेड गर्न पाउने भए ८००/९०० तिरै फालेर मूल्य सम्हालिन सक्थ्यो। तर, दोस्रो बजारमा कारोबार खुलेदेखि नै अरु कम्पनीको समेत निरन्तर वृद्धि गर्न गार्डियनले बल पुर्यायो।’
कम्पनीले निष्कासन गरेको सबै आइपीओ कारोबारमा आउँदैन। संस्थागत लगानीकर्ता र कर्मचारीलाई छुट्याइएको सेयरमा लकइन लाग्छ। उनीहरुले तत्कालै बजारमा कारोबार गर्न पाउँदैनन्।
म्युचुअल फण्डलाई बाँडफाँट गरिएको ५ प्रतिशत सेयरको लकइन ६ महिनासम्म कायम रहन्छ। धितोपत्र दर्ता तथा निष्कासन नियमावलीले सार्वजनिक निष्कासनको ५ प्रतिशत आरक्षण म्युचुअल फण्डका लागि छुट्याएको छ। बजारमा संस्थागत लगानीकर्ताको रुपमा रहेका म्युचुअल फण्डले ६ महिनासम्म सेयर बेच्न पाउँदैनन्।
नेप्सेमा चैत २१ गते सूचीकृत भएको नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमा लागातार १९ दिन पोजेटिभ सर्किट लागेर सोमबार प्रति कित्ता १ हजार ६ सय ७८ रुपैयाँ पुगेको छ।
दोस्रो बजारमा ३०२ रुपैयाँमा खुलेको कम्पनीको सेयर पाँच गुणाभन्दा बढीले वृद्धि भएको छ। चुक्ता पुँजी ७५ करोड रुपैयाँ भएको नेपाल माइक्रोको बजार पुँजीकरण ११ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।
चैत २७ गते नेप्सेमा सूचीकृत भएको क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा सोमबार १६ औं सर्किट लागेर प्रति कित्ता भाउ १ हजार २ सय ६१ रुपैयाँ पुगेको छ। ३०२ रुपैयाँमा कारोबार खुलेको इन्स्योरेन्सको सेयर मूल्य ४ गुणाभन्दा बढीले वृद्धि भएको छ।
कम्पनीको बजार पुँजीकरण ९ अर्ब ४६ करोड रुपैयाँ पुगिसकेको छ। थोरै कित्ता सेयर भएका माइक्रो इन्स्योरेन्स मात्रै होइन अरु कम्पनीको समेत आइपीओ निष्कासन पछिको कारोबारमा मूल्य बढ्ने गर्छन्। तर, केही समयपछि आफैं सम्हालिएर ‘फण्डामेन्टल सूचक’ अनुसार मूल्य कायम हुने गरेकामा यो पटक एकोहोरो देखिएको छ।
ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ दोस्रो बजारमा आएको दुई दिन लगातार पोजेटिभ सर्किट लागेर ३२६ रुपैयाँ सेयर मूल्य पुगेको छ।
पहिलो कारोबारमै आइपीओको तीन गुणासम्म कम्पनीको मूल्य बढ्ने भएका कारणले समेत दोस्रो बजारमा मूल्य बढाउनमा काम गरेको जानकारहरु बताउछँछन्।
आइपीओपछिको पहिलो कारोबारका लागि नेप्सेले नेटवर्थको तीन गुणासम्म ओपनिङ रेन्ज दिंदै आएको छ। ‘ओपनिङ रेन्ज आइपीओको तीन गुणासम्म पाउने भएपछि मूल्य जसरी पनि बढ्छ भन्ने हुँदा बजारमा माग धेरै भयो। त्यसले समेत मूल्य बढाउन काम गरेको छ,’ ती मर्चेन्ट बैंकरले भने।