BIZMANDU
www.bizmandu.com

सहरभरका आवासीय घर छन् एकै डिजाइनका, एकनाशे शैलीले गुम्दै ‘आर्किटेक्चरल क्रिएटिभिटी’

२०८२ बैशाख २३

सहरभरका आवासीय घर छन् एकै डिजाइनका, एकनाशे शैलीले गुम्दै ‘आर्किटेक्चरल क्रिएटिभिटी’
सहरभरका आवासीय घर छन् एकै डिजाइनका, एकनाशे शैलीले गुम्दै ‘आर्किटेक्चरल क्रिएटिभिटी’


काठमाडौं । ललितपुरका एक युवा सिभिल इन्जिनियर चारवटा घर निर्माण गर्दैछन्। उनको चाहना छ चारैजनालाई फरकफरक डिजाइनका घर बनाइदिने। एउटै डिजाइनका घर निर्माण गर्न उनलाई पटक्कै रुची छैन। त्यसमा उनी मजा मानिरहेका छैनन्। उनले चारजनालाई फरक शैलीका डिजाइन दिन चाहिरहेका छन्, प्रयास गरिरहेका छन्। तर, त्यसो हुन सकेको छैन। 

Tata
GBIME
NLIC

हाल काठमाडौंसहित अन्य जिल्लामा हेर्‍यौं भने टोलैपिच्छै एकै शैलीका घर बनिरहेका छन्। घर निर्माणमा ‘क्रियटिभिटी’ झल्किएको पाइँदैन। जग्गाधनीको जग्गामा १ करोड १० देखि १ करोड २० लाख रुपैयाँसम्मका घर बनाइरहेका ती इन्जिनियर नयाँ शैलीका घर निर्माण गर्न खोजे पनि सकिरहेका छैनन्। अर्को तर्फ नयाँपन दिन नसक्ने ‘ट्याग’ लागेर ग्राहक चिढिएर अर्कै इन्जिनियरलाई समात्ने हो कि भन्ने चिन्ता पनि उनमा छ।  

उनी जस्तै दोसाँधमा अरु इन्जिनियर पनि छन्। बजारमा भित्रिएका नौलो निर्माण सामग्रीको प्रयोग गरेर घर निर्माणमा नयाँपन झल्काउने तर्फ अधिकांश इन्जिनियर तथा आर्किटेक्टले धनीलाई ‘कन्भिन्स’ गर्न सकिरहेका छैनन्। कतिपयले चाहेर पनि त्यो सपना चुम्न सकेका छैनन्।

काठमाडौंसहित विभिन्न सहरहरुमा बनेका आवासीय घर अधिकांश कंक्रिट फ्रेम, बक्स स्ट्रक्चर र एक्स्टेरियरमा टायल प्रयोग गरेर निर्माण गरिएको छ। स्टील स्ट्रक्चर पनि पछिल्लो समय निकै प्रयोग हुने गरेको छ। तर, बनिरहेका अधिकांश घरको डिजाइन फरक छैन।  

वरिष्ठ आर्किटेक्ट किशोर थापा नेपाली सहरहरुमा निर्माण भइरहेका घरमा फरकपना देखिन सुरुमा स्वयम् निर्माण प्रणाली बन्द गर्नुपर्ने बताउँछन्। आफ्नो तरिकाले घर निर्माण गर्दा कुनै एउटा घर राम्रो देखिए पनि सारा टोल वा सहरमा त्यसको महत्त्व नहुने थापा अर्थ्याउँछन्। थोरै जग्गामा धेरै घर बनाउने अहिलेको परिपाटी अन्त्य नभएसम्म नेपालमा राम्रा र नयाँ डिजाइनका घर नबन्ने उनको तर्क छ। जबसम्म दक्ष आर्किटेक्ट वा प्राविधिकको साथ लिएर घर निर्माण हुँदैनन् तबसम्म एकैनाशका घर मात्रै बन्ने उनले बताए। 

आर्किटेक्टको सहयोग लिएर घरको डिजाइन गर्ने हो भने त्यति महँगो नपर्ने उनको मत छ।

‘४ तलाको ४ हजार वर्गफीटको घर बनाउनुपर्‍यो भने प्रति वर्गफीट ४ हजार रुपैयाँ पर्ला। १ करोड ६० लाख रुपैयाँमा आर्किटेक्टले धेरैमा धेरै ३ प्रतिशत शुल्क लिन्छ। त्यो भनेको ४ लाख ८० हजार रुपैयाँ हुन्छ। घर बनाउँदा करोडौं खर्चिंदा करिब ५ लाख रुपैयाँ भनेको धेरै रकम होइन। दक्ष आर्किटेक्टबाट सेवा लिँदा त्यस्ता प्रोपर्टीको भ्यालु एडिसन हुन्छ,’ थापाले भने।

नयाँ पुस्ताका सिभिल इन्जिनियर अजर थपलिया एउटै शैलीको घर निर्माण हुनुको पछाडि निर्माणकर्ताले खर्चिने बजेटको सिलिङ मुख्य कारक रहेको बताउँछन्। घर निर्माण ज्यादै खर्चिलो हुनुका साथै जीवनभरको वचतदेखि ऋण प्रयोग हुने गर्छ। जसका कारण अधिकांश घर निर्माणकर्ताहरुले कमभन्दा कम पैसामा घर निर्माण गर्न खोज्नुले डिजाइनमा नयाँपन नझल्किने उनले बताए। 

‘घर निर्माणको शैलीलाई क्रिएटिभ बनाउन सिभिलसँगै आर्किटेक्टका लागि अतिरिक्त खर्चिनुपर्छ। स्थानीय ठेकेदार वा कम दक्ष प्राविधिक प्रयोग गरेर घर निर्माण गर्ने संख्या नेपालमा धेरै भएकाले पनि क्रिएटिभिटी धेरै आउँदैन। उनीहरुले बनिसकेकै घरको डिजाइज हुबहु कपीपेस्ट गर्ने भएकाले नयाँपन नदेखिएको हो। आर्किटेक्ट प्रयोग गर्ने हो भने उसैको निर्देशअनुसारका सामग्रीसहितका कम्पोनेन्ट्स प्रयोग गर्नुपर्छ। यसले नयाँ डिजाइन हात पार्न सहयोग मिल्छ,’ थपलियाले भने।

पछिल्लो समय त आवासीय घरभन्दा पनि भाडामा लगाउने प्रचलन बढ्दो छ। धेरैभन्दा धेरै कोठा बनाउने, सटर निकाल्ने परिपाटीका कारण घरको लुक्सभन्दा अन्तै ध्यान धनीको हुन्छ। जसका कारण घरको डिजाइन राम्रो हुँदैन।

अर्कोतर्फ, क्रिएटिभ तथा दक्ष आर्किटेक्टहरु ठूला व्यापारिक तथा संस्थागत संरचना निर्माणमा बढी केन्द्रित हुने भएकाले पनि व्यक्तिगत आवासीय घरमा उनीहरुको लगाव कम देखिन्छ।

यस्तै, नेपालमा बनाइएका कमजोर ‘बिल्डिङ कोड’ का कारण पनि घर निर्माणमा नवीनतम् शैली भित्रिन नसकेको प्राविधिकहरुको भनाइ छ। कमजोर सहरी योजनाले पनि नयाँ शैलीका घर निर्माणमा अवरोध सृजना गरिरहेको छ। सरकारले निर्माण गरेको बिल्डिङ कोडले भवनलाई बलियो तथा सुरक्षित बनाउने तर्फ मात्रै ध्यान दिएको तर, आर्किटेक्चरल इनोभेसनलाई प्रोत्साहित गर्ने किसिमको नभएकाले पनि घर निर्माणमा नयाँ/नयाँ लुक्स् नदेखिएको हो।

आधुनिक तथा सुरक्षित हुने नाममा घरको एक्स्टेरियरमा कंक्रिट, टायल, सिसालगायतका सामग्री प्रयोगमा नेपाली उपभोक्ताको मनोवैज्ञानिक लगावका कारण पनि नयाँ शैलीका घर निर्माण हुन नसकेको इन्जिनियरहरुको भनाइ छ।    

त्यस्तै, वरिष्ठ स्ट्रक्चरल इन्जिनियर सन्तोष श्रेष्ठ सहरमा नयाँ डिजाइनमा घरहरु बने पनि मौलिकता जोगाउने किसिमका डिजाइन कार्यान्वयनमा स्थानीय तहहरुले भूमिका खेल्नुपर्ने बताए। स्थानीय तहहरुले घर निर्माणसम्बन्धी डिजाइनमा कडाई गरे रचनात्मकता बढ्ने र फरकफरक शैलीका घर निर्माणमा टेवा पुग्ने बताउँछन्।

‘सरकारले ग्रीन बिल्डिङ भनेर नयाँ कोड निर्माण गरिरहेको छ। यसले स्थानीय मौसम र आवश्यकताअनुसार कसरी घरको डिजाइन गर्ने भन्ने उल्लेख गर्छ। यसले घर निर्माणमा नवीन शैली ल्याउन सहयोग पुर्‍याउँछ,’ श्रेष्ठले भने।